Prakash Adhikari August 26, 2019

काठमाडौं, ९ भाद्र । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको हो।

मन्त्री भट्टराईले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा वर्गीकरण गरी १ सय ४१ वटा कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । मन्त्रीको कार्ययोजनामा न्युनतम १५ दिनभित्र गरिसक्ने ५ वटा कामदेखि १ वर्षभित्र सक्ने र केही बहबर्षीय कार्यक्रम पनि परेका छन् ।


१५ दिनभित्र परिवर्तित अवस्थामा पर्यटकीय सेवाको गुणस्तरीयता वृद्धि गर्नेगरी होटल मापदण्ड जारी गर्ने, नेपाल भ्रमण वर्ष मनाउन १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र अन्य आवश्यक कार्यक्रमको खाका बनाई प्रबर्द्धनात्मक कार्यक्रम गर्ने रहेका छन्।

मन्त्री भट्टराईको कार्ययोजनामा नेपाली मौलिक खानाको प्रचार, प्रसारको लागि हरेक तारे होटलले नेपाली खानाको छुट्टै स्टल हुनुपर्ने गरी होटल मापदण्ड बनाउने, आन्तरिक उडानमा बिग सिक्स अर्थात् ६ जना सम्माननीयलाई मात्र विमानसम्म गाडी लैजान व्यवस्था मिलाउने पनि कार्ययोजनामा राखेका छन् । मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमबाट सञ्चालित ग्राउण्ड ह्याण्डलिङ्गलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि राख्नुभएको छ ।

मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरी पूर्वाधार बनाउने र पशुपतिमा नियमित प्रसाद वितरणको व्यवस्था गर्ने , सन्ध्या आरती यु्ट्युवबाट प्रत्यक्ष प्रशारण गर्ने योजना ३ महिनाभित्र सम्पन्न गर्ने योजना पनि यसै बर्षको कार्यक्रममा पार्नुभएको छ । यस्तो छ कार्यक्रम :पर्यटन मन्त्रीको एक वर्षे कार्ययोजना

Share Now

Leave a comment.