प्रकाश अधिकारी
काठमाडौं,१७ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जापान उडानमा लफडा आउने देखिएको छ । जापानको ओशाका उडानको मिति घोषणा गरिसकेको नेपाल वायुसेवा निगम आफ्नै गलत काम कारबाहीको फन्दामा परेकोले नियमित उडान समस्यामा पर्ने देखिएको हो ।
निगमको व्यवस्थापनले जापानमा निगमको प्रतिनिधि भएर काम गरिरहेको देवमान हिराचनलाईे प्रतिनिधिको नियुक्ति रद्द गरिएको पत्र पठाए पछि हिराचनले सर्वोच्च अदालतमा दिनुभएको रीट निवेदमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले साउन ८ गते सो कार्य यथास्थितिमा राख्नु नयाँ कार्य नगर्नू नगराउनू भनी नेपाल बायुसेवा निगमलाई आदेश दिएको छ । निगम व्यवस्थापनका तर्फबाट कार्यकारी अध्यक्ष खरेलले कुनैपूर्व जानकारी नै नदिई १५ जुलाई २०१९ अर्थात ३० असार,२०७६ मा विना आधार र कारण उहाँलाई दिइएको प्रतिनिधिको नियुक्ति रद्द गर्नुभएको थियो ।
निगमका जापान प्रतिनिधि हिराचनले दिनुभएको जानकारी अनुसार सर्वोच्च अदालतको सो आदेश निगममा दर्ता भै सकेको छ । हिराचनले साउन १० गते सो आदेशको प्रतिलिपी उतार गरी ल्याउनुभएको थियो ।
सर्वोच्चको आदेशमा उल्लेख भएको र हिराचनले पेश गर्नुभएको कागजात अनुसार २०७४ जेठ २३( २०१७ जुन ६)मा जापानको प्रतिनिधि नियुक्त गरको थियो । र २०७५ माघ १७(जनवरी ३१,२०१९मा) उहाँलाई आधिकारीक प्रतिनिधिमा निरन्तरता दिएको पत्र थमाएको थियो । निगमले दिएको पत्रमा कुनै शर्त वन्देज पनि राखिएको थिएन ।
हिराचनलाई नै प्रतिनिधि कायम गरेको बेला निगमले २०७६ वैशाख २०नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका अवसर पारेर असार १९(जुलाई ४)देखि जापानको ओसाका नियमित उडान पुनःप्रारम्भ गर्ने घोषणा गरेको थियो । निर्धारित उडान तालिका अनुसार मंगलबार, बिहीबार र शनिवार हप्ताको तीन (३) वटा उडान काठमाडैंबाट हुने र काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने जनाइएको थियो ।
तर पर्याप्त बुकिड. नभएको भन्दै निगमले जेठ २३ गते भदौ १९ गतेसम्मका लागि जापानको उडान स्थगित गरिएको सूचना जारी गर्यो । निर्धारित मितिको उडान रोकिएपछि काठमाडौं फर्कनुभएका हिराचनसंग निगमले निगमले कार्यकारी अध्यक्षको चेम्बरमा मिटिड. गरी उहाँसंग चार बूँदे लिखित संझौता पनि गरियो । निगमका तर्फबाट कार्यकारी अध्यक्ष मदन खरेल, नायबमहाप्रबन्धक गणेशबहादुर चन्द,कार्यबाहक निर्देशक कृष्णगोपाल जोशी, कार्यवाहक वित्त निर्देशक, वाणिज्य विभागका निमित्त निर्देशक टंकनिधि दाहाल र सामान्य सेवा तथा खरिद व्यवस्थापन विभागका निमित्त निर्देशक अमृतमान जोशी सहित निगमका विज्ञ राजुकेसी र जापान प्रतिनिधिको तर्फबाट हिराचन उपस्थित भई छलफल गरी सहमतिमा माइन्यूुट गरिएको थियो ।
