Prakash Adhikari August 28, 2019

काठमाडौं,११ भाद्र । नेपाली बैंकरहरुको संस्था नेपाल बैंकर्स संघले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन नेप्सेसंग माग गरेको छ ।

बैंकर्स संघको भदौ ११ गते बुधबार बसेको बैठकले ब्रोकरेज सेवा प्रदान गर्नको लागि नेपाल स्टक एक्सचेन्जमा आवेदन दिएका बैंकहरुलाई साहयक कम्पनी खोली ब्रोकरेज सेवा प्रदन गर्न पाउने गरी तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो।

नेपाल स्टक एक्सचेञ्जले लामो समयपछि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनका लागि यस्तो सेवा प्रदान गर्न चाहने बैंकलाई सहायक कम्पनी स्थापना गरी आवेदन दिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।

तर नेपालको पूँजीबजार राजधानी र मुख्य शहरी क्षेत्रमा शाखा खोलेर आफ्नो नियन्त्रणमा राख्दै आएका ५० जना दलाल ब्यवसायीले चन्दा उठाएर संसदका अर्थसमितिका केही प्रभावशाली सांसदहरुलाई प्रभावित पारेपछि यो तयारी एकाएक अवरुद्ध भयो ।

ब्रोकरहरुको चन्दापछि बसेको अर्थ समितिको बैठकले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अध्ययन गरी दुइ महिनाभित्र प्रतिवेदन बुझाउने गरी सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा साउन २९ गते पाँच सदस्यीय अध्ययन उप समिति गठन गरेको थियो ।

सो कदमपश्चात नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेज लाइसेन्स वितरण गर्ने प्रकृया तत्काललाई स्थगन गरेको छ ।

नेपाल बैकर्स संघले ब्रोकरको काम गर्ने गरी सहायक कम्पनी खोल्न लगाउने तर कम्पनी खोलेर निवेदन दिएपछि प्रकृया स्थगन गर्ने नेप्सेको कार्यप्रति आपत्ति जनाउदै कम्पनीको निवेदन स्वीकार गरी छानवीनको प्रक्रिया पूरा गरेर तुरुन्त इजाजत दिन आग्रह गरेको छ ।

Share Now

Leave a comment.