Prakash Adhikari September 3, 2019

सञ्जय ढकाल / बीबीसी न्यूज नेपाली

काठमाडौं,१७ भाद्र । केही महिनाअघिसम्म पनि भारतको अर्थतन्त्र विश्वमै तीव्र दरले बढिरहेको ठूलो अर्थतन्त्र थियो।

नरेन्द्र मोदी नेतृत्वको सरकारले अर्थतन्त्रमा लिएका गम्भीर निर्णहरूलाई कतिपयले आर्थिक सुधारमा फड्को भनिरहेका थिए।

प्रचलनमा रहेका ८५ प्रतिशत नगदलाई एकै झट्कामा अवैध घोषणा गर्नेदेखि लिएर देशभर एकैनासको वस्तु तथा सेवा कर लागु गर्नेसम्ममा निर्णयले अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने मानिएको थियो।

तर अचानक केही सातादेखि दिल्लीबाट अर्थतन्त्रका खराब सूचकहरू सार्वजनिक हुन थालेका छन्।

कस्तो सुस्ती?

सात/आठ प्रतिशतमा कुदिरहेको अर्थतन्त्रको गति पछिल्लो त्रैमासिकमा पाँच प्रतिशतमा झरेको छ।

गाडीदेखि लिएर दैनिक उपभोगका सामानको विक्री घटेका विवरण आएका छन्।

गाडी उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष करिब १० लाखले रोजगारी गुमाउन सक्ने भनिएको छ।

अमेरिकी अर्थशास्त्री एलन ग्रीनस्पानले अर्थतन्त्र सुस्त हुँदा पुरुषहरूको भित्री पोशाकको विक्री घट्ने गरेको भनेर एक मापदण्ड विकास गरेका थिए।

त्यो मापदण्ड अनुसार पनि अहिले भारतको अर्थतन्त्र समस्यामा परेको देखिने त्यहाँका अर्थविद्हरूले बताएका छन्।

गत साता भारतीय सरकारले उसको केन्द्रीय ब्याङ्क रिजर्भ ब्याङ्क अफ इण्डियासँग रहेको सञ्चित कोषबाट करिब २८ खर्ब रुपैयाँ बराबरको पैसा लियो।

भारतीय अर्थतन्त्र

जेलिएको अर्थतन्त्र, पाँच त्रास

राजनीतिमा दक्षिणी छिमेकीको प्रभावलाई लक्षित गर्दै चर्चित बनेको ‘दिल्लीमा पानी पर्दा काठमाण्डूमा छाता ओढ्नुपर्छ’ भन्ने भनाइ अर्थतन्त्रमा झनै सान्दर्भिक हुनसक्छ।

नेपालको अर्थतन्त्र छिमेकी भारतसँग धेरै तह र अर्थमा जेलिएको छ।

भारतीय अर्थतन्त्र सुस्त हुँदा अर्थशास्त्रीहरूका अनुसार नेपालका पाँचवटा क्षेत्रमा सबभन्दा गम्भीर असर पर्न सक्छ।

१. मुद्रा – अवमूल्यनको भार
नेपालको मुद्रा स्थिर विनिमय प्रणाली बमोजिम भारतीय रुपैयाँसँग जोडिएको छ।

अर्थात् भारु बढे नेपाली रुपैयाँ पनि बढ्छ, घटे घट्छ।

अर्थतन्त्र अमेरिकी डलर
भारु अवमूल्यन भएकै कारण अहिले नेपाली रुपैयाँ डलरसँग कमजोर भइरहेको छ।

दुई वर्षअगाडि एक अमेरिकी डलर बराबर १०२ नेपाली रुपैयाँ थियो भने अहिले त्यो ११४ पुगिसकेको छ।

अर्थविद् डा विश्वम्भर प्याकुर्‍याल भन्छन्: “जुन हिसाबको सुस्ती भारतमा आइपरेको छ, त्यो जारी रहे भारु अझ कमजोर हुनेछ। सँगसँगै नेपाली मुद्राको पनि अवमूल्यन हुनेछ।”

भारु कमजोर बने एक डलर बराबर १२० नेपाली रुपैयाँ पुग्न धेरै समय नलाग्ने कैयौँको डर छ।

आयातमा निर्भर नेपालको निम्ति यो निकै कष्टकर कुरा हो।

२. आयात/निर्यात – दोहोरो असर

नेपालले आयात गर्ने कुल परिमाणको लगभग दुई तिहाइ अनि नेपालबाट निर्यात हुने कुल परिमाणको पनि दुई तिहाइ भारतसँगै हुन्छ।

अघिल्लो आर्थिक वर्षमा नेपालले गरेको कुल अन्तर्राष्ट्रिय व्यापारको परिमाण १५ खर्ब रुपैयाँ थियो।

त्यसमध्ये झन्डै १० खर्ब रुपैयाँको व्यापार भारतसँग भएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले देखाउँछ।

