सातदोबाटो(ललितपुर), १९ पौष । राखेप च्याम्पियनसिप १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ टिमले विजय हासिल गरेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा विजयी दुवै टीमले सुपर लिगमा स्थान पक्का गरेका छन् ।
सपना लामाको ५ तथा शर्मिला थापामगरको ४ गोलप्रेरित नेपाल आर्मीले मध्यपश्चिमाञ्चल क्षेत्रमाथि १२–० को एकतर्फी जित हासिल ग¥यो ।
दिनको पहिलो खेलमा सेनाका लागि दीपा राईले दुई तथा कप्तान कृष्णा खत्रीले एक गोल थपेका थिए ।
बुधबारकै अर्को खेलमा एपिएफले पश्चिमाञ्चल क्षेत्रलाई १४–० ले पराजित गरेको थियो । एपिएफमा सावित्रा भण्डारी एक्लैले आठ गोल गरेकी थिइन् । अघिल्लो खेलमा मध्य पश्चिमाञ्चलमाथि रबाफ जमाउँदा एक्लैले १२ गोल गरेकी सावित्राले बुधबार छैटौं मिनेटमा खाता खोलेकी थिइन् ।
२७ औं मिनेटमा दोस्रो गोल गरेकी उनले ३३औं मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरिन् । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत चौथो गोल गरेकी उनले ५० र ५४औं मिनेटमा लगातार गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । उनले ६६ र ८९औं मिनेटमा थप दुई गोल गरेकी थिइन् । बुधबारका गोलपछि उनी प्रतियोगितामा कुल २० गोलसहित उच्च गोलकर्ताको दौडमा सबभन्दा अगाडि छिन् ।
एपिएफका लागि रेखा पौडेल र अनिता केसीले दुई–दुई तथा रेनुका नगरकोटी र अनिता बस्नेतले एक–एक गोल थपे ।
बुधबारका जितपछि आर्मी र एपिएफ दुवै समूहका एक खेल बाँकी रहँदै समान ६ अंकका साथ सुपर लिगमा प्रवेश गरेका हुन् । शुक्रबार आर्मी र एपिएफबीच हुने खेलले समूहको विजेता टुंगो लगाउनेछ ।