Prakash Adhikari August 31, 2019

बलराम विष्ट
“ल सर आउनुभए हुन्छ” उताबाट प्रहरी सहायक निरीक्षक प्रेम गुरुङ्ले फोनमा भन्नुभयो “सुरेश यही छ ।” यो खबरले मलाई निकै रोमाञ्चित भनौ हर्षविभोर बनायो । बिना सूचना फागुन २३ गते घर छोडेर हिडेको हाम्रो छोरो राजधानीमै सुरक्षित रुपमा भेटिएको थियो । उसले घर छोडेको पनि १ सय ३१ दिन भैसकेको थियो, भेटिएको दिन २०७६ को आषाढ ३०मा ।

******************************************************

वास्तवमा सुरेश र मेरो रगतको साइनो थिएन् । नेपाली आर्य सभ्यताको उद्गम मानिएको जुम्ला निवासी सुरेश संयोगले मसंग छोराको स्थान लिन आएको थियो । हाम्रो घरमा जति दिन ऊ बस्यो,पुत्रको रुपमा बस्यो । परिवारको एक अभिन्न सदस्यको हैसियत प्राप्त ।
२०७३ फागुन २३ गते बिहानै सुुरेश हरायो । हामीलाई लागेको थियो, ऊ नियमित रुपमा गर्ने काम दुध र तरकारी लिन बीगमार्ट तिर गयो होला । र एक घण्टा प्रतिक्षा गर्यौ ऊ आएन । त्यसपछि हामीलाई शंका लाग्यो, कोठामा गएर हेर्यौ,उसले पुरानो लुगा फेरेको देखियो । नयां ब्याग नयां लुगाहरु थिएनन् । भर्खरै किनेको नयां जुत्ता पनि थिएन । उसलाई हामीले चाडबाड र अन्य समयमा दिने गरेको रुपैया पनि लिएर घरबाट आफू खुसी निस्केर गईसकेको रहेछ । सुरेश बिना खबर हामीलाई छोडेर गएकोमा अविश्वास गर्नुपर्ने कुनै कारण अब बाँकी रहेन ।

२०७३ सालको कुरा हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा कार्यरत मेरा नारायण बिष्ट कामका सिलसिलामा जुम्ला पुगेका थिए । त्यसै बेला मैतिदेवी बस्ने मेरो भाइले घरमा साँझ बिहान सहयोगीको काम गर्ने दिउँसो पढ्ने चाहने कुनै केटाकेटी पाइने भए अभिभावकहरुको स्वीकृतिमा ल्याइदिन अनुरोध गरेको रहेछ । घरमा खानबस्न मुस्किल परेका विपन्न परिवारका किशोरकिशोरीलाई काठमाडौं लगिदिए पढ्ने अवसर पनि पाउने र भविष्य उज्वल हुने देखेपछि भतिज नारायणको मन पग्लेछ । उनले जुम्लामा विपन्न परिवारका थुप्रै केटाकेटी राजधानी गएर पढन पाए जाने अवस्थामा पाएपछि एक दिन मसंग पनि यो प्रस्ताव राखे । मैले लामो समयदेखि एक किशोरलाई पढ्ने सुविधासहित बिहान बेलुका हल्का घरायसी काममा सघाउन राखेको थिए । मलाई खासै जरुरत छैन भन्ने जवाफ दिए । घरमा काम पनि धेरै नभएको र एकजना राखिसकेकोले पैसादिएर काममा लगाउन सकिदैन तर पढाउने सुविधा दिएमा कोही आउन तयार छ भने घरमा बसेको भाइलाई साथी हुन्छ भन्ने कुरा बुझेपछि उनले यो खबर स्थानीय दानबहादुर शाही, मानबहादुर शाही, हंसबहादुर शाहीलाई दिए २०७३ साल चैत ४ गते भतिज नारायण बिष्ट र हंस बहादुर शाहीले अन्दाजी १२ बर्षको सुरेश शाहीलाई बिहान बेलुका पसलबाट सामान किनेर ल्याउने र घरको काममा सघाउने त्यसको बदलामा मैले उसलाई परिवारको सदस्यको रुपमा राखी पढाउने शर्तमा मेरो घरमा ल्याएका थिए । सुरेशकी दिदी माया लगभग त्यही समय भाईको घरमा मैतिदेवीमा आएकी थिइन ।

