क्वालालम्पुर(मलेशिया),१८ आषाढ । मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी अन्डर १९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपालले चीनलाई शानदार ढंगले १० विकेटले पराजित गरेको छ ।
किनरारा ओभलमा सम्पन्न खेलमा टस जितेर नेपालले बलिंग गरे पछि निर्धारित ५० ओभरको खेलमा चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो।
चीनले दिएको ५४ रनको लक्ष्य नेपालले मात्र ५ ओभरमा पूरा गर्यो।
नेपाललाई जिताउन ओपनिंग ब्याटिंग गरेका पवन सर्राफले २१ बलमा ६ चौका र ३ छक्का प्रहार अविजित ४६ रन जोडे । उनले यस क्रममा उनले अन्तिम ओभरमा लगातार बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै रित गौतमले १० बलमा १ चौका सहित अविजित १० रन बनाए ।
टस हारेर ब्याटिड. गरेको चीनले ५३ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई ५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
चिनका ओपनर गुहाओ गाओ र लियांग चेनले समान १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पहिलो विकेट छैठौं ओभरमा १८ रनको योगफलमा गुमाएको चिनले त्यसपछि लगातार विकेट गुमाएको थियो।
चीनलाई रोक्न नेपालका बलर सागर ढकालले सर्वाधिक ६ विकेट लिए। त्यस्तै तिलकराज भण्डारीले ३, कमल सिंह ऐरीले १ विकेट लिए । ६ विकेट लिएका सागर ढकाला खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।
प्रतियोगितामा यस अघि आफ्नो पहिलो खेलमा चीन सिंगापुरसग ८ विकेटले पराजित हुन पुगेको थियो। त्यस क्रममा चीनले पहिले ब्याटिंग गर्दै २८ रनमा सबै विकेट गुमाएको थियो।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपालसहित चीन, सिंगापुर, मलेसिया, हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। नेपाल रहेको समुह ‘ए’ चीन र सिंगापुर रहेका छन्। यस्तै समूह ‘बि’ मा आयोजक मलेसिया सहित हंगकंग, भुटान र थाइल्याण्ड रहेका छन्। दुवै समूहबाट उत्कृष्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।
प्रतियोगिताको विजेता टिमले अगस्ट सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने यु १९ एसिया कप खेल्न छनौट हुनेछ।
जीतसंगै नेपाल प्रतियोगिताको सेमीफाइनल पनि प्रवेश गरेको छ। चीनले पहिलो खेलमा सिंगापुरसंग हार बेहोरेको हुँदा जित विहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
१/१ जित हात पारेका सिंगापुर र नेपाल समुह ‘ए’ बाट सेमीफाइनल प्रवेश गरेका हुन्। नेपाल र सिंगापुरबीच जुलाई ५ तारिकमा हुने खेलले समुह ‘ए’ को विजेता तय गर्नेछ।