गोदावरी(ललितपुर),७ आषाढ । नेपाल धितोपत्र बोर्ड र आर्थिक पत्रकार समाजको संयुक्त आयोजनामा राजधानीका आर्थिक पत्रकारहरुको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको गोदवरीमा सम्पन्न सो प्रशिक्षणमा राजधानीमा कार्यरत छापा र विद्युतीय सञ्चार माध्यममा कार्यरत ४० जना सक्रिय आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र वरिष्ठ पत्रकार राजेन्द्र दाहालले आर्थिक पत्रकारिता र पूँजी बजारका विविध पक्षबारे पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले नेपालको अर्थतन्त्रको संक्षिप्त जानकारी तथा धितोपत्र बजार र अर्थतन्त्रबीचको सम्बन्धमा प्रकाश पार्नु भएको थियो । उहाँले उत्पादनमूलक क्षेत्र मानिएको वास्तविक क्षेत्रले देशको अर्थतन्त्रलाई कसरी प्रभाव पार्दछ र पूँजी बजारमा वास्तविक क्षेत्रको उपस्थितिले कस्तो प्रभाव पार्दछ भन्ने विषयमा विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गर्नुभएका थियो ।
कार्यक्रममा बोर्डकै कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले बजार विकास तथा सुधारका पहलहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा बोर्डले बजार सहभागिता अभिबृद्धि, लगानीकर्ताको हित संरक्षण, लगानीकर्ता शिक्षा, बजारको आधुनिकीकरण , नयाँ औजारहरुको विकास, बोर्डको संस्थागत विकास र चुनौती जस्ता विषयमा प्रकाश पार्नुभएको थियो ।
अर्का प्रशिक्षक वरिष्ठ पत्रकार राजेन्द्र दाहाललेआर्थिक पत्रकारहरुले तथ्य आधारित समाचार निष्पक्ष र तटस्थ भएर प्रस्तुत गरेर पाठक र स्रोताहरुलाई स्पष्ट हुन मद्त गर्नुपर्ने बताउनुभयो । उहाँले समाचार लेख्दा,सम्पादन गर्दा र प्रकाशन तथा प्रशारण गर्दा आफ्ना लक्षित पाठकहरुको हितलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ बोर्डका कार्यकारी निर्देशक निरज गिरीसहित कार्यपत्र प्रस्तोता र स्रोत व्यक्तिहरुले दिनुभएको थियो ।
नेपाल धितोपत्र बोर्डले पूँजी बजारसम्बन्धी समाचार सही रुपमा आम नागरिकहरुबीच पुर्याउन सकियोस भनेर प्रदेशस्तरमा आर्थिक पत्रकारहरुको लागि प्रशिक्षण दिंदै आएको छ । यसै क्रममा प्रदेश नं १ को विराटनगर, प्रदेश २ को जनकपुर, कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण कार्यक्रम सुसम्पन्न भैसकेका छन् ।
धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको सञ्चालन बोर्डका निर्देशक निरञ्जय घिमिरेले सञ्चालन गर्नुभएको थियो ।