काठमाडौं, १५ असोज । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की बुधबारदेखि विदामा बस्नुभएको छ । बोर्डको कार्यकारी अध्यक्षको रुपमा उहाँको चारबर्षे कार्यकाल असोजमसान्तमा सकिंदै छ ।
आफ्नो चार बर्षे कार्यकालमा नेपालको धितोपत्र बजारको नीतिगत र संस्थागत सुधारमा अभूतपूर्व काम गर्न भ्याउनुभएका डा. कार्कीले विदामा बस्ने दिनसम्म धितोपत्र बजारको विकास र विस्तारमा सक्रिय रहनुभयो । उहाँले असोज १४ गते मात्र धितोपत्र कारोबारलाई ब्यवस्थित बनाउन बोर्डबाट पारित भएका ६ ओटा नियामावलीहरु स्वीकृतिको लागि मन्त्रालय पठाउनुभएको छ ।
मुद्रा तथा पूँजी बजारमा देखिएका प्रबृतीहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदनमा विद्यमान नियमावलीमा समसामयिक संशोधन गर्नु पर्ने भन्ने रहेको, लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरुवाट समेत उक्त नियमावलीहरुलाई समय सापेक्ष रुपमा थप परिमार्जन गर्न अनुरोध भई आएको तथा धितोपत्र वजारको आकारमा उल्लेख्य वृद्धि र विकास भएको परिप्रेक्ष्यमा ६ ओटा नियमावलीहरुमा समसामयिक संशोधन गर्न नेपाल सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको बोर्डले जनाएको छ ।
सो प्रतिवेदनका सुझावहरुमध्ये बोर्डबाट गर्नुपर्ने अधिकांश सुझावहरु कार्यान्वयन भैसकेको जनाउदै बोर्डले धितोपत्र बजारको विकास र विस्तारका साथै सुब्यवस्थापनको लागि ६ ओटा नियमावलीमा आवश्यक संशोधन पूरा भएको जनाएको छ ।
बोर्डले संशोधन गरी स्वीकृतिको लागि पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता), नियमावली २०६४ मा धितोपत्र दलाल व्यवसायीले डिलर र लगानी परामर्श सेवा दिन सक्ने, धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई गाभ्ने(गाभिने वा प्राप्ति गर्न सक्ने व्यवस्था गरेको, धितोपत्र व्यवसायीले संस्थागत जोखिम व्यवस्थापनका लागि जगेडा कोष खडा गर्नु पर्ने, शाखा कार्यालयको पूर्वाधार घटाई कम खर्चिलौ बनाइएको छ ।
यस्तै धितोपत्र दर्ता निष्काशन नियमावली, २०७३, मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा मूल्य निर्धारण गर्न बुक बिल्डिङ्ग बिधिमार्फत पनि गर्न सकिने व्यवस्था, हकप्रद शेयर निष्काशनसम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गरी सक्नु पर्ने, साविक शेयरधनीहरुले हकप्रद शेयरका लागि शत प्रतिशत बढी आवेदन गर्न सक्ने, बाँकी रहेको हकप्रद शेयरको लागि बाँडफाँड भएको मितिले ७ दिन भित्र लिलाम बढाबढको लागि सूचना प्रकाशित गर्नुपर्ने, लिलाम बढाबढको सूचना दिँदा बोलकबोलका लागि बढीमा पन्ध्र दिनको सूचना प्रकाशित गर्नु पर्ने, लिलाम बढाबढ बाँडफाँड भएको ७ कार्य दिन भित्र लगानीकर्तालाई बाँडफाँडपत्र सहित रकम फिर्ता गर्नुपर्ने र सार्वजनिक निष्कााशनमा स्थानीयबासीलाई बाँडफाँड गरिने शेयरको लकइन पिरियड घटाइएको छ ।
