Prakash Adhikari July 11, 2019

लण्डन(संयुक्त अधिराज्य),२६ आषाढ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठूलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ।

बर्मिड.घम क्रिकेट मैदानमा बिहिबार भएको खेलमा अष्टेलियालाई सानदार ढंगले पराजित गर्दै आयोजक इंग्ल्याण्डले फाइनलको यात्रा तय गरेको हो ।

यस अघिनै भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश गरिसकेको छ।

इंग्ल्याण्ड र न्युजिल्याण्डबीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार हुनेछ ।

बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दिएको २ सय २४ रनको लक्ष्य इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा २ विकेट गुमाएर ३२.१ ओभरमै पूरा गर्यो।

इंग्ल्याण्डलाई सहज जित दिलाउन ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले १ सय २४ रनको ओपनिंग साझेदारी गरे। १८ औं ओभरमा स्टार्कले एलबिडब्लु आउट गर्नु अघि बेयरस्टोले ३४ रन बनाए। आक्रामक ब्याटिंग गरेका रोय २० औं ओभरमा कमिन्सबाट बाहिरिए । उनले ६५ बलमा ५ छक्का र ९ चौका मदतले ८५ रन बनाएका थिए।

त्यसपछि कप्तान ओएन मोर्गन र जोए रुटले इंग्ल्याण्डको ब्याटिड.सम्हाले। दुवैले तेश्रो विकेटको लागि ७९ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई फाइनलको यात्रामा पुर्याए। रुटले अविजित ४९ रन बनाए भने मोर्गनले अविजित ४५ रन ।

अस्ट्रेलियाको लागि मिचेल स्टार्क र प्याट कमिन्स ले १।१ विकेट लिए।

अस्ट्रेलियाको बलिड. र ब्याटिड. दुवै कमजोर

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन जोडेको थियो ।

अष्ट्रेलियाको टप अर्डर खराब रह्यो । १४ रन बनाउँदा उसले तीन विकेट गुमायो । यस क्रममा आरोन फिन्चले खाता पनि खोल्न सकेनन् भने डेविड वार्नरले ९ रन र पिटर ह्यान्ड्सकम्बले ४ रन जोडे ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथ र एलेक्स क्यारीले १ सय ३ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ उकासेका थिए । क्यारी ४६ रन बनाएर आउट भए । त्यसको लगत्तै क्रिजमा आएका मार्कस स्टोनिसले खाता खोल्न सकेन । ग्लेन म्याक्सवेलले २२ रन जोडे भने प्याट कमिन्सले ६ रन मात्र बनाए । मिचेल स्टार्कले २९ रन बनाए । मिचेल स्टार्क आउट हुनुपूर्व स्टिभ स्मिथ ८५ रनको योगदान दिएर आउट भए ।

पहिलो विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको इंग्ल्याण्डका लागि क्रिश वक्स र आदिल रसिदले ३।३ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वुड ले १ । १ विकेट लिए।

सन् १९९२ पछि विश्वकप फाइनलमा स्थान बनाउन इंग्ल्याण्डलाई २७ वर्ष लागेको छ । त्यसअघि १९७५ को विश्वकपमा सेमीफाइनल, १९७९ को विश्वकपमा उप विजेता र १९८३ को विश्वकपमा सेमीफाइनल तथा १९८७ र १९९२ को विश्वकपमा इंग्ल्याण्ड फाइनल पुगेको थियो।

तीन पटक फाइनल पुगे पनि इंग्ल्याण्डले हालसम्म उपाधि भने जित्न सकेको छैन। न्युजिल्याण्ड भने सन् २०१५ मा पहिलो पटक फाइनल पुगेको थियो भने लगातार दोश्रो पटक उपाधि नजिक पुगेको छ।

अर्कोतर्फ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलिया पराजित भएको यो पहिलो पटक हो। सन् १९७५ मा इंग्ल्याण्डलाई, १९८७ मा पाकिस्तानलाई, १९९६ मा वेस्ट इन्डिजलाई, २००३ मा श्रीलंकालाई, सन् २००७ मा दक्षिण अफ्रीकालाई तथा सन् २०१५ मा भारतलाई अस्ट्रेलियाले सेमीफाइनलमा पराजित गरेको थियो। १९९९ मा दक्षिण अफ्रीकासंगको सेमीफाइनल भने बराबरी भएको थियो।

Share Now

Leave a comment.