Prakash Adhikari August 3, 2019

लिक(पाराग्वे),१८ साउन(बीबीसी) । प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ।

अर्जेन्टिनाको फुटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ‘भ्रष्ट’ रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो।

बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यसपछि प्रतियोगिताको ‘कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको’ टिप्पणी गरेका थिए।

प्रतिबन्धसँगै उनलाई दक्षिण अमेरिकी फुटबल सङ्घले ५० हजार अमेरिकी डलर जरिबाना समेत गरेको छ।

उक्त निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय छ।

मेस्सी
प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्।

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ।

कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजीलसँग २-० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल सङ्घले उक्त खेलमा ‘रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।

दक्षिण अमेरिकी फुटबल सङ्घले भने आफ्नो निष्‍ठामाथि लगाइएको आरोप ‘निराधार’ रहेको टिप्पणी गरेको थियो।

चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो।

“हामी यो भ्रष्टाचारको हिस्सा बन्न जरुरी छैन,” मेस्सीले भनेका थिए।

“उनीहरूले हामीमाथि सम्मानको कमी प्रतियोगिताभर देखाउँदै आएका छन्। भ्रष्टाचार र रेफ्रिहरूले दर्शकलाई खेलको आनन्द लिन दिँदैनन्।”

Share Now

Leave a comment.