ललितपुर, ६ भाद्र । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टलाई लखेट्न जनता उठ्ने संकेत देखिएको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षणमा उहाँले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने चेतावनी पनि दिनुभएको हो ।
‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजाकाविरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर उठ्न सक्छन्,’नेकपा अध्यक्ष प्रचण्डल भन्नुभयो, ‘संकेत चाहिँ कताकता त्यस्तै देखिन थालेको छ ।’
उहाँले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने चेतावनी पनि दिनुभयो ।
माक्र्सवाद अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन सिद्धान्तका रूपमा लिन सुझाउँदै उहाँले कम्युनिष्टमा अनुशासनको स्तर गिर्दै गएको बताउनुभयो ।
‘कम्युनिस्टहरुमा वैचारिक विचलन आएको छ,’ उहाँले भन्नुभयो ‘सामूहिकता भन्दा व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’
सोभियत संघ लगायतमा कम्युनिष्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उहाँले बुर्जवाहरुले कम्युनिष्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने गरेको बताउनुभयो ।