बोर्डले संशोधन गरी स्वीकृतिको लागि पठाएको सामूहिक लगानी कोष नियमावली २०६७ मा समग्र धितोपत्रको विकास र विस्तारको लागि वाणिज्य बैंकको अतिरिक्त जीवन वीमा कम्पनी र विशेष ऐन द्वारा स्थापित वित्तीय सस्थाले समेत सामूहिक लगानी कोष स्थापना गर्न सक्ने, खुलामुखी योजना संचालनमा कोष प्रवद्र्घक तथा योजना व्यवस्थापकले आफ्नो शाखा सञ्जाल वा बैंक तथा वित्तीय संस्था मार्फत खुलामुखी योजना बिक्री तथा पुनर्खरिदको प्रवन्ध मिलाउने व्यवस्था गरेको, योजना व्यवस्थापक संस्थाले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा वित्तीय सवलता कायम राख्न एक जगेडा कोष खडा गरी बार्षिक रुपमा संस्थाको मुनाफाबाट निश्चित प्रतिशत रकम छट्याउनु पर्ने, सर्वसाधारण लगानीकर्तालाई खुलामूखी योजनामा आकर्षित गर्न लागत न्यूनिकरण गर्नुपर्ने र कोष सुपरीवेक्षक, योजना व्यवस्थापन तथा डिपोजिटरीले बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क ५ प्रतिशतबाट घटाइ ३ प्रतिशत गरिएको लगायतका व्यवस्था गरिएको छ ।
यसरी नै क्रेडिट रेटिङ्ग नियमावली २०६८ मा धितोपत्रको सार्वजनिक निष्काशन गर्न संस्थाको रेटिङ्ग गराएर मात्र गर्नु पर्ने र रेटिङ्ग समावेश गरेर मात्र विवरणपत्र वा बिक्री प्रस्ताव वा अन्य विवरण प्रकाशन गर्नुपर्ने, ग्राहकले स्वीकार गरेको रेटिङ्ग कम्तीमा पाँच वर्ष अनुगमन गर्नु पर्ने, वैंक वा वित्तीय संस्थावाट ऋण लिन चाहनेले यही नियमावली बमोजिम के्रडिट रेटिङ्ग गराउन सक्ने, वोर्डले प्राप्त गर्ने सेवा शुल्कमा कटौती, क्रेडिट रेटिङ्ग संस्थाले संस्थागत जोखिम व्यवस्थापन तथा वित्तीय सवलता कायम राख्न एक जगेडा कोष खडा गर्नु पर्ने सहित रेटिङ्ग शुल्कमा समयानुकुल परिमार्जन गरिएको, रेटिङ्ग कम्पनीले बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क ३ प्रतिशतबाट घटाइ २ प्रतिशत गरिएको र क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आप्mनो १ प्रतिशत भन्दा बढी स्वामित्व रहेको शेयरधनी वा सहायक संस्थाको रेटिङ्ग गर्न नपाउने व्यवस्था गरी स्वार्थ नबाझिने लगायतका व्यवस्था गरिएको छ ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बंैकर० नियमावली, २०६४ मा धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको तीन गुणासम्म प्रत्याभूति(अण्डरराईटिङ्ग) गर्न सक्ने र लगानी व्यवस्थापकले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको १५ गुणासम्म लगानी व्यवस्थापन गर्न सक्ने, मर्चेण्ट बैंकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडा कोष खडा गरी मुनाफाको निश्चित प्रतिशत रकम राख्नु पर्ने, मर्चेन्ट वैंकरको संचालक तथा कार्यकारी प्रमुख नियुक्ति गर्दा बोर्ड वा धितोपत्र बजार वा धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ्ग संस्थामा कुनै लाभको पदमा रहेको व्यक्ति अयोग्य हुने, मर्चेण्ट बैंकरले बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क ५ प्रतिशतबाट घटाइ ३ प्रतिशत गरिएको र संचालक वा कार्यकारी प्रमुखको अयोग्यतामा थप व्यवस्था गरी स्वार्थ नबाझिने लगायतका व्यवस्था गरिएको छ ।
साथै धितोपत्रको दोस्रो बजारमा हुन सक्ने भित्री कारोवारलाई रोक्न तथा त्यस्ता कारोवारहरु भएको देखिएमा कारवाही प्रकृयालाई व्यवस्थीत गर्ने उद्देश्यले तयार गरिएको धितोपत्रको भित्री कारोवार निषेध सम्बन्धी नियमावली, २०७६ लाई समेत स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालय पठाईएको छ ।
