Prakash Adhikari October 3, 2019

नयाँ दिल्ली(भारत),१६ असोज(बीबीसी)। सन् १९४० को दशकमा एउटा शक्तिशाली साम्राज्यलाई सेतो रङ्गको सामान्य वस्त्र लगाउने एक व्यक्तिले पराजित गरिदिए। मोहनदास करमचन्द गान्धी नाम भएका ती व्यक्तिलाई सबैले महात्मा भन्ने गर्थे।

त्यतिबेला भारत ब्रिटिश साम्राज्यअन्तर्गत थियो। ब्रिटिश साम्राज्यमा अन्य केही देशहरू पनि थिए। ब्रिटेनले नै ती देशहरूको कानुनलाई नै निर्धारण गर्थ्यो।

एक कुशल राजनीतिक अभियानकर्ताको रूपमा गान्धीले ब्रिटेनको शासनबाट भारतको स्वतन्त्रता र विपन्न जनताको अधिकारका लागि लडेका थिए।

अहिंसात्मक आन्दोलनको प्रतीक बनेका उनी आजसम्म पनि विश्वभरि सम्मानित छन्।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा हामी उनको जीवनका केही महत्त्वपूर्ण पक्षहरूको चर्चा गर्दैछौँ।

सम्पन्न परिवारमा जन्म

मोहनदास करमचन्द गान्धीको जन्म पश्चिमोत्तर भारतको गुजरात राज्यमा पर्ने पोरबन्दरमा अक्टोबर २ , १८६९ मा भएको थियो।

अक्टोबर २ मा भारतमा महात्मा गान्धीको १५०औँ जन्मजयन्ती मनाइएको छ ।

उनको जन्म सम्पन्न परिवारमा भएको थियो। उनका पिता मुख्यमन्त्री थिए।

गान्धी पोरबन्दर गुजरातमा जन्मिएका थिए
सात वर्षको उमेरमा गान्धी

उनकी आमा धर्मप्रति निकै आस्था राख्थिन्। उनैले गान्धीलाई शाकाहार, धार्मिक सहिष्णुता, साधारण जीवन र अहिंसाजस्ता अनुशासनको पालना गर्न सिकाइन्।

गान्धीको अहिंसाको आन्दोलन हिंसाभन्दा प्रभावकारी भयो

गान्धीको अहिंसाको आन्दोलन हिंसाभन्दा प्रभावकारी भयो

आफ्नो आत्मकथामा उनले लेखेका छन्, “मैले निकै लज्जित र नराम्रो अनुभूति गरेँ। म मेरो पिताको कोठामा दौडेर गएँ। त्यस्तो पाशविक तृष्णाले मलाई अन्धो नबनाएको भए मेरा पिताले मेरो अँगालोमा प्राण त्याग गर्थे।”

उनकी श्रीमतीले जन्माएको शिशुको तत्कालै मृत्यु भएपछि ग्लानिबोधसहित गान्धीले पिताको मृत्यु हुँदा आफू अनुपस्थित भएको बदला ईश्वरले लिएको भन्ठाने।

ब्रह्मचर्यको प्रतिज्ञा

लन्डनमा कानुन अध्ययन गर्न गएका बेला गान्धीले थीओसोफिकल समाजका केही सदस्यहरूलाई भेटे जसले उनलाई हिन्दू धर्मशास्त्र र खासगरी श्रीमद्भागवद्गीताको अध्ययन गर्न अभिप्रेरित गरे। पछि उनले त्यो गीताबाट आफू निकै प्रभावित भएको बताए।

हिन्दू धर्मप्रतिको उनको रुचि बढ्नुका साथसाथै उनले अरू धर्मलाई पनि नजिकबाट नियाल्न थाले। त्यस क्रममा उनी जीजस क्राइस्ट को ‘सर्मन अन द माउन्ट’ भन्ने इसाई पाठबाट उनी प्रभावित भए। उनी लीओ टोल्स्टोएबाट निकै प्रभावित भए।

ती अनुभवले उनलाई बाल्यकालमा सिकाइएको शाकाहार, शुद्ध आहारविहार र ब्रह्मचार्यतर्फ लाग्न प्रेरित गरिदियो।