नयाँ शैक्षिक शत्र सुरु हुनासाथ मैले सुरेशलाई नजिकैको बासँबारी माध्यामिक विद्यालयमा कक्षा ३ मा भर्ना गरिदिए । घरमा बेलुका मेरो श्रीमतिले उसको पढाईलाई सघाउथिन । म पनि अभिवावक दिवसमा स्कुलमा गएर उसको पढाईबारे बुभm्ने गर्दथे । यसै बिचमा उसकी दिदी मायालाई घर फिर्ता लगेर र सुरेशको भाई रमेश भाईको घरमा आएर बसे । २०७३ माघ महिना तिर सुरेशको बुबा गोरेबहादुर शाही मकँहा चार दिन जति बसेर छोरा सुरेशको सबै हालचाल बुझेर गएका थिए । मैले सुरेशको “बुवालाई छोरा बस्न मानेको छ कि छैन ? पढ्न मन गरेको छ कि छैन ?” भनेर प्रश्न गर्दा उहाँले “छोराले पढ्छु र मलाई सबैले माया गर्नुहुन्छ” भनेको बताउनुभयो । उहाँले “हजुरले मेरो छोरालाई पढाई दिएर ठूलो गुन गर्नु भयो” भनेपछि मैले “सुरेश जति पढ्छ जे पढ्छ पढाउने जिम्मा मेरो भयो तर सुरेशले मेरो घरमा बस्दा पढ्नु पर्छ” भनेको थिए । उहाँ छोरा पढ्न पाएको र राम्रोसंग बसेको देखेर दंग परेर छोरी मायालाई लिएर घर फर्कनुभयो । सुरेशलाई न्यास्रो लाग्छ कि भनेर उसको नातामा दाजु पर्ने खगेन्द्र,गोकर्णहरु भेट्न आएका थिए ।

सुरेश हाम्रो घरमा रामैसंग समायोजित भयो । जुम्ली बाबुसाहेबहरुको बोलीवचन हाम्रो चालचलन र बोलीचाली अनुरुप थियो । उसले छिटै हामीसबैको मन जित्यो । घरमा ऊ हाम्रो परिवारको अभिन्न थियो । ऊ परिवारको एक सदस्यको रुपमा स्थापित भयो । तिहारमा छोरीको हातबाट भाइटीका लगायो । ऊ पनि सन्तुष्ट थियो । उसले ३ राम्रोसंग उत्तीर्ण गर्यो । कक्षा ४ मा भर्ना भयो । हाम्रो पनि सुरेश प्रति विश्वास बढ्दै गयो ।

तर कक्षा ४ मा पुगेपछि उसले पढाईमा ध्यान केन्द्रीत गर्न सकेन् । हामीले राम्रोसंग पढन सल्लाह दिन्थ्यौ तर कक्षा ४ को पहिलो त्रैमासिक र दोस्रो त्रैमासिक दुवै जाँचमा ऊ फेल भयो । कक्षा शिक्षकसंग बुझ्दा गर्दा पहिले जस्तो पढ्न मन गर्दैन खालि लास्ट सिटमा बस्न खोज्छ भन्नुभयो । मैले उहाँलाई सुरेशलाई राम्रो पढ्ने विद्यार्थीसंग राखिदिन अनुरोध गरे र उहाँले त्यसै गरिदिनु भयो । हामीलाई लागेको थियो सबै कुरा राम्रो हुँदैछ तर बिहान ६ः३५ सधै विग मार्टबाट दुध र तरकारी ल्याउने सुरेश भान्सामा नआएपछि कथाले अर्को मोड लियो ।

******************************************************

सुरेशको कोठा जाँच गरेपछि हामीलाई एकिन भयो,सुरेश भाग्यो । राजधानीमा संरक्षकत्व ग्रहण गरेको अभिभावक भएकोले उसको खोजी गरी सकुशल परिवारमा बुझाउनु मेरो कर्तव्य थियो । उसको खोजी कहाँबाट थाल्ने मेरासामु ठूलो प्रश्न तेर्सियो । केही जानकारी घरबाट पाउन सकिन्छ कि भनेर मैले कलेज गएका विजय चौधरीलाई बोलाए । उनी ५ वर्षको उमेरदेखि मैसंग बसेर कक्षा १ देखि पढ्दै हाल एम्बिसन कलेजमा बीसीए पढिरहेका छन् । सुरेशले अघिल्लो दिनमा वा बेलुका उनीसंग कुनै कुरा गरेको थियो वा गुनासो गरेको थियो वा कोही भेट्न आएको थियो वा उसका कुनै आफन्तको नाम नम्बर विजयसंग भए नभएको बारेमा सोधीखोजी भयो ।


त्यस्तो कुनै संकेत नभएपछि बिजय र म दुवैजना गए कुमारी मन्दिरमा रहेको प्रहरी विट कार्यालयमा अन्दाजी १३ बर्षको सुरेश शाही बिहान घरबाट रु. ५०००।– पैसा लिएर भागेको रिर्पोट लेखायौ । सो कार्यालयका प्रमुखले मलाई महाराजगंज प्रहरी वृतमा निवेदन दिन सुझाव दिनुभयो । त्यसपछि हामी महाराजगंज कार्यालयमा खोज तलासको लागि निवेदन दिन गयौं तर कार्यालय १० बजेमात्र खुल्ने जानकारी पाएपछि हामी घर वा अन्य शहरतिर जाने मनशायले सुरेश बसपार्क तिर गएको छ कि भनेर न‘या बसपार्क गोंगबू गयौं । हामीले बसपार्कका प्रत्येक काउन्टरमा फोटो देखायौं र भेटेमा नजिकको प्रहरी वा यो मोवाइल नं. ९८१४२२८५२७ मा खबर गरिदिनहुन सबै संग अनुरोध गर्यौ । १० बजे हामी महाराजगंज प्रहरी वृत कार्यालयमा आएर खोज तलासको लागि निवेदन दियौं र प्रहरीलाई सबै सुनायौं ।
त्यसपछि हामी सुरेश पढ्ने स्कुलमा गयौं । त्यहाँ हामीले विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र उसका नजिकका वा उसंगै बेन्चमा बस्ने साथीहरुसंग घरबाट भागेको जानकारी दियौं । कक्षा शिक्षकले उसले पढ्न गाह्रो मानेको बताउनुुभयो । साथीहरुसंग त उसले यसपाली फाइनल दिन्न । अब म पढ्दिन पैसा कमाउछु । एक जना दाई हुनुहुन्छ उहासंग जान्छु भनेको रहेछ । उसले साथीहरुलाई रु ५००।– को नोट र मोबाइल पनि देखाएको रहेछ । मैले भने “मोबाइल र पैसा हामीले दिने गरेको छैन” यही कुरा हामीलाई माहाराजगंज प्रहरीमा आएर जानकारी गरायौं । र सोही दिन १ बजे हामी फेरि बसपार्क गयौं किनकि जुम्ला, सुर्खेत, नेपालगञ्ज लगायतका पश्चिम क्षेत्रमा जाने बसहरु २ बजे प्रस्थान गर्थे । हामीले हरेक बस चढेर हेर्ने काम गर्यौं कतैपनि नदेखेपछि निराश भएर घर फर्कियौं ।

