Prakash Adhikari January 4, 2018

काठमाडौँ, २० पौष । सातै वटा प्रदेशमा अस्थायी राजधानी तोकिने तरखर भएपछि प्रदेश राजधानीकालागि चर्चित अन्य शहरहरुमा आन्दोलन शुरु भएको छ । प्रदेश नं ४ बाहेक अन्य ६ वटा प्रदेशलाई प्रादेशिक राजधानीको आन्दोलनले गाँजेको छ । आन्दोलन प्रदेश नं १ को धनकुटादेखि प्रदेश ७ को दिपायलसम्ममा एकसाथ सुरु भएको छ ।

सरकारले प्रदेश १ को मोरङको विराटनगर, प्रदेश २ को धनुषाको जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को कास्कीको पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कैलालीको धनगढीलाई अस्थायी राजधानी प्रस्ताव गरेको छ ।

विराटनगरलाई सरकारले अस्थायी राजधानी प्रस्ताव गर्ने कुरा सार्वजनिक भएपछि धनकुटाबासी आन्दोलित भएका छन् । प्रदेश १ को अस्थायी र स्थायी राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै त्यहाँका स्थानिय बासिन्दाले आमहड्ताल सुरु गरेका छन् । धनकुटाबासीले प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा समेत पटक पटक दबाबमूलक धर्ना दिइरहेका छन् ।

प्रदेश १ को प्रादेशिक राजधानीका लागि मोरङको विराटनगर,सुनसरीको इटहरी र धरानमा राजधानीको लविङ भइरहेको छ ।

प्रदेश नं २ को राजधानी जनकपुरमा लगभग तय भए पनि वीरगञ्जवासी भने नेपालको वाणिज्य र औद्योगिक नगरी विरगञ्जलाई राजधानी बनाउने माग गर्न थालेका छन् ।

प्रदेश नम्बर ३ को राजधानी भक्तपुरको ठिमीलाई बनाउने सरकारको तयारी भएपनि बनेपाको माग लिएर काभ्रेबासी तातेका छन भने मकवानपुरवासीले क्षेत्रीय प्रशासनको सदरमुकाम रहेको हेटौँडा छोड्न नहुने माग गरेका छन् । यता ललितपुुरका जनप्रतिनिधिहरुले पनि प्रादेशिक राजधानीको माग छोडेका छैनन् ।

प्रदेश नं ४ को राजधानी भने निर्विवाद रहेको छ । पूर्वाधारको कारण तत्काल पोखराको विकल्प त्यहा देखिएको छैन ।

सरकारले प्रदेश नं ५ को राजधानी दाड.लाई तोक्ने तयारी गरेपछि राजधानी बुटबल बनाउने नारा उचालेर प्रतिनिधि सभा र प्रदेश सभाका चुनाव जितेका रुपन्देहीका जनप्रतिधिहरु जनता अगाडि लाएर विरोधमा उत्रिएका छन् । बाँकेका जनप्रतिनिधिहरुले नेपालगञ्जको माग छाडेका छैनन् ।

प्रदेश नं ६ को राजधानी कर्र्णालीले पाउनु पर्ने माग पनि उठ्न थालेको छ । सरकारले सुर्खेतको सदरमुकाम बीरेन्द्रनगरलाई नै अस्थायी प्रदेश राजधानी तोक्ने तयारी गरेको छ ।

७ नं प्रदेशको राजधानी पहाड र तराई कहाँ राजधानी बनाउने भनन्निे विषयमा विवाद चुलिएको छ । डोटीबासीले राजधानीको लागि दिपायल उपयुक्त रहेको भन्दै अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । दिपायल साविकको सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम हो ।

मत्थर पार्न विज्ञप्ति

प्रादेशिक राजधानी तोकिएको बिषयलाई लिएर पूर्वदेखि सुदूर पश्चिमसम्म आन्दोलन शुरु भएपछि त्यसलाई मत्थर पार्न सरकारले प्रदेशको राजधानी हालसम्म नतोकिएको जनाउदै विज्ञप्ति नै निकालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Share Now

Leave a comment.