कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ४ करोड ७३ लाख लुट्ने मास्टर माइण्ड काले भारतमा, १२ एजेण्ट समातिए
काठमाडौं, ८ असोज । चाइनिज ह्याकरहरुले करोडौं रुपैया लुटेको घट्ना सेलाउन नपाउदै भारतमा बसेका एक व्यक्तिले सोझा नेपालीलाई जालमा पारेर कृषि विकास बैंकको ४ करोड ७३ लाख ९६ हजार लुटेको रहस्योद्घाटन भएको छ ।
महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै काले नामले चिनिने पिटर भन्ने व्यक्तिको निर्देशनमा नेपालीहरु परिचालित भएर नेपाली बैंकबाट रकम निकाल्दै उसलाई पठाउने गरेको कार्यको जानकारी दिएको हो ।
भारतको मुम्बई बस्ने पिटरले ५ अर्ब लुट्ने योजनाका साथ लामो समयदेखि नेपालीलाई भारतमै बोलाई १० देखि ३५ प्रतिशतसम्म कमिशन रकम दिने कबुल गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको रकम ह्याक गरी रकम निकाल्न लगाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभएको छ ।
लुटेराहरुले कृषि विकास बैैक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल लगायतको बैंक तथा वित्तीय संस्थाहरुको क्रिडेन्सियल ह्याकिङ्ग गरी रकम निकाली रहेको अवस्थामा अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले १२ जना अभियुक्तलाई पक्राउ गरेको थियो । सोही गिरोहलाई महानगरीय अपराध महाशाखाले बुधबार सार्वजनिक गरेको हो।
सो गिरोहले कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ एक व्यक्तिको नाममा एउटा शाखाबाट अर्को शाखामा तथा कृषि विकास बैंकको खाताबाट अर्को बैंक खातामा समेत रकम ट्रान्सफर गर्न सफल भएको थियो । उक्त रकम ११ वटा खातामा ट्रान्सफर भएको थियो । उनीहरुले एउटा खातामा ९९ लाख रुपैयाँसम्म पठाएका थिए । यस्तै सो समूहले पानस रेमिट नयाँ बानेश्वरबाट समेत १२ लाख रुपैयाँ निकालेको थियो। त्यस्तै कैलाश विकास बैंकको १५ लाख, कैलालीको भजनी शाखाबाट १९ लाख रुपैयाँ निकालेका थिए।
महाशाखाले ह्याकिङ्ग मार्फत अन्य बैंक खातामा ट्रान्फर गरिएको रकम समेत रोक्का गरिएको र पक्राउ परेकाहरुबाट करिब ६० लाख रुपैयाँ बरामद गरिएको जनाएको छ ।
अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा संलग्न १२ जना अभियुक्तलाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङका ४३ वर्षीय लावाङ तामाङ, रसुवा नौकुण्डकी ४० वर्षीय लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षीय संजय घले, रसुवा नौकुण्डकी २० वर्षीय निर्मला तामाङ, रसुवा नौकुण्डकी १८ वर्षीय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षिय पुष्पराज खड्का, लमजुङ दोर्दीका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिकाका श्रवण कुमार श्रेष्ठ, भुक्तपुर ठिमीकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका ३० वर्षीय सुबन्कर पन्जा, कैलाली भजनीका २२ वर्षीय विजय साह, कैलाली भजनीका ४० वर्षीय चन्द्रबहादुर बुढा रहेका छन् ।
बैंक भन्छस ग्राहकको निक्षेप सुरक्षित छ
कृषि विकास बैंकले ग्राहकको निक्षेप सुरक्षित रहेको दाबी गरेको छ। बैंकका निमित्त नायब महाप्रबन्धक दीर्घ अर्यालले ग्राहकको निक्षेप सुरक्षित रहेको दाबी गरेका हुन्।
उनले भने, ‘ग्राहकको निक्षेप सुरक्षित छ। चोरी भएको रकम भनेको साउन र भदौ महिनाको व्याज आम्दानी र अन्य आम्दानी मात्रै हो। त्यसैले ग्राहकहरु अत्तिनुपर्ने अवस्था छैन्।’
लहान शाखाका सबै कर्मचारीहरुलाई हटाएर नयाँ टिमबाट सेवा
चोरीको घटना बाहिरिएसँगै कृषि विकास बैंकले लहान शाखाका सबै कर्मचारीहरुलाई हटाएर नयाँ टिमबाट सेवा दिईरहेको पनि बैंकका महाप्रबन्धक दिर्घ अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए।
घटनाबारे अनुसन्धानको लागि बैंकको ४ जनाको टोली लहान पुगिसकेको अर्यालले जानकारी दिए। पक्राउ पर्नेहरुमध्ये ४र५ जना बैंकको ऋणी समेत रहेको उनको भनाइ छ।
यसरी समातिए अपराधी, मुख्य योजनाकार काले अझै फरार
लुट प्रकरणमा ट्रान्फर गरि पठाएको उक्त रकम असोज ५ गते आइतबार पानस रेमिटेन्स नयाँबानेश्वरबाट ६०र६० हजारको दरले निकाल्दै गर्दा रेमिटेन्सका कर्मचारीलाई रकम निकाल्न लागेका एक ब्यक्तिमाथि शंका लागेपश्चात प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि पक्राउ परेका व्यक्तिले नुवाकोट मेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङले पठाएको बताएपछि प्रहरीले तामाङलाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लियो। त्यसपश्चात प्रहरीले रकमको अनुसन्धानको क्रममा कृषि विकास बैंकबाट झिकेको ३१ लाख रकम झिकेर सर्लाही हरिवनका ४२ वर्षिय पुष्पराज खड्कालाई राख्न दिएको बताएपछि कृषि विकास बैंकबाट रकम लुटिएको पत्ता लागेको थियो।
प्रहरीले ह्याकरहरुको जालो खोज्दै जाँदा ७२ घण्टाको अप्रशन पश्चात प्रहरीले १२ जना समात्न सफल भएको हो। यद्यपी काले भनिने पिटरलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। महाशाखाका एसएसपी थापाले मुख्य योजनाकार भनिएको कालेलाई समात्न विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरिने बताएका छना्।


