******************************************************

सुरेश फर्केर आउने आशा भएपनि तुरुन्तै भेटिने संभावना टाढिदै गएपछि भतिज नारायण बिष्टमार्फत सुरेशको घरमा ऊ घरबाट भागेको खबर दिन लगायौं । त्यस दिन बेलुकी दानबहादुरजीको फोन आयो र मैले सबै विस्तारमा सुनाए । उहाँले “सरले राम्रोसंग राख्नु भएको थियो, मोराले अफ्नो भाग्य बिगा¥यो” भन्नुभयो ।

परिवारलाई जानकारी दिएपछि कसैले केही लोभलालच देखाएर लगेको छ कि भनेर पत्ता लगाउन २४ गते शुक्रबार उसको फोटोको प्रतिलिपी निकालेर टोलका मुख्य ठाँउमा टास्ने निधो गर्यौं । फेसबुक र भाइबरमा उसको फोटोसहित हराएको सूचना राखेर खोेजिदिन अनुरोध गरियो । नगर सभासद् रहनुभएका छिमेकी राम पाण्डे र श्रीमती सुमित्रा त्रिपाठी(पाण्डे)संग खोजीमा सहयोग गरिदिन अनुरोध गर्दै निवासमा पुगियो । उहाँहरुले चिनजानका सबैलाई खोजतलास गरिदिनुहुन आग्रह गर्नु भयो । हाम्रो बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ को फेसबुक र वेभसाइटमा फोटोसहित सूचना राखेर खोजी गरियो । साथै महाराजगंज प्रहरी कार्यालयमा केही खबर पत्ता लाग्यो कि भनेर बुझ्न पनि गए । तर कुनै पत्तोफाँट लागेन ।

सुरेशले घर छोडेको भोलिपल्ट २४ गते रातिबाट मेरो तनावका दिन सुरु भए । त्यसै दिन राति सुरेशको नातेदारको जुम्लाबाट फोन आयो “सुरेश कहाँ हरायो?” भनेर । मैले “सुरेश हराएको हैन स्वेच्छाले भागेर गएको” भने । उहाँहरुले कस्तो कस्तो शब्द प्रयोाग भयो मैले उच्चारण समेत गर्न सक्दिन । त्यै पनि मैले सम्झाउदै भने “मैले छोरा जस्तो पढाएर राखेकोलाई म जसरी भएपनि खोजतलास गर्नेछु । ”
२५ गते शनिबार साथीहरुसंग बसेर कसरी खोजतलास गर्ने भन्ने छलफल गरियो । हाम्रो वरिपरिकोे बस स्टप, टंगाल, कपन, चावाहिल, बालाजु बसपार्क, बूढानिलकण्ठ आदि ठाउंमा फोटो सहितको सूचना र सम्पर्क नं सहितको पोष्टर टांस्ने काम गरियो । बसपार्कमा एक प्रहरीको मद्दतबाट हरेक काउन्टरमा फोटो देखाएर सोधखोज खबर गर्यौं । प्रहरी साथीले उक्त फोटो देखाएर भन्नुभयो “यो केटालाई भेट्ने वित्तिकै प्रहरी विटमा ल्याइदिने र मोबाइल नं ९८१४२२८५२७ सम्पर्क गर्ने” भन्नुभयो ।

छोरो हराएको पीरमा पर्नुभएका सुरेशका बाबुआमाबाट तारन्तर “हामीलाई कि सुरेशको लाश चाहियो वा शाससहितको मान्छे चाहियो” भन्ने फोन आइरहे । मैले भने “हेर्नुस्, सबै साथीभाई प्रहरीहरु आफ्नो क्षमताले भ्याएसम्म लागि पर्नु भएको छ,सुरेश छिट्टै पत्ता लाग्नेछ ।” फोनबाट आउने धम्कीपूर्ण सन्देशले मेरो परिवारलाई मानसिक तनाव दिने क्रम रोकिएन । भोलिपल्ट २६ गते आइतबार मैले नेपाल टेलिभिजनबाट सूचना निकाल्नको लागि बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपमा गएर फोटो सहित निववेदन दिए । उहाँहरुले “सोमबार नेपाली समाचारपछि यसको फोटो सहित सूचना प्रसारण हुन्छ” भन्नुभयो र नेपाल टेलिभिजनबाट प्रशारण पनि भयो ।