सो सहमतिमा जापानको ओशाका क्षेत्रमा निगमको व्यापार विस्तार गर्नका लागि जापान प्रतिनिधि हिराचनले निगमसंग मिलेर काम गर्ने, बजार प्रबर्धनको सम्बन्धमा जापानी प्रतिनिधि हिराचनले निगमको बजार र वित्त उपसमितिले निर्णय गरे बमोजिम वित्तीय प्रत्याभूति भएका केही सीटहरु उपलब्ध गराउनका लागि प्रस्ताव पेश गर्ने, ओशाकामा कार्यालय स्थापना गर्दा लागेको खर्च र करहरु निगमको जापानको देशीय प्रतिनिधिको सिफारीसमा निगमले भुक्तानी गर्ने र ओशाकाको नियमित उडान सञ्चालनको लागि हिराचन जापान फर्केर धम्मरधुस लागेर काम गर्नुपर्ने जस्ता विषय समावेश गरिएको थियो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ११ दिन नबित्दै उहाँलाई जनवरी ३१ मा दिइएको प्रतिनिधिको अधिकार रद्द गरिएको पत्र काटियो जसले असार १९गतेको संझौता स्वतः अर्थहीन हुने अवस्था ल्यायो ।
सर्वोच्चको आदेशमा समेत अटेरी
निगमको नियमित सेवा नहुँदा निगमको अस्तित्वलाई जापानमा बचाएर राखिरहनुभएका हिराचनलाई निगम व्यवस्थापनले एकाएक किन हटायो यसको चित्तबुझ्दो जवाफ निगमले दिन सकेको छैन । तर सर्वोच्च अदालतको पत्र निगममा पुगेको हप्तादिन हुँदा पनि कार्यकारी अध्यक्षले यस विषयमा निर्णय लिन सञ्चालक समितिको बैठक बोलाउनुभएको छैन् । अदालतले दिएका आदेश,निर्णय र फैसलाहरु कर्यान्वयन वा पालना गर्नु सम्बन्धित व्यक्ति र संस्थाको कर्तव्य हुन्छ ।यसको पालना नभएमा अदालतको अपहेलनाको मुद्दा लाग्छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल सरकार जमानत बसेर बिभिन्न वित्तिय संस्थाबाट ऋण लिएर चलिरहेको संस्थाको व्यवस्थापन सम्हालिरहनुभएका निगमका योग्य प्रशासकहरुलाई सर्वोच्च अदालतको निर्णयलाई तिरस्कार गर्ने र पालना नगर्ने छुट पाइदैन भन्ने जानकारी नभएको होइन् । निगमभित्रै एक कानूनी विभागको अस्तित्व पनि छ ।
निगमका जापान प्रतिनिधि हिराचन भन्नुहुन्छ, “निगमको ओशाका उडान नियमित गराउन जापानको नागरिक उड्डयन मन्त्रालयबाट अनुमति ल्याउनु होस् तपाईलाई जापानको सोल जिएसए दिन्छु भन्नुभएकोले मैले सो अनुमति लिन जापानमा कार्यालय स्थापना गर्नेदेखि धेरै खर्च गरेको थिए । अनुमति ल्याएपछि निगमका व्यवस्थापकहरुको मन फेरियो ।” उहाँले निगमले पहिले घोषणा गरेकै मितिदेखि उडान गरेको भएपनि जापानमा बुकिड. राम्रो भएको पनि दाबी गर्नुभयो । सिटा,एमाड्यूस लगायतका ग्लोबल बुकिड. पद्धतिबाट आफूले बुकिंग खुला गरेको त्यस्तो बुकिंग असाध्यै राम्रो भएको उल्लेख गर्दै भन्नुभयो, “बिजनेश क्लासको २ लाख येन र इकोनोमि क्लासको १ लाख १ हजार येन भाडा राख्दा पनि जुलाईमा ३५ करोड र अगष्टमा ४० करोड येन बराबरको आम्दानी निगमले गुमाएको छ ।”
नियमित उडान अक्टोबर नोभेम्बर पुग्ने
नेपाल सरकार जमानत बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण काढेर गत बर्ष ल्याइएका दुईवटा बाइडबडी जहाजहरुको लागि एउटा पनि लामो दूरीको गन्तव्य खोज्न नसकेर फिटीफिटी परेको निगमको व्यवस्थापनलाई देवमान हिराचनले जापानको ओशाकामा उडान गर्ने तारतम्य मिलाएपछि उहाँलाई निगम व्यवस्थापनले खोला तर्र्यो लौरो विस्र्याे भने जसरी किनारा लगाउन खोजे पनि देवमानको अनुपस्थितिमा जापानको उडान धेरै कष्टकर बन्दै गैरहेको छ । जापानमा ट्राभल एजेन्सी चलाएर बस्ने एक नेपाली व्यवसायीका अनुसार हिराचनलाई लखटेर प्यासेन्जर सेल्स एजेन्ट नियुक्त भएका केही एजेन्सीहरु निगमले निर्धारित गरेको अगष्ट २९ मा नियमित उडान सञ्चालन गर्न जापानमा दौडादौड गरेका छन् तर उनीहरुले सो अनुसारको व्यवस्था मिलाउन सकिरहेका छैनन् ।