सन् १९१५मा गान्धी श्रीमती कस्तुरबासँग
सन् १९१५मा गान्धी श्रीमती कस्तुरबासँग

पछि उनले ब्रह्मचार्यको पालना गर्ने प्रतिज्ञा नै गरे र हिन्दू मृत्युसंस्कारका बेला लगाइने सेतो वस्त्र धारण गर्न थाले। तर उनका चार सन्तान जन्मिसकेका थिए। पाँचौ सन्तानको जन्मिएलगत्तै मृत्यु भयो।

निकै विवादित बनेको परीक्षाको क्रममा उनले निर्वस्त्र सुतेको बेला आफ्नो “यौनेच्छाको परीक्षण र थप परीक्षण गर्न” नातिनी र अन्य महिलालाई आफ्नो ओछ्यानमा आउन अनुरोध गरेको उनको जीवनीका लेखक रामचन्द्र गुहाले उल्लेख गरेका छन्।

दुई साता चलेको उनको परीक्षणको उनले कसैसँग यौन सम्पर्क गरे नगरेको प्रस्ट छैन। तर उनको त्यो कार्य निकै आलोचित हुन पुग्यो।

दक्षिण अफ्रिकामा भेदभावविरुद्ध सङ्घर्ष

स्तानक अध्ययन पूरा गरेपछि गान्धी वकिल बन्न भारतमा फर्किए। उनले पहिलो मुद्दा हारेपछि उनलाई एक ब्रिटिश अधिकारीको कोठाबाट गलहत्याएर बाहिर निकालियो।

त्यसबाट निकै विचलित बनेका गान्धीले त्यसपछि दक्षिण अफ्रिकाको एउटा जागिर स्वीकारे र एप्रिल १८९३ मा दक्षिण अफ्रिकाको लागि पानीजहाज चढे। त्यहाँ उनले २१ वर्ष बिताए।

त्यो देशमा यात्राको क्रममा छालाको रङ्गका कारणले उनलाई रेलको पहिलो श्रेणीको डिब्बाबाट निकालियो।

गान्धी वकीलका रूपमा दक्षिण अफ्रिकामा
फेब्रुअरी १८, १९०८ मा पिटाइ खाएर घाइते भएका भारतीय अभियानकर्ता मोहनदास करमचन्द गान्धीले स्वास्थ्यलाभ गर्दैगर्दा खिचिएको तस्बिर
त्यहाँ भारतीय आप्रवासीलाई गरिने दुर्व्यवहारबाट स्तब्ध बनेका गान्धीले त्यसपछि दक्षिणपूर्वी अफ्रिकाको नतालमा इन्डीअन कङ्ग्रेसको स्थापना गरे। त्यसको उद्देश्य जातीय भेदभावविरुद्ध लड्नु र आत्मशुद्धि गर्दै अहिंसात्मक सत्याग्रह थाल्नु थियो।

भारतीय मूलका मानिसका लागि लगाइएको करको विरोधमा प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परे। तर ब्रिटिश शासकहरू त्यो कर हटाउन र उनलाई मुक्त गर्न बाध्य भए।

उनको विजयको खबर इङ्गल्यान्डसम्म सुनियो र गान्धीले त्यसपछि अन्तर्राष्ट्रिय ख्याति कमाउन थाले।

राजद्रोहको मुद्दा

त्यसपछि गान्धी भारत फर्किए र अमृतसरमा भएको प्रदर्शनलाई दमन गर्न ब्रिटिशहरूले गोली चलाउँदा ४०० जनाको मृत्यु र १३०० जना घाइते भएपछि उनले स्वतन्त्रताको पक्षमा अभियान थाले।

अहिंसात्मक प्रदर्शनको लागि उनले गरेको आह्वानलाई सबै वर्ग, तह र धार्मिक आस्थाका भारतीयहरूले समर्थन गरे। उनले ब्रिटिश शासनविरुद्ध असहयोगको लागि आह्वान गरे।

त्यस क्रममा उनले ब्रिटिश सामान बहिष्कार गर्न आग्रह गरे।

कैद मुक्त भएपछि गान्धीले ब्रिटिश शासन अन्त्यको माग गर्दै पुनामा भोक हड्ताल गरेका थिए।
कैद मुक्त भएपछि गान्धीले ब्रिटिश शासन अन्त्यको माग गर्दै भोक हड्ताल गरेका थिए