नगर सभासद् तथा वडा सदस्य श्रीमती सुस्मीता त्रिपाठी(पाण्डे)ले धैर्य हुन सम्झाउनुभयो । त्यसपछि वडा नं. ८ का अध्यक्ष माधव पौडेललाई लिएर हामी बाअधिकारकर्मी प्रदीप डंगोलकहाँ पुग्यौ । उहाँले स्कूलमा पढ्ने सुरेशका ३ जना साथीहरुसंग अलग्गै सोधखोज गर्नुभयो । उनीहरुले डंगोलजीलाई पनि पहिले हामीसंग भनेका कुरा दोहोर्याएछन् ।

त्यसपछि हामी फेरि महाराजगंज प्रहरी कार्यालय गयौं । यो केश प्रहरी निरिक्षक अनिता महतले हेर्नुभएको रहेछ । उहाँले सबैले आफ्नो—आफ्नो ठाउ‘बाट खोज तलास गर्नुपर्ने सुझाब दिनुभयो । यता सुरेशको कुनै सुराक भेटिदैन, उता घरबाट “तिमीहरुले बेचेको हो कि रीसको आवेगमा कुटपीट गरेर भवितव्यमा पारेको हो कि गाडीबाट कुल्चेर मारेको हो कि लुकाएर मृगौला बेच्ने दलालकहाँ पु¥याएको हो कि” भन्ने जस्ता आरोपहरु निरन्तर आउन थाले । हामी मर्माहत थियौं । तैपनि धैर्य टुटेको थिएन । सुरेश एक दिन सकुशल भेटिन्छ भन्ने मेरो विश्वास भने रहिरहेको थियो ।

यही बिचमा मिति २०७६ चैत्र १ गते शुक्रबार कान्तिपुर दैनिकमा सुरेश हराएको बारेमा समाचार प्रकाशित भयो । तैपनि उसको केही खबर आएन । मलाई आउने हरेक फोनमा सुरेश पाइएको सन्देश आएको छ कि भन्ने उत्साह हुन्थ्यो । तर अधिकांश फोनहरु उसका आफन्तबाट निराशाजनक शब्दमा गाली गलौजका हुन्थे । तनावै तनावका बीच हामीले उसको खोजीलाई निरन्तरता दियौ । कहिले घर निर्माण भएको ठाउमा इँट्टा, बालुवा बोकेको छ कि हेर्न पुगिएन किन साना साना होटल र रेष्टुराँहरुमा भाँडा माझेर बसेको छ कि भनेर खोजिएन कि कहिले भक्तपुर कहिले बालाजु, किर्तीपुर, कालिमाटी रुटमा चल्ने गाडी र कहिले माइक्रो बस चढेर कन्डक्टर वा ड्राइभरलाई फोटो देखाएन कि आफ्ना नातेदार, साथीभाई छरछिमेकीहरु सबैलाई फोटो देखाएर पठाएर, भाइबर, फेसबुक र म्यासेन्जरबाट सन्देश पठाएर खोजी गरिदिन आग्रह गरिएन कि ? सुरेशको खोजीमा कुनै कसर बाँकी राखिएन । हाम्रो प्रयास देखेर प्रहरीका हाकिमहरु पनि भन्थे, “मान्छे हराएको सूचना दिने मान्छेहरु त धेरै आए र तपाईहरुले जस्तो लागिपरेर खोजेको चाँही देखिएको थिएन ।”

******************************************************

त्यही बीचमा वैशाख ४ गते मेरो छोरीको विवाह गर्ने निर्णय हुन पुग्यो । तर उनैले भाई मानेर टिका लगाएको सुरेश घरैबाट हराएको र उसका परिवार र आफन्तबाट आउने चिन्ता र भययुक्त फोनहरुले हामीमा छोरीको विवाहप्रति पनि त्यति उत्साह थिएन । यही कुरा मैले राम पाण्डे र सुस्मिता त्रिपाठी (पाण्डे)लाई पनि भने । उहाँहरुले नआत्तिनुहोस् “त‘पाईले आफूले भ्याएसम्म खोजतलास गर्नु भएकै छ वडा लागेकै छौ, प्रहरी प्रशासन पनि लागेको छ, अब विवाहको काम अघि बढाउनुहोस्” भनेर हौसला दिनुभयो । यहि कुरा प्रहरी निरिक्षक अनिता महतले पनि भन्नुभयो । उहाँहरुको ढाडसपछि मलाई छोरीको विवाहमा सक्रिय हुने ऊर्जा पैदा भयो ।


यही बीचमा सुरेशका आफन्तहरुले म, मेरो श्रीमती, मेरो छोरा र मकहाँ बस्ने बिजय चौधरीलाई मुद्दा हाल्ने धम्की दिए । विवाहको तयारीमा लागेको बेला आएको यो धम्कीले थप तनाव दियो । मैले यो जानकारी असाध्यै निकटका वकिल साथीलाई दिए । उहाँले “नआत्तिनुहोस मुद्दा हाले भने हामी छदैछौ नि” भनि डाढस दिनुभयो ।

