काठमाडौं, ७ भाद्र । अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
सोलो रिलिजको अवसर पाएको यो फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिका देखिएकी छिन् । फिल्ममा उनी जाइरामार्फत पहिलो पटक एक्सन भूमिकामा उदाएकी हुन् ।
नम्रतासँगै यस फिल्ममा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा नम्रता र अनुप श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् । भने, प्रमोद नेगेटिभ भूमिकामा छन् । उनी फिल्मका मेरुदण्ड हुन् । उनको भूमिका निकै सशक्त छ । अभिनय पनि जीवन्त पस्किएका छन् ।
शुक्रबार बिहान ललिपुरको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा ‘जाइरा’ का कलाकार, निर्माता र निर्देशकले सञ्चारकर्मीसँग बसेर फिल्म हेरे । स्पेशल शोमा केही फिल्मकर्मीहरु पनि उपस्थित थिए । फिल्मलाई स्पेशल सोमा समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ ।
अभिनेत्री नम्रताले समीक्षकबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । उनी फिल्मले दर्शक तान्नेमा विश्वस्त छन् ।
जाइरालाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो ।
फिल्मको अन्तिममा ‘टु वि कन्टिन्यू’ भनेर लेखिएको छ ।यसले फिल्मको सिक्वेल बन्ने कुराको संकेत गरेको छ । निर्देशक श्रेष्ठले दर्शकबाट राम्रो प्रतिक्रिया मिल्यो र फिल्मको व्यापार पनि राम्रो भएको खण्डमा सिक्वेल बन्ने बताएर यसको पुष्टि पनि गरेका छन् ।
प्रशन्न गोपाली निर्मित फिल्ममा अभिनेत्री नम्रताले मार्शल आर्ट खेलाडीको भूमिकामा जीवन्त अभिनय गरेकी छन् ।
फिल्मा अनुप, रेमन, श्रृजना, सुजता र सम्राटको अभिनय पनि चित्तबुझ्दो छ । फिल्ममा द्वन्द्वको मिश्रण राम्रो छ ।