त्यसपछि ब्रिटिशहरूले उनलाई पक्राउ गरे र राजद्रोहको मुद्दा लगाएर दुई वर्ष कैद सजाय दिए।

सन् १८७० को दशकमा ब्रिटिशले ल्याएको राजद्रोह कानुनको मुख्य उद्देश्य उपनिवेशविरोधी आन्दोलनहरूलाई निस्तेज पार्नु थियो।

गान्धीले त्यसलाई “नागरिकका स्वतन्त्रतालाई दबाउन त्यो कानुन ल्याएको” भने।

त्यो कानुन अहिलेसम्म पनि भारतको मुलुकी ऐनमा रहेको छ। सरकारका आलोचकहरूलाई चुप लगाउन त्यसको प्रयोग गर्ने गरिएको छ।

विफल वार्ता
सन् १९३१ मा गान्धी इन्डीअन न्याश्नल कङ्ग्रेसका एक मात्र प्रतिनिधिको रूपमा एक गोलमेच सम्मेलनमा भाग लिन लन्डन गए। उनले भारतीय लुगा लगाएर सम्मेलनमा आफ्नो शक्तिशाली छवि प्रदर्शन गरे।

तर त्यो सम्मेलन ६२ वर्षीय गान्धीका लागि त्यति सफल हुन सकेन।

ब्रिटिशहरू भारतलाई स्वतन्त्रता दिन तयार भएनन्। त्यहाँ पुगेका मुस्लिम, सिख र अन्य प्रतिनिधिहरूले गान्धीको संयुक्त भारतको प्रस्तावलाई समर्थन गरेनन्। उनीहरू गान्धीले सबैको पक्षमा बोलेको भन्दै आश्वस्त हुन सकेनन्।

सन् १९३१मा गान्धी भारतीय संविधान सुधारका विषयमा गोलमेच सम्मेलनमा भाग लिन लण्डन पुगेका थिए
सन् १९३१ मा गान्धी गोलमेच सम्मेलनमा भाग लिन लन्डन पुगेका थिए

त्यसपछि गान्धीले राजनीति छोडेर देशका दलितको सामाजिक समानताको लागि लड्न थाले।

उनको अहिंसात्मक एवं शान्तिपूर्ण शैली र अवज्ञाको पक्षमा समुदायलाई परिचालन गर्न सक्ने उनको क्षमताले गर्दा ब्रिटिशहरूलाई फेरि उनीसँग वार्ता गर्न बाध्य गरायो।

जब साम्राज्य ढल्यो…
दोस्रो विश्वयुद्धपछि आफ्नो साम्राज्यमा ब्रिटिशहरूको पकड कमजोर हुन थाल्दै गर्दा गान्धीका लक्ष्यहरू पूरा भए।

सन् १९४७ मा उनको प्यारो देश स्वतन्त्र भयो।

तर भारत टुक्रिएर भारत र पाकिस्तानमा विभाजित भएपछि हिन्दू र मुस्लिम एउटै देशमा मिलेर बस्न सक्ने उनको आशामा तुषारापात भइदियो।

दिल्लीमा महात्मा गान्धी आफ्नी नातिनीहरूसँग हास्दै
गान्धी आफ्नी नातिनीहरूसँग

विभाजनले झनै बढी हिंसा निम्त्यायो। भारतमै बस्न चाहने मुस्लिमहरूलाई बचाउन गान्धी दिल्ली फर्किए र उनीहरूको अधिकारको लागि सत्याग्रह थाले।

स्वतन्त्रताको छ महिना पनि नपुग्दै उनलाई एक अतिवादी हिन्दूले गोली हानिदिए्

ती व्यक्ति मुस्लिम समुदाय र पाकिस्तानप्रतिको गान्धीको सद्भावप्रति आक्रोशित थिए।

विश्वभरिका मानिसहरू विश्वशान्तिका प्रतीक बन्न पुगेका तथा विश्वव्यापी छवि भएका ती पुरुषको मृत्युमा शोकाकुल भए।

धर्म, जात र वर्गीय विभाजनबाट भारत मुक्त भएको हेर्ने आफ्नो सपना पूरा भएको उनले देख्न पाएनन्।

Share Now

Leave a comment.