यसै बीचमा सुरेशको दाजु पर्ने पे्रम शाही र खगेन्द्र शाही सुरेशको कुरा बझ्न मेरो घर आउनुभयो । मैले सबै कुरा बताए पछि उहाँहरुले भेट्न खोजेको व्यक्तिहरुलाई बोलाएर भेटाइदिए । प्रहरी कार्यालयमा हामीले खोज तलास गरेको बारेमा प्रहरी निरिक्षकले सबै कुरा बताउनु भयो ।
छोरीको विवाहको अघिल्लो दिन पनि सुरेशका परिवारबाट फोन आयो । मुद्दामामिलाको धम्की आयो । जन्ती आउने अघिल्लो रात पनि म राम्ररी सुत्न पनि सकिन । मनमा सुरेशको चिन्ता बोकेरै छोरी अन्माइयो । विवाह राम्रैसँग सम्पन्न भयो ।

बिबाहको लागी मरो आफन्तहरु विदेशबाट आउनु भएको थियो । उहाँहरु धेरै पछि नेपाल आउनुभएकोले उहाहरुलाई घु्म्नको लागी मैले नै आग्रह गरेर उहाँहरुलाई पोखरा, मुक्तिनाथ, भारतको सिरडी साईबाबा दर्शनको लागी भमण लगे । म भ्रमण जादा पनि मैले महाराजगंज प्रहरी कार्यालय गएर म भ्रमण जान लागेको कुरा प्रहरी निरिक्षकलाई बताएर गएको थिए । भगवान दर्शन गर्दा पनि सुरेशलाई पत्तालगाइदिनुस भगवान भन्नु बाहेक मैले केही मागिन । भगवानलाई मैले कुनै एक अदृश्य शक्तिको रुपमा लिएको छु । मलाई विश्वास थियो, भगवानसंग प्रार्थना गर्यो भने त्यो सुनिन्छ । त्यसले मेरो आत्मविश्वास भने बढाएको थियो । आत्मविश्वास बढाएर हामी भारतबाट फर्कियौ ।

******************************************************

सुरेश हराएको ३ महिना बितिसक्यो कतै केही सुराक पाउन सकेको छैन । कहिले काँही मनमा तर्कना आउथ्यो, सुरेश ढिलो चाँडो सकुशल भेटिए त ठिकै छ तर साँच्चै भटिएन भने के हुन्छ ? जीन्दगीभर अपराधबोध वा पश्चातापमा बस्नुपर्ने अवस्था पो आउछ कि ।
यहि बीचमा भाइको घरमा बसेको रमेशलाई उनीहरुको आफन्त आएर कागज गराएर जुम्ला लगेछन् । भाई रमेशलाई लिएर जाँदा मेरो भाइबुहारीलाई उनीहरुले “अब हामी उहाँलाई मद्दा हाल्दैछौ तँपाई तटस्थ बस्नुहोला” भनेर गएका रहेछन् । केही बर्ष राखिदिएको भए रमेशको भविष्य पनि बन्ने थियो । दाइले भागेर भविष्य बिगारेको र भाइलाई अनायस फिर्ता लगेर भविष्य बिगारेको देख्दा मलाई त्यो परिवारमाथि निकै दया लागेर आयो । उनीहरु भने हामीमाथि मानव बेचविखन, बालअधिकारसम्बन्धी विषयमा मुद्दा हाल्ने तयारी गरेका रहेछन् ।


यहीबीचमा एक बाल अधिकारी संस्थाबाट फोन आयो “तपार्इँकहाँबाट सुरेश शाही भन्ने बच्चा हराएको रहेछ” मैले भने “सुरेश शाही बच्चा होइन १३ वर्ष को केटा हो । ऊ आफूखुसी हिडेर भागेको हो यस सम्बन्धमा बुभm्न पर्यो भने महाराजगंजको प्रहरी वृतमा सम्पर्क गर्नुहोला ।”

सुरेशको खोजीमा कार्पेट बोकेर टोलटोल घुम्ने जुम्ली व्यापारीहरुलाई पनि सुरेशको फोटो देखाइएन कि ज्योतिष वा जान्ने व्यक्तिलाई भेटिएन कि ? थरिथरीका ज्योतिषीले कसैले खलासी भएर हिडेको छ भने कसैले पोखरा कास्की जिल्लामा बाहिर ननिस्कने गरि राखिएको छ भने । ऊ ज्यूदो छ भन्ने अभिव्यक्तिले भने हामीलाई ठूलो राहत दिन्थ्यो ।

