महेन्द्रनगर(कञ्चनपुर), ६ आषाढ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा कंचनपुरको महेन्द्रनगरमा भैरहेको प्रधानमन्त्री कप महिला टि २० प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रदेश नम्बर ५ ले गण्डकी र प्रदेश १ ले प्रदेश २ लाई पराजित गरेका छन्।
कभर्ड हल मैदानमा सम्पन्न पहिलो खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले नै पराजित गरेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकी प्रदेशले दिएको ७९ रनको लक्ष्य प्रदेश ५ ले १२.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रदेश ५ को जितमा बलिंग तर्फ कृतिका मरासिनीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच चुनिएकी उनले ४ ओभरमा १८ रन मात्र खर्चिन्। यस्तै नेरी थापाले अत्यन्त किफायती बलिंग गर्दै १ विकेट लिने क्रममा ४ ओभरमा ३ मेडन ओभर गर्दै १ रन मात्र खर्चिन्। यस्तै ब्याटिंगमा पनि नेरीले अविजित २८ रन बनाईन् भने गीता गोसाईले २० तथा सरस्वति घर्ति मगरले १० रन बनाईन्।
दोश्रो खेल
दोश्रो खेलमा प्रदेश २ ले पहिले ब्याटिंग गर्दै दिएको ७२ रनको लक्ष्य प्रदेश १ ले १४.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
प्रदेश १ लाई जिताउन कप्तान रुबिना छेत्रीले ४ विकेट लिनुको साथै अविजित २६ रन समेत बनाइन्।
प्रतियोगिता अन्तर्गत शनिवार २ खेल हुँदैछन्। पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश तथा दोश्रो खेलमा प्रदेश ३ र प्रदेश २ प्रतिस्पर्धा गर्दैछन
।
असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरि कुल ८ टोलीको सहभागिता रहेको छ।
८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा विभागीय टिम शशस्त्र प्रहरी बल (एपीएफ) , सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन्।
समूह ‘बि’ मा प्रदेश १ , प्रदेश २ , प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन्।
समूह चरणमा सबै टिमले एकअर्का बिरुद्ध १ । १ खेल खेलेपछि समूहको उत्कृष्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले ३० हजार तथा उत्कृस्ट बलर र ब्याट्सउमनले १५ । १५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउनेछ। प्रतियोगितालाई महाकाली स्पोर्ट्स सोसाईटीले व्यवस्थापन गरिरहेको छ।