यी व्यवस्थाहरुले कानूनी व्यवस्थामा सुधार भई समग्र पूँजी बजारको विकास तथा विस्तारमा सहयोग पुगी बजारको संरचनात्मक सुधार हुने बोर्डको विश्वास रहेको छ ।
बोर्डले धितोपत्र बजारको कामकारबाहीलाई थप नियमित तथा व्यवस्थित गर्न बोर्डले धितोपत्रसम्बन्धी कानूनी व्यवस्थामा सुधार गर्न नेपाल सरकारको गत आ.ब. को बजेट बक्तव्य बमोजिम बोर्डले आफ्नो नीति तथा कार्यक्रममा राखी धितोपत्र सम्बन्धी ऐन संशोधन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गरेकोमा नेपाल सरकारबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरिएको जनाएको छ ।
बोर्डले अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी बोर्डको संचालक समितिलाई पुर्नसंरचना गरिएको, केन्द्रिय निक्षेप सेवा तथा विशिष्टीकृत लगानी कोष संचालन गर्न थप व्यवस्था गरिएको, लगानीकताको हित तथा स्वार्थ संरक्षणको लागि ट्रष्टीको व्यवस्था गरिएको, धितोपत्र सम्बन्धी कसूर गरेमा सजायको व्यवस्थालाई समसामयिक बनाइएको, बोर्डको अध्यक्ष भैइसकेको व्यक्ति अवकास जिवन भर र कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशक अवकास प्राप्त भएको दुई बर्ष सम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने आदि व्यवस्था गरिएको जनाएको छ ।
लगानीकर्तालाई ब्रोकरबाटै मार्जिन सुविधा
धितोपत्र दलाल ब्यवसायीहरुको क्षमता अभिवृद्धि गरी एकीकृत सेवा दिन सक्षम बनाउने उद्देश्यले बोर्डको “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” र नेपाल स्टक एक्सचेञ्चले बनाएको कार्यविधि अनुरुप ब्रोकर क्रिष्टल कञ्चनजंघाले असोज १४ गतेदेखि नै यो सुविधा प्रदान गर्न थालेको प्रबन्ध सञ्चालक प्रियराज रेग्मीले जानकारी दिनुभएको छ ।
धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” जारी गरेपश्चात नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)बाट तयार गरिएको कार्यविधिलाई बोर्डले स्वीकृति दिएको थियो । र मार्जिन कारोबारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको व्याजदर हुने व्यवस्था गर्नुको साथै मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत भैसकेको परिप्रेक्ष्यमा मार्जिन कारोवार सुविधा शीघ्र संचालन गर्न निर्देशन दिएको थियो ।
बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र दलाल ब्यवसायीको समझदारीमा आरम्भ भएको यस सुविधाले लगानीकर्ताहरुले दोस्रो बजारमार्फत शेयर खरिद गर्न तोकिएको धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न पाउने भएका छन् ।
हालसम्म नेप्सेबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोवारको लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरिसकिएको छ ।
यसरी शेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत सवै सुविधा उवलब्ध गराउने बोर्डको नीति÷निर्देशन अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोवार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको र दोस्रो बजार कारोबारमा तरलता अभिबृद्धि गरी बजारलाई थप चलायमान गराउने अवस्था सिर्जना भएकोमा बोर्डले सन्तुष्टी प्रकट गर्र्दैै सम्बद्ध सबैलाई धन्यवाद दिएको छ ।


