यसै बिषयमा बुझ्न एकदिन मलाई रा.स.स. को प्रतिनिधिको फोन आयो । मैले पनि उ मेरो सम्पर्कमा आएदेखि हराएको र खोजतलासका पछिल्ला अवस्थाबारे यर्थाथ विवरण सुनाए । उहाँले “सरले भलो गर्न खोज्नु भएको रहेछ तर कसैले पनि बुझ्दैन भनेर बताउनुभयो ।”
तर भोलिपल्ट हुलाकीसमाचार डट कममा रा.स.स. को प्रतिनिधिबाट ५ महिनादेखि काठमाडौंबाट एक बालक सम्र्पक बिहिन खोजी गरिदिन आग्रह भनेर एउटा लेख छापिएको रहेछ । त्यसमा लेखिएका अरु विवरण ठिकै थिए, मैले सुरेशलाई उसको बुवाआमासंग जुम्ला गएर जिम्मा लिएर आएको बाहेक । म जुम्ला गएको छैन । उ मकहाँ आउदा सुरेशको बुवाआमासंग मेरो भेट भएको थिएन ।

त्यही दिनमा मलाई हनुमान ढोकाबाट फोन आयो“तपाइकँहाबाट बच्चा हराएको रहेछ कहाँ निवेदन दिनुभएको छ ” भनेर । मैले भने “बच्चा हराएको होइन आफू राजीखुसी हिडेर गएको हो मैले निवेदन महाराजगंज प्रहरी वृतमा दिएको छु ।”

म हरेक दिन जस्तो महाराजगंज प्रहरी जान्थे । प्रहरीहरु भन्थे,सबै बालबालिका पत्ता लागि सके किन यो सुरेश पत्ता लाग्दैन? एकदिन उहाले स्कुलको शिक्षकसंग पुन सम्र्पक गर्ने भन्नुभयो । यहि बिचमा मेरो श्रीमतीको पनि बयान लिने कुरा आयो । अर्को दिक्दारी लाग्ने कुरा थियो त्यो । हामीले त निस्वार्थभावले सानो सहयोगले कसैको भविष्य बन्छ कि भनेर सुरेशलाई आश्रय दिएका थियौ । तर भलो चिताउदा चिताउदै यस्तो दिन पनि आयो । खोजतलास काममा प्रहरीलाई सहयोग गर्नुपर्छ भनेर श्रीमतीलाई प्रहरी कार्यालय महाराजगंज लगेर बयान दिन लगाइयो ।

यही बिचमा प्रहरी सहायक निरिक्षक प्रेम गुरुङले डीएसपी सरले भेट्न खोज्नुभएको भन्नुभयो । म तुरुन्तै महाराजगंज प्रहरी कार्यालय पुगे । उहाँले “मैले सरको निवेदन र हाम्रो खोजतलास सबै बुझे । एकचोटी उसका साथीहरुसंग सम्र्पक गरौ” भन्नुभयो । यसपटक विद्यालय जाँदा परिक्षा सकिएर गर्मीको बिदा भएको रहेछ । प्रधानाध्यापक र अन्य शिक्षकहरुसंग भेट भयो । मैले उहाँलाई सबै कुरा सुनाएर मलाई मानसिक तनाव भएको पनि बताए । उहाँले भन्नुभयो “अहिले विद्यालय छुट्टी छ । २०७६ अषाढ २९ गते खुल्छ । पहिलो दिन विद्यार्थीहरु त्यति नआउन सक्छन् । हजुर सोमबार अषाढ ३० गते ११ बजे आउनुहोला ।”

२०७६ आषाढ ३० गते १००० बजे तिर प्रहरी सहायक निरिक्षक प्रेम गुरुङ ज्यूले फोनमा भन्नुभयो, “हजुर घरमै हुनुहुन्छ” मैले भने “ मैले घरमै छु” । उहाँ आउनुभयो र सुरेशको खोजीको सराहना गर्दै भन्नुभयो,“हराएको धेरै भयो उनीहरुका मान्छेले सरलाई मुद्दामामिलामा र झमेलामा पार्न सक्छन्।”


यसै बिचमा मैले उहालाई सोही दिन प्रधानाध्यापकले विद्यालयमा बोलाउनुभएको बताए । एक प्रहरी सहयोगको साथमा उहाँ, म र बिजय चौधरी आषाढ ३० गते स्कुल गयौं । प्रधानाध्यापकले सुरेश पढ्ने तत्तकालीन कक्षा ४ का कक्षा शिक्षकलाई बोलाउनुभयो । उहाँले “हैन त्यो केटा अझ पनि सम्र्पकमा आएन” भन्नुभयो । मैले भने “मलाई कस्तो तनाव भएको छ, भेटेको छैन” । त्यसपछि उसको कक्षा ४ को कक्षा शिक्षक र प्रहरी सहायक निरिक्षक प्रेम गुरुङ उसका विगतका सहपाठीहरुसंग सोधपुछ गर्न कक्षामा जानुभयो । एक प्रहरी र म प्रधानाध्यापकको कोठामा बस्यौ । त्यसैबीच कक्षा शिक्षकले यो केटालाई एक ढेड महिना पहिले विद्यालयबाहिर साथीहरुसंग देखेको बताउनुभयो । यो सुनेपछि ममा अलि आशा र उत्सुकता बढ्यो । यही बीचमा स्कुलमा कार्यरत एकजना आया दिदी आउनुभयो । उहाँले सुरेशसंग एक ढेड महिना अगाडि आधा घण्टा आफैले कुरा गरेको बताउनुभयो । मैले के कुरा गथ्र्यो भने “उहाले एउटा होटलमा काम गर्छु रु २० हजार जति कमाएको छु भन्यो । यो कुरा केही मिसहरुलाई थाहा छ ”भन्नुभयो । मैले भने मैले यत्रो जानकारी दिएर गएकोमा कसैले सुरेशको खबर गरिदिनुभएन भनेर दुख व्यक्त गरे ।