निगमले वैशाख २० गते नै नेपाल वायुसेवाको जहाज विहानको ११ बजे कान्साई विमानस्थलमा अवतरण हुने र त्यहाँबाट दिएसो १ बजे काठमाडौंको लागि उडान हुने समय तालिका पाएको उल्लेख गरेको थियो । संभवतः पहिले निर्धारित असार १९ गते सेवा सञ्चालन भएको भए सबै कुरा सो अनुरुप हुने थियो होला । तर निगमले उडान स्थगित गर्यो । नेपालको जहाज कान्साई विमानस्थल उत्रिने समय तालिका कान्साई एअरपोर्टको बर्षे उडान तालिकामा परेन । हिउँदे उडान तालिका आउने बेला भएको छैन् । निगमको जहाजलाई छुट्ट्याएको समयमा अहिले अरु नै जहाज अवतरण र उडान गरिहेका छन् । बिहिबार रातीसम्म निगमलाई सो समयतालिका उपलब्ध भएको छैन् ।
हिराचनले जापानका सरकारी कार्यालयमा आवश्यक पत्राचार गरी काम कारबाही गर्न गराउन इन्टर एभिएसन जापानसंग संझौता गरी काममा लगाउनुभएको थियो । निगमले हिराचनसंगको संझौता तोडेको जानकारी पाएपछि इन्टर एभिएसन जापानका कानाको तमुराले निगमका जापानका देशीय प्रतिनिधि सन्तोष पाण्डे र ओशाका प्रथम उडान सञ्चालन गर्न खटाइएका वाणिज्य निर्देशक टंकनिधी दाहाललाई सम्बोधन गर्दै एक अत्यन्त जरुरी इमेल पठाउनुभएको छ । १८जुलाई बिहिबार पठाइएको सो पत्रमा तीनवटा कुरा स्पष्टसंग खोलिएकोे छ,
१) जापानमा नेपाल वायुसेवा निगमको कानूनी कार्यालय विधिवत रुपमा दर्ता गरेर त्यसमा कार्यरत कर्मचारी नियुक्त गरेको जानकारी जापानका संबन्धित अधिकारी र कार्यालयसमक्ष पुर्याउनु पर्ने ।
२) निगमका तर्फबाट यात्रुहरु र विमानको सुरक्षा जाँच गर्न नयाँ सुरक्षा अधिकारी नियुक्त गर्नुपर्ने । उसले जेक्याबले दिएको सुरक्षा तालिम लिई सो तालीम पछि हुने परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ । अगष्ट २९ पहिले १ र २ अगष्टमा मात्र यस्तो तालिम हुने भएकोले सो तालिम लिएर त्यसपछि हुने परीक्षा उत्तीर्ण गरी निर्धारित २९ अगष्ट अगावै नियुक्ति लिएर जापानको विमानस्थल र नेपालबाट जाने विमान तथा यात्रुको सुरक्षा जाँचमा खटिन पाउने संभावना न्यून रहेको छ ।
३) इन्टर एभियसन जापानले देवमान हिराचनले स्थापना गरेको कम्पनीसंग संझौता गरी काम गरिरहेको छ, निगमले खटाएको देशीय प्रबन्धक सन्तोष पाण्डे र निगमको केन्द्रीय कार्यालयसंग हैन । हिराचनसंग निगमको संझौता रद्द भएको भए हामीसंग संझौता स्वत भंग हुन्छ र हामी कुनै पनि सेवा दिन असमर्थ छौ ।
४३ बर्ष जापानमा बसेर जापानी भाषा,संस्कृति,कार्यशैली बुझ्नुभएका देवमान हिराचनलाई पाखा लगाएर नयाँ प्यासेन्जर सेल्स एजेन्ट नियुक्त गरी सानो तिनो रकम खानका लागि निगमको व्यवस्थापनले निगमको प्रतिष्ठालाई नै दाउमा लगाएको बताइन्छ । निगमले नियुक्त गरेका पीएसएहरुले २९ अगष्टबाट नियमित उडान सञ्चालन गराउन नसक्ने लगभग निश्चित भैसकेको छ । निगमले जापान खटाएका देशीय प्रतिनिधि सन्तोष पाण्डेसंग जापानको वर्क परमिट छैन, उहाँ पर्यटन भिषामा जानुभएको छ, पर्यटन भिषामा गएर जापानमा काम गर्न पाइदैन ।
निगमका कर्मचारीले बताए अनुसार निगमले काठमाडौं ओशाका र काठमाडौं ओशाका काठमाडौंको नेपाली भाडा दर तय गरे पनि ओशाका काठमाडौं र ओशाका काठमाडौं ओशाकाको भाडा दर डलरमा तय गरेको छैन् । भाडा नै तय नभएकोले टाभल एजेन्सीहरुलाई टिकट बुकिड. गराउन अनुरोध गर्न पनि ब्यबहारिक रुपमा कठिनाई उत्पन्न भएको छ ।
ओशाकामा कार्यरत एक ट्राभल एजेन्टका अनुसार निगमले पठाएका प्रतिनिधि र केही व्यापारीहरु अहिले हारथाक भएका छन् । उनीहरुले जापानको सबैभन्दा ठूलो र संसारकै ठूला ट्राभल एजेन्सी मध्येको एक जेटीबीसंग पनि २९अगष्टदेखि नेपाल वायुसेवा निगमको उडान नियमित गर्न गराउन सघाउन र आफ्नो नेटवर्कमार्फत यात्रुहरु पठाउन सहयोग गरिदिन अनुरोध गरेका थिए । तर जापानमा रहेका एक नेपालीको अनुसार दुई महिना घटिमा यस्तो कार्य गर्न नसकिने जानकारी जेटीबीले दिएपछि उनीहरु निराश छन् ।
निगमले खटाएका प्रतिनिधिहरुले सो संस्थासंग संझौता गरेमा पनि अक्टोबर यता जापानको नियमित सेवा संभव छैन् । खाली सिट भएपनि उडाएर गन्तब्य भेटिएको डम्फू बजाउने हो भने कुरा अलग्गै हो । सस्तो भाडा दरमा यात्रुहरुको संख्या ६० प्रतिशत नघाउन नसकेमा विमान कम्पनीहरु नाफामा जान सक्दैनन् । यसैले ओशाका उडान सुरुहुनासाथ निगमको आर्थिक अवस्था रातारात सुध्रने देखिदैन । यात्रुहरु भर्न सकेन भने निगमका कर्मचारीहरुले तलवसमेत खान नपाउने अवस्था सिर्जना हुन सक्छ
चार्टरको हावादारी फण्डा
ओशाकाको कान्साई विमानस्थलमा नियमित उडान थालनी गर्न हम्मे परिरहेको विषयलाई लुकाउन निगमको व्यवस्थापनले बिहीबार अर्को फण्डा सिर्जना गर्यो । निगमले जापानको टोकियो शहर नजिकको नारिता विमानस्थलमा चार्टर उडानको अनुमति पायो भन्ने ।
उड्डयन क्षेत्रका एक विज्ञका अनुसार चार्टर विमानको अनुमति नेपाल जस्तो गरिब मुलुकको नियमित उडान गर्ने वायुसेवाको लागि उपयुक्त छैन र हुँदैन । चार्टर गर्दा जुन यात्रु लिएर गइन्छ , सामान्यत तिनै यात्रुहरु लिएर फर्कने गरिन्छ, वा एकतर्फी हो भने खाली फर्कन्छ । चार्टर विमानमा नियमित उडान गर्ने यात्रुहरु उठाउन पाइदैन । चार्टर उडान महंगो पर्ने भएकोले जो कोहीले यसमा रुचि पनि देखाउदैनन् ।
जापानीहरुले चार्टर गर्न सक्छन तर उनीहरुलाई पहिले जापानबाट उड्ने विमान खाँचो पर्छ । जसले उद्गमबाट गन्तव्य पुर्याएर फेरी उद्गममा नै ल्याउछ । नेपालको वाईडबडी विमान चार्टर गरेर टोकियो घुम्नसक्ने हैसियत धेरै नेपालीको छैन । निगमको व्यवस्थापनले बेतुकको कुरा उठाएर ओशाका उडानको कमजोरी र खास गरी जापान प्रतिनिधि हटाउने प्रकरण र नयाँ पीएस र संभव भए अनुकूल समयमा जिएसए नियुक्त गर्दा भएको अनियमितता ढाकछोप गर्न खोजेको प्रतित भएको छ ।
निगमसंग लिन हैन,आफ्नो जीवनकालभरी सिकेका कुराको सेवा दिन निगमको कार्यकारी अध्यक्षमा आएको दावी गर्नुहुने मदन खरेललाई संसदका समितिहरु,मन्त्रालय र सर्वोच्च अदालतसंगसमेत पौठेजोरी खेल्दै असफल व्यवस्थापकको रुपमा बहिर्गमन गराउन कुन शक्ति र व्यक्तिहरु लागेका छन ? यो चाही रहस्यको विषय भएको छ ।