क्यानबेरा(अस्ट्रेलिया), २३ गते । विश्वकप २०२२ छनोटमा अवे खेल अन्तरगत अस्ट्रेलियाविरुद्ध बिहिबार क्यानबेरामा भएको खेलमा नेपाली टीम ५ ० ले पराजित भएको छ ।
जीआईओ रंगशालामा भएको खेलमा सुरुबाटै आक्रामक देखिएको अस्ट्रेलियाका तर्फबाट जेमी म्याक्लारेनको ह्याट्रिक गरे भने पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलमा मैदानमा ओर्लिएका ह्यारी साउटरको दुई गोल गरे । यो खेलसँगै अस्ट्रेलियाले ३ अंक जोडेको हो ।
खेलमा घरेलु टोलीका म्याक्लारेनले छैटौं मिनेटमै गोल गरे ।उनले १९ औं मिनेटमा दोस्रो गोल गरे । टीमलाई अग्रगतिमा लगेका उनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले २३ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरे भने ५९ औं मिनेटमा दोस्रो ।

नेपाली टिमले बल्ल ४१ औं मिनेटमा आएर बललाई गोलकिपरसम्म पुर्याए पनि प्रायः सबै खेलाडी बलियो टीमका विरुद्ध प्रतिरक्षामै व्यस्त देखिए ।
शारीरिक बनाबट र खेल कला दुवै हिसाबले हिसाबले अस्ट्रेलियाका खेलाडी नेपालका तुलनामा अब्बल देखिए ।
५५ मिनेट मोयको क्रसमा गुडविनको हेडरमा गोलकिपर किरणले राम्रो बचाउ गरेका थिए ।
एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटको ३ खेलमा नेपालले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा कुवेतविरुद्ध ७ ० को हार बेहारेको नेपालले ताइवानसंग भने २ ० को जित निकालेको थियो ।
अब १५ अक्टोबरमा नेपालले जोर्डनविरुद्ध अम्मानमा खेल्नेछ ।
फिफा वरीयतामा नेपालभन्दा ११७ स्थानमाथिको अस्ट्रेलियाले भने दुई खेलमा शतप्रतिशत जित निकाल्दै अर्को चरणको प्रवेशको संभावना बलियो बनाएको छ ।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ
डिफेन्स : दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रन्जित धिमाल
मिडिफिल्ड : रवि पासवान, रोहित चन्द, विशाल राई (८६ मिनेट : सन्तोष तामाङ), अन्जान विष्ट (७९ मिनेट : तेज तामाङ), सुजल श्रेष्ठ
फरवार्ड : अभिषेक रिजाल ( ६६ मिनेट : विमल घर्तीमगर)


