यसपटकको विद्यालयको सम्पर्कले सुरेश राजधानीमा रहेको, भागेर नगएको र कसैले अपहरण नगरेको पुष्टि भयो । एक ढेड महिना अगाडि सुरेश सम्र्पकमा आएकोले ढिलो चाडो ऊ भेटिने विश्वास बढ्यो। एकछिन पछि प्रहरी सहायक निरिक्षक गुरुङ्ले एक ढेड महिना अगाडि साथीहरुको सम्र्पक रहदा उसले मनोज भन्ने साथीलाई आफू काम गर्ने होटलको कार्ड पनि दिएका बताउनु भयो । त्यस दिन मनोज विद्यालय आएका रहेनछन् । हामीले उसको अरु दुई साथी अभिषेक र कर्ण चौधरीलाई मनोजको घरमा गएर कार्ड पाइन्छ कि भन्ने आशले टिफिन टाइम दिउसो १३० बजे लिएर जाने निर्णय गर्यौं । म र बिजय १२० मा विद्यालय पुग्यौं । प्रहरी सहायक निरीक्षक प्रेम गुरुङ सिधै मनोजको घरमा आउछु भन्नुभयो । हामीले त्यहाबाट अभिषेक र कर्ण चौधरीलाई स्कुलको सहमतिमा मनोजको घर देखाउन लग्यौं । मनोजको आमा बुबा गंगालाल अस्पताल अगाडि एउटा सानो होटल चलाएर बस्नुहुदो रहेछ । त्यहा पुगेपछि मनोजका साथीले मनोजलाई सुरेशले दिएको कार्ड छ भनि सोधे । उनले खै त्यो कार्ड त फाल्दे क्यारे भने । फेरि हैन, कोठाको पाइन्टमा राखेको छु कि भने कोठामा हेर्न प्रहरी सहायक निरिक्षक प्रेम गुरुङसंग बिजय उसका दुई साथी अभिषेक र कर्ण चौधरी गए । म तल सडकको पेटीमा उभिइराखेको थिए, कार्ड भेटिने आशामा । उहाँहरु फर्किनु भयो तर कार्ड भेटिएन ।

गाडिमा आउदा अभिषेक भाइले कर्णले सुरेशको फोन नम्बर टिपिराखेको छ भनेका थिए । मैले कर्णलाई सोधे “नम्बर टिपेर राखेका छौ ?” कर्णले घरमा टिपेर राखेको छु भनेर आशाको एउटा किरण फेरि जगाए । हामी सबै कर्ण चौधरी बस्ने घर धापासी तिर लाग्यौं । कर्णले कोठामा गएर कार्ड लिएर आए मैले यसबाट नम्बर टिपेको भनेर कार्ड देखाए । मनोजले भने हो यहि कार्ड हो मलाई पनि सुरेशले दिएको ।
उक्त कार्ड प्रहरी सहायक निरिक्षकले हेर्नुभयो । त्यसमा एउटा होटलको नाम “न्यू पर्वत फिस्टेल गेष्ट हाउस एण्ड रेष्टुरेन्ट” लेखिएको थियो । उहाँले सुरेशको साथी अभिषेकलाई “म सुरेशको साथी एक चोटी सुरेशलाई भेट्न पर्यो भनेर कुरा गर भनेर” भन्नुभयो र अभिषेकले पनि त्यसैगरी फोन गरे । उताबाट म बाहिर छु भन्ने जवाफ आयो । प्रेम गुरुङले भन्नुभयो, “सर अब सुरेश भेटिन्छ ।”मलाई पनि लाग्यो, उक्त व्यक्तिबाट सुरेश छैन भन्ने खालको जवाफ आएन ।

यहीबीचमा प्रहरी सहायक निरीक्षक प्रेम गुरुङ्ले एक प्रहरी सहकर्मीलाई पनि बोलाउनु भयो । हामी मनोजलाई उसको घरमा र दुई विद्यार्थी भाइहरु अभिषेक र कर्णलाई विद्यालयमा छोडेर सुरेशको बारेमा जानकारी दिने कार्डमा उल्लेखित ठेगानालाई खोज्दै गोंगबू नयाँ बसपार्क संगम टोल काठमाडौंतिर लाग्यौ । नयाँ बसपार्कको उत्तर पट्टी रिङरोड पारी हामीले गाडी रोक्यौं । म र विजय गाडीमा बस्यौं । प्रहरी सहायक निरिक्षक प्रेम गुरुङ र अर्का उहाँका सहकर्मी प्रहरी होटल पत्ता लगाउन जानुभयो । ५ मिनेट पनि नबित्दै प्रहरी साथीले मलाई हातले इसारा गरेर बोलाउनु भयो । म बिजय पनि उहाँसंगै (गल्ली भित्र) मोटर नजाने बाटो भित्र गयौं ।

