लण्डन(संयुक्त अधिराज्य),२५ आषाढ । विश्वकप उपाधिको दावेदार भारतलाई १८ रनले हराउँदै न्युजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
मंगलबार सुरु भएको खेलको ४६ ओभर एक बलमा न्युजिल्याण्डले ५ विकेटको क्षतिमा २ सय ११ रन बनाएपछि अविरल परेको वर्षाका कारण खेल स्थगित गरी बिहिबार बाँकी खेल सञ्चालन गरिएको थियो । बुधबार सम्पन्न भएको सेमिफाइनलमा न्युजिल्याण्डले २३ बलमा २८ रन बनाउँदा तीन विकेट गुमायो ।
न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियनसनले ६७ रन बनाए ।
बलिङतर्फ भुवनेश्वर कुमारले ३ विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक एक विकेट लिए ।
२ सय ४० रनको लक्ष्य पछ्याएको भारत निर्धारित ५० ओभरको खेलमा ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो ।
भारतका टप अर्डरका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा ५ रनमा भारतले ३ विकेट गुमाइसकेको थियो । दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषव पन्त र हार्दिक पन्ड्याले ३२–३२ रन जोडे ।
९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले १ सय १६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २ सय ८ रनमा सातौं विकेट गुमायो । धोनीले ५० रनको अर्धशतकीय योगदान दिए ।
बलिङतर्फ म्याट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।


















