क्वालम्पुर(मलेशिया), २८ आषाढ । नेपाल र मलेसियाबीच भएको टी २० अन्तर्राष्ट्रियको श्रृखलाको पहिलो खेलमा नेपाली कप्तान पारस खड्का चम्केपछि नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ।
सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ।
शनिवारको खेलमा मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १ सय २९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पूरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र पारस खड्काले २९ रनको ओपनिंग साझेदारी गरे। १७ बलमा ८ रन बनाएर प्रदिप पाँचौ ओभरमा फित्री शामबाट क्याच आउट भए।
दोश्रो विकेटको लागि पारसले ज्ञानेन्द्र मल्लसंग २१ रनको साझेदारी गरे। ज्ञानेन्द्र २० बलमा ७ रन बनाएर १० औं ओभरमा अनवर रहमानबाट बोल्ड हुन पुगे। रोहित पौडेल पनि ४ बलमा १ चौका मदतले ५ रन बनाएर अनवरबाट एलबिडब्लु आउट हुन पुगे। त्यसपछि पनि पारस खड्काले एक किनार सम्हालीरहे र आक्रामक इनिंग खेले।
११.२ ओभरमा ६८। ३ को अवस्थाबाट पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका शरद भेसावकरसंग पारसले साझेदारी गरे।
यो बीचमा पारसले टिद२० अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो अर्धशतक पूरा गरे। यस अघि पारसले नेदरल्यान बिरुद्ध २०१५ मा ५४ रन बनाएका थिए। टिद२० अन्तर्राष्ट्रियमा पारस पछि सुबास खकुरेल र सन्दिप जोराले मात्र अर्धशतक बनाउन सकेका छन्।
पारस र शरदले अविजित इनिंग खेल्दै नेपाललाई जितसम्म पुर्याए। चौथो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।
पारसले अविजित ८६ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। शरदले २० बलमा १ छक्का मदतले १६ रन बनाए।
नेपाललाई रोक्ने क्रममा मलेसियाका अनवर रहमानले २ विकेट ९तथा फित्री शामले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो।
मलेसियाको लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ रन, कप्तान एहमद फैजले ४५, फित्री शामले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेशियालाई रोक्न नेपालका करन केसीले ३ विकेट तथा बसन्त रेग्मी र सन्दिप लामिछानेले २ । २ र सोमपाल कामीले १ विकेट लिए।


