प्रहरी साथीले भन्नुभयो, “भेटियो सर” । मैले बुझे,“ होटल भेटियो” तर उहाँले भन्नुभयो, “सुरेश भेटिसक्यो ।” मलाई अत्यन्त खुसी लाग्यो । तर आफ्नो आँखाले सुरेशलाई नदेखेसम्म केही पनि व्यक्त गर्न सकिन । होटल पुगेपछि प्रहरी सहायक निरिक्षक प्रेम गुरुङले भन्नुभयो,“विष्ट सर यही हो सुरेश शाही ।” यसो हेरे, सुरेश शाही आफ्नो अगाडी सपना हो कि विपना ठम्याउन सकिन । ५ महिनाको मानसिक तनावपछि आफ्नै अगाडी सकुशल उभिएको सुरेश शाहीकाप्रति व्यक्त गर्ने शब्द मसंग थिएन । उसलाई सान्त्वना दिने शब्द त मलाई आएन तैपनि आफूले भोगेको तनावको पिडालाई शान्त पार्ने उद्देश्यले सोधे, “किन त भागेको? खबर किन नगरेको ??” उ घोप्टो पर्यो । मेरा प्रश्नहरुको उत्तर दिएन । प्रहरी सहायक निरिक्षक प्रेम गुरुङले सोध्नुभयो उसले केही बोलेन ।

होटल सञ्चालकसंग सम्पर्क गरेर उसको अबस्था बुझाएपछि हामी सुरेशलाई लिएर महाराजगंज प्रहरी कार्यालयमा आयौं र प्रहरी सहायक निरिक्षक गुरुङ्ले सीधै डीएसपीको कक्षमा लिएर जानुभयो र सुरेश फेला परेको जानकारी गराउनुभयो । उहाँले यससम्बन्धी अनुसन्धानकर्ता प्रहरी निरिक्षक अनिता महतलाइ सुरेशलाई उसका नातेदारको जिम्मा लगाई दिनु भनेर निर्देशन दिंदै भन्नुभयो,“विष्ट सर तपाईलाई साह«ै तानव भया,े यसले गर्दा ।” मैले भने,“तनावभन्दा आज हजुरहरुको सहयोगबाट यसलाई भेटाउन सफल भए हजुरहरु सबैलाई धन्यवाद ।”

अनुसन्धानकर्ता अनिता महतले किन भागेर हिडेको भन्ने प्रश्न सुरेशलाई गर्नुभयो तर उ नबोली बस्यो । उहाँले सुरेश भेटिएकोसम्बन्धी विभिन्न सरोकार केन्दहरुलाई जानकारी गराउनुभयो । सुरेशको फुपू नाता पर्नेलाई सुरेश भेटिएको र बुझ्न आउनु भनि खबर गर्नुभयो । त्यही बिचमा मैले पनि घरमा, मेरा नजिकका साथीहरु तथा भतिज नारायण विष्ट, दानबहादुर र मानबहादुरलाई सुरेश शाही भेटिएको खबर सुनाए । केही समय पछि उसको फुपु पर्ने दाना हमाल उहाँको श्रीमान् र सुरेशको दाई नाता पर्ने तेजबहादुर शाही आउनु भयो । त्यहा एउटा कागज प्रहरीले गराउनुभयो । यहि बिचमा मैले मलाई मलाई मदत गर्ने श्रीमती सुमित्रा त्रिपाठी पाण्डे वडा सदस्य नगरसभासद तथा बाल अधिकारकर्मी प्रदिप डंगोललाई पनि प्रहरी कार्यालयमा ल्याएको थिए । कागजमा जिम्मा लिने फुपु नाता पर्ने दाना हमाल र दाजु नाता पर्ने तेज बहादुर शाही र बुझाउने म बलराम विष्ट तथा साक्षीमा बाल अधिकार कर्मी प्रदिप डंगोल र नगरसभासद तथा वडा सदस्य श्रीमती सुमित्रा त्रिपठी(पाण्डे) सबैबाट हस्ताक्षर गरी मैले सुरेशको हात समाएर उसलाई सकुशल दाना हमालको हातमा दिए । फोटो पनि खिचियो ।


यसरी छोरो स्थान बनाएर बसेको सुरेश हराएर पछि सुरु भएको मेरो परिवारको मानसिक तनाव १ सय ३१ दिनको निरन्तर प्रयासपछि सकुशल सुरेश भेटिएर समाप्त भयो । तर अफसोच । छोरो भेटिएपछि पुन ऊसंग विछोड हुनुपर्यो । ऊ अब आफ्ना बाबुआमाको काखमा पुगेको छ । उसको उज्ज्वल भविष्यको कामना बाहेक केही गर्न सक्ने अवस्था हामीसंग रहेन । सुरेशको खोजीमा सघाउनुहुने सबैलाई धन्यवाद ।
******************************************************

मलाई अझै कताकता लागिरहन्छ, ‘छोरोको स्थानमा बसेर पढ्ने सुविधा पाउँदा पाउँदै उसले भविष्यलाई लात मारेर किन होटल रेष्टुँरामा कामदार हुने विकल्प रोज्यो । कतै उसको मनमा जरो गाँडेको घरको गरिबी हटाउन कमाई गर्ने रहरले पो उसलाई आफ्नो भविष्यमा केन्द्रित हुन दिएन कि !’

Share Now

Leave a comment.