काठमाडौं, १६ भाद्र । नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटीएमबाट साढे ३ करोडभन्दा बढी पैसा अनधिकृत रुपमा निकाल्ने चिनियाँ लुटेरा समूहका थप ४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार शनिबार पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो भने अर्को एक जनालाई अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको हो ।
एटीएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये एकजना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए भने अरु सोमबार पक्राउ परेका हुन ।
पक्राउ परेका ह्याकर ग्याड.का सदस्यहरुको बयानका आधारमा नेपाल प्रहरीले नेपालका बैंकहरुको एटीएम ह्याक गरी झिकिएको रकम साटेर डलर दिने ठमेलका दुईबटा मनि एक्सचेन्जका तीन जना सञ्चालक पक्राउ. गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी हुनुहुन्छ।
चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ डलर लिएका थिए ।
स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिनुभएको छ ।


