भारतीय अर्थतन्त्र

“हामी कच्चा पदार्थदेखि लिएर हरेक किसिमका सामान भारतबाटै ल्याउँछौँ,” अर्थविद् प्याकुर्‍यालले बताए।

“त्यहाँ ती सामान विस्तारै महँगो हुने देखिन्छ। त्यसको सोझो असर हामीलाई पर्छ।”

अर्कोतर्फ भारतमा सुस्ती आएपछि त्यहाँ उपभोग्य सामानको माग घट्न सक्छ।

“नेपालले निर्यात गर्ने सामानको दुई तिहाइ भारतमै हो। त्यहाँ माग सुस्त हुनासाथ हामीलाई असर पर्छ,”अर्थविद् केशव आचार्यले बताए।

“साथै ती सामानको कच्चा पदार्थपनि महँगो हुन सक्छ। अर्थात् हाम्रा निर्यातको उत्पादन लागत बढ्न सक्छ।”

आयात-निर्यातमा पर्ने यस्तो दोहोरो असरले अहिले नै झन्डै एक वर्षको बजेट बराबर १३ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको नेपाललाई आउने दिनमा चुनौती थपिनेछ।

३. श्रम – बजारमा उथलपुथल

भारतीय अर्थतन्त्र

लाखौँ नेपाली भारतमा काम गर्छन्। लाखौँ भारतीय नेपालमा काम गर्छन्।

भारतीय अर्थतन्त्रमा आउने उतारचढावको यो श्रम बजारमा सोझो असर पर्न सक्छ।

आचार्य भन्छन्: “भारतमा तीन-चार महिना अगाडि भएको रोजगारीको सर्वेक्षणमा बेरोजगारीको दर एकदमै उच्च देखियो।”

“अब आर्थिक सुस्तता भन्ने बित्तिकै त्यहाँ बेरोजगारी झन् बढ्छ र कतिपय भारतीय कामको खोजीमा यता आउन सक्छन्। उनीहरूले सस्तोमा काम गरिदिँदा यहाँको बजारमा असर परिहाल्छ।”

भारतमै माग कम भइदिँदा त्यहाँ नेपालीको निम्ति रोजगारीको अवसर घट्ने सम्भावना पनि उत्तिकै रहन्छ।

४. लगानी – उत्साह र विश्वासमा खडेरी

नेपालमा विदेशी लगानीको ठूलो हिस्सा भारतीयकै छ।

जलविद्युतदेखि लिएर उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी उल्लेख्य छ।

भारतीय अर्थतन्त्र

त्यसमाथि आगामी दिनमा भारतीय लगानी झन् धेरै ल्याउने सरकारको नीति नै छ।

तर भारतमा अहिले विदेशी लगानीकर्ताहरूले विश्वास गुमाएर पैसा फिर्ता लग्ने प्रवृत्ति बढेको देखिन्छ। स्वदेशी लगानीकर्तापनि उत्साहित छैनन्।

लगानी मुख्यगरी विश्वासमा आधारित हुने गर्छ।

त्यो विश्वास भारतीय बजारमा धरमराउनुको अर्थ अब ती लगानीकर्ताले नेपालमा पनि आगामी दिनमा लगानीको योजना बनाउने सम्भावना घट्दै जानु हुनसक्छ।

साथसाथै अर्थतन्त्र सुस्त हुँदा आम भारतीयको विश्वास पनि डगमगाउन सक्छ। उनीहरूले फुरमाइस खर्च कम गर्दा विदेशमा जाने उनीहरूको सङ्ख्या कम हुन सक्छ।

अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने आशमा बसेको नेपाललाई त्यसले धक्का दिन सक्छ।

५. आर्थिक वृद्धिदर

यसअघि पनि आर्थिक कारोबार, वृद्धि र महँगी दर सबैमा भारतीय प्रभाव देखिएका हुन्।

“समग्रमा भारतको आर्थिक वृद्धिसँग नेपालको आर्थिक वृद्धिको सोझो सम्बन्ध रहँदै आएको पाइन्छ। त्यसैले त्यहाँ सुस्तता आयो भने हामी सतर्क हुनुपर्छ,” प्याकुर्‍यालको भनाइ छ।

यसपालीको बजेटमा नेपालले आठ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ।

“छिमेकमा सुस्ती आउँदा त्यो लक्ष्य पनि प्रभावित हुनसक्छ। हाम्रो आर्थिक वृद्धि भयो भने पनि त्यसको लागत बढ्न सक्छ। त्यसले धेरै महँगी बढाउन सक्छ,” आचार्यले बताए।

दुवै अर्थविद्ले आउने दिनमा नेपालका नीतिनिर्माताहरू – खासगरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा राष्ट्र ब्याङ्कले – भारतको अर्थतन्त्रबारे चनाखो भइ त्यसका असरबाट जोगिने उपाय खोज्न सुझाव दिएका छन्।

Share Now

Leave a comment.