Prakash Adhikari August 3, 2019

ललितपुर,१७ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन १७ गते बसेको बैठकको निर्णयले पार्टीको १४ औं महाधिवेशन आगामी फागुनमा नगर्ने ढंगको निर्णय गरेको छ ।

बैठकको समापन पछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार अन्तरिम संरचनाका सम्बन्धमा
१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।’

यसले पार्टीको १४ औं महाधिवेशनको बारेमा पार्टीमा मंसिरपछि मात्र सोचिने संकेत दिएको छ । क्रियाशील सदस्य वितरण र स्थानीय तहदेखि,प्रदेश निर्वाचन क्षेत्र,जिल्ला र प्रदेश तहको निर्वाचन हुँदै केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि केन्द्रीय अधिवेशन हुन लाग्ने समय गणना गर्दा पार्टी सभापति शेरबहादुर देउवा पनि विधानमा उल्लेखित स्वभाविक अवधिमा महाधिवेशन सम्पन्न गर्न असमर्थ देखिनुहुने भएको छ ।

पार्टीको सांगठानिक संरचनामा कुनै समस्या नरहेको, लोकतान्त्रिक पद्धति विचलित भई यसलाई पुनस्थापना गर्न आन्दोलन गर्न नपरेको र देशमा भूकम्प जस्ता प्राकृतिक विपत्ति र नाकाबन्दी र आन्तरिक द्धन्द तथा बाह्य हस्तक्षेप वा युद्ध जस्त विपत्ति आइ परेर आम कार्यकर्तालाई सांगठानिक क्रियाकलापमा आबद्ध गर्न कठिनाई उत्पन्न नभएको अवस्थामा पनि विशेष परिस्थिति लगाएर १ बर्ष समयावधि बढाउन खोजिएको स्पष्ट देखिएको छ ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक, पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसरी नै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको समेत संयोजक रहनुभएका उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा। मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन।पी। साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेसको बैठकले बाजुरा गौमुल गाउँपालिका वडा नं. ६, बसाला, शान्तिटोलमा विहिवार राती घरमाथि पहिरो गई वर्ष ३० की निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । कांग्रेसले बाजुराका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते वुधवार दिनको २ः०० बजे पुनः बस्नेछ ।

Share Now

Leave a comment.