काठमाडौं, १० भाद्र । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ज्ञान साझेदारी कार्यक्रम (बीओके–केपीपी) कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई केन्द्रीय बैंकबीच यस्तो समझदारीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाका अन्तर्राष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योङ जुङले हस्ताक्षर गर्नुभएको छ ।
यस कार्यक्रम अन्तर्गत बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका बारेमा नीति तथा कार्यक्रम विषयमा अध्ययन–अनुसन्धान गर्नेछ ।
अध्ययनपछि टोलीले नेपाल राष्ट्र बैंकलाई पहिलो चरणमा अन्तरिम र अन्तिम चरणमा विस्तृत गरी नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।
यस कार्यक्रमपछि नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण सुझावहरु प्राप्त हुने अपेक्षा राष्ट्र बैंकले राखेको छ ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङि मास्के र लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।


















