काठमाडौं,२३ असोज । नेपाल वायुसेवा निगमको ३२०-२०० सेरिजको नाइन एन एकेएक्स संकेत चिन्हको सेरिजको लुम्बिनी नामक जहाज विगत २ दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्केर बसेको छ ।
दशै तिहार चाडबाडको बेला र नेपालमा पदयात्रा र दृश्यावलोकनका लागि उत्तम समय मानिएको अक्टोबर महिनामा जहाज भूमिस्थ हुँदा निगम दैनिक ठूलो आम्दानीबाट बञ्चित हुनुपरेको छ ।
निगममा कार्यरत प्राविधिकहरुका अनुसार जहाजको इन्जिनको हाइड्रोलिकको पाइप फुटेको छ । सो पाइप प्रतिस्थापन नगरिकन जहाज उड्ने अवस्था छैन् ।
जहाजको इन्जिन तथा मर्मत संभारको लागि गरेको टेण्डरमा मूल्यांकनमा उपयुक्त ठहरिएको न्यूनतम् रकम कबोल गर्ने कम्पनीसंग निगमको वर्तमान व्यवस्थापनले कमिशनमा कुरो मिलाउन नसकेपछि पुरस्कृत गर्ने चरणमा पुगेको सो टेण्डर प्रक्रियालाई एकाएक रद्द गर्ने निर्णय गरेको थियो ।
निगमको वर्तमान व्यवस्थापनको उक्त गैरजिम्मेवार निर्णयविरुद्ध संसदको सार्वजनिक लेखा समितिमा ऊजुरी परेपछि सार्वजनिक लेखा समितिले उक्त टेण्डर रद्द नगर्न र भएको टेण्डरलाई टुंगोमा पुर्याउन निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन अनुसार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निगम व्यस्थापनलाई लेखा समितिको निर्देशन पालन गरी नियमानुसार उपयुक्त मर्मत केन्द्र चयन गर्न निर्देशन दिएको थियो । तर निगम व्यवस्थापनले भने निगमले निर्णय गरिसकेको हुनाले ती निर्णय र निर्देशन उपर पुनरावलोकन गरी निगमलाई स्वच्छाचारी ढंगले काम गर्न दिन अनुरोध गरेको थियो ।
नवनियुक्त मन्त्री योगेश भट््टराईले आफूले संसद र संसदीय समितिको उच्च सम्मान गर्दै तिनले दिएका निर्देशनको पालना गर्दै नेपालको नागरिक उड्डयन क्षेत्रमा लोभ लाग्दो सुधार गर्ने बताउदै आउनुभएको छ । उहाँले नेपाल वायुसेवा निगमको सुधारको लागि पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाई त्यसले दिएको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । समितिले आफ्नो प्रतिवेदनमा निगमको वर्तमान व्यवस्थापन भएका जहाजहरु सञ्चालन गर्न, निगमको सम्पत्ति व्यवस्थापन र उपयोग गर्न, व्यापारिक योजना बनाएर कार्यान्वयन गर्न र नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य अनुरुप बार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउन सहयोगी हुनसक्ने नदेखिएकोले त्यसलाई यथाशीघ्र परिवर्तन गर्न सुझाव दिएको छ ।
सो समितिको सुझावलाई नै मार्गदर्शन मानेर अगाडि बढ्ने सार्वजनिक प्रतिबद्धता जनाउनु भएका मन्त्री भट्टराईले दशैको लगत्तै निगमको सुधारमा हात हाल्ने बताइन्छ । समयमा निर्णय गर्न सक्नुभएन भने उहाँ पनि हवाईमाफिया र लोभीपापीहरुको चंगुलमा फस्ने निश्चित जस्तै देखिन्छ ।





















