Prakash Adhikari August 22, 2019

काठमाडौं,५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गर्नुभएको छ ।

उहाँ दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरको सिल्क एअरबाट सिंगापुरतर्फ जानुभएको हो । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य पनि सिंगापुर जानुभएको छ ।

गत साउन १८ गते उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।

स्वास्थ्यमा फेरि समस्या देखिएपछि उहाँ एक सातामै दोस्रो पटक सिंगापुर जानुभएको हो ।

प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्नुपूर्व बिहान पार्टी एकताको विषय टुंग्याउन सचिवालय बैंठक बसेको थियो । तर प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचारका लागि सिंगापुर जानेभएकोले एजेण्डामा छलफल र बहस गर्न नभ्याउने भन्दै आफूलाई शुभकामना दिएर आएको बैठक अन्त्य गर्न र आफ्नो अनुपस्थितिमा पनि सहमतिमा बाँकी काम टुंगोमा पुर्याउन अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

ओलीको उक्त अभिब्यक्ति पछि पार्टीका विभिन्न जिम्मेवारी बाँडफाँट, बरियता क्रम र सरकारले आफ्नो राजनीतिलाई अप्ठ्यारो पार्ने गरि गरेका निर्णयहरुमा चित्त दुखाउदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको वातावरण खल्बलिएको बताउनुभयो ।

लामो समयको भनाभनपछि प्रधानमन्त्री ओलीले तपाईको शुभकामना चाहिएन समेत भन्नुपरेको थियो ।

Share Now

Leave a comment.