महेन्द्रनगर (कञ्चनपुर), ४ आषाढ । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगिताको उद्घाटन दिवसमा भएका दुई खेलमा प्रदेश २ र सुदूर पश्चिमको टीम विजयी भएका छन् ।
महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश १९ ओभर दुई बलमा मात्र ५८ रनमा अलआउट भयो । उसले ब्याटिङबाट ३७ रन बनाएको थियो भने २१ रन अतिरिक्त पाएको थियो ।
उसका लागि रवीना चौधरीले १३ रन बनाउनु बाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णाली प्रदेशलाई कम स्कोरमा रोक्न प्रदेश २ की सन्तोषीकुमारी चौधरीले चार तथा सरस्वती चौधरीले तीन विकेट लिइन ।
जवाफमा प्रदेश २ ले ६ ओभर एक बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि शान्ती चौधरीले अविजित १८ तथा निरकुमारीले १५ रनको योगदान गरिन ।
सुदूरपश्चिमद्धारा गण्डकी पराजित
यसअघि भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ५८ रन जोडेको थियो ।
गण्डकीका लागि शिला रेग्मीले नटआउट १९ रन र सुशिला गुरुङले १७ रन बनाइन् । बाँकी ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गण्डकीलाई कम रनमा रोक्न सुदूरपश्चिमकी कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २–२ विकेट लिए ।
गण्डकीले दिएको ५९ रनको झिनो लक्ष्य दिएको सुदूपश्चिमले ७ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो ।
सुदूरपश्चिमको जितमा कविता कुँवरले अलराउण्ड प्रदर्शन गरिन् । उनले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिनुका साथै नटआउट २१ रन बनाइन् । कविता कुँवरले २१ बल खेल्दै ४ चौकाको मद्दतमा २१ रन बनान् भने अर्की ओपनर कविता जाशीले १२ रन बनाइन् भने रेवती धामी १२ रनमा नटआउट रहिन् ।
गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहिबार पनि २ खेल खेलिनेछन्। पहिलो खेलमा एपीएफ र सुदुरपश्चिम प्रदेश तथा दोश्रो खेलमा कर्णाली प्रदेश र प्रदेश ३ ले प्रतिस्पर्धा गर्नेछन्।
असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरी कुल ८ टोलीको सहभागिता रहेको छ। ८ टिमलाई २ समूहमा बिभाजन गरिएको छ।
समूह ‘ए’ मा विभागीय टिम सशस्त्र प्रहरी बल ( एपीएफ ) , सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन्। समूह ‘बी’ मा प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन्।
समूह चरणमा सबै टिमले एकअर्का बिरुद्ध १ , १ खेल खेलेपछि समूहको उत्कृष्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले रु १५ । १५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृष्ट खेलाडीले २ हजार ५ सय रुपैया पाउनेछ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने प्रतियोगितालाई महाकाली स्पोर्ट्स सोसाईटीले व्यवस्थापन गरिरहेको छ।