गाईघाट(उदयपुर),२८ आषाढ । उदयपुर भएर बग्ने त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवारमा डुबानमा परेका छन्।
चौदण्डीगढी नगरपालिका–५ बेल्हापट्टीको बाँध भत्किदा खैराटोलमा बसोबास गर्दै आएका १० घरपरिवार अहिले बाढीको घेराबन्दीमा परेका छन्। बाढीमा फसेकाहरु घरको छानो र टाँडमाथि रहेका बसेका छन्।
स्थानीय युवाहरुले उद्धारको प्रयास गरे पनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन। थ सम्पर्क भएको छैन। स्थानीयहरुले उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई आग्रह गरेका छन्।
लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण उदयपुर र सिन्धुलीको सीमामा पर्ने तावा र ककरु खोलाको बाँध फुटेको छ। उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिका भएर बग्ने तावा र ककरु खोलाको बाँध फुटेसँगै बस्ती र खेतीयोग्य जमिन पुरिन थालेका छन्।
त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा विष्णु मगर र प्रथम डुमको घर त्रियुगा नदीको बाढीले भत्काएको छ। निरन्तरको वर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन्। पहिरोले ताप्ली गाउँपालिका–५ गैरिगाउँका रबी रम्तेल र वडा नम्बर २ धारापानीमा पृथ्वीबहादुर परियारको पहिरोले पुरेको छ। सोही वडाको कबासेटारमा पहिरो जान थालेपछि स्थानीयहरु घर छोडेर सुरक्षित स्थानमा सरेका छन्।
चार दिनदेखिको निरन्तर वर्षाले उदयपुरका ग्रामीण सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। सबैजसो नदी तथा खोला खोल्सीमा लगातार बाढी आएर सडक पूरै अवरुद्ध पारेको हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ।
यस्तै, पहिरो कारण सडकमा क्षति पुगेपछि बेतेनी–माझखर्क, नुनथला–रुपाटार ठानागाउँ, बेतेनी–सोरुङछबिसे–रुपाटार, लिम्चुङबुङ, मुर्कुची – गाईघाट, मुर्कुची–नेपालटार, उदयपुरगढी सडकखण्ड अबरुद्ध बनेका छन्।
सदरमुकाम गाईघाटस्थित त्रियुुुगा र बरुवा खोलामा आएको बाढीले बस्ती आसपासको क्षेत्रमा कटान सुरु गरेको छ। बरुवा खोलामा आएको बाढीले गाईघाट–बेल्टार सडकखण्डको पूर्वी क्षेत्रको बसपार्कदेखि झण्डै ५० मिटर उत्तरतर्फको बाँधको स्परलाई सामान्य क्षति पु¥याएको छ। निरन्तरको वर्षापछि नगर क्षेत्रको गाईघाट बजार जलमग्न हुनुको साथै साकेला टोल, मुसहर बस्ती डुबानमा परेका छन्। श्रीलंका टापु जलमग्न भएको छ। बेलका नगरपालिकाको वडा नम्बर २, ३ का गाउँ नै डुबानमा पारेको छ। अविरल वर्षाले गाईघाट बजार चार दिनयता जलमग्न हुँँदै आएपछि गाईघाटका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ।


















