मस्कट(ओमान),२३ असोज । ओमानको आयोजनामा भएको पाँच देशीय टी २० क्रिकेट श्रृखलाको अन्तिम खेलमा ओमानसँग ६ विकेटले पराजित हुँदै तेस्रो स्थानमा रहेर नेपालले श्रृखलाको यात्रा अन्त्य गरेको छ।
आजको खेलमा आयोजक ओमानलाई पराजित गर्ने लक्ष्य राखेको नेपालको ब्याटिड. राम्रो चलेन ।
ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा ११ ओभरमा सबै विकेट गुमाउदै ६४ रनमा समेटिन पुग्यो ।
समय र भाग्यको साथ नपाएको नेपालले दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ शेखले सर्वाधिक २० रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले ११ रन बनाए ।
नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए। नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि ५ रनमा पेभेलियन फर्किए । दिपेन्द्र सिंह ऐरीपनि लगत्तै ३६ रनमा रनआउट भएपछि नेपालले तेस्रो विकेट गुमायो ।
त्यसको लगत्तै विनोद भण्डारीपनि ४ रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दीप जोरा खