Prakash Adhikari July 12, 2019

काठमाडौं,२७ आषाढ । बिहिबार बेलुकीदेखि निरन्तर परिरहेको बर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोको समस्या सिर्जना भएको छ ।
बर्षाको कारण आएको पहिरो र बाढीमा परेर अहिलेसम्म ११ जनाको जीवनलिला समाप्त भएको छ ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको मूलपानीस्थित बाबा चोकमा पर्खाल भत्किदा टहरामा बसेका ३ जनाको ज्यान गएको छ । बारा घर भई राजधानीमा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्। ‘सर्मिला र मिनु देउरानी जेठानी हुन । टहरामा बस्दै आएका उनीहरुलाई अर्काको घरको बनिसकेको पर्खाल ढलेर किचेको हो ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापको रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको पहिरोले पुरिएर मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।
ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । खोटाङमा ३ जना बेपत्ता छन् ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा  खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

Share Now

Leave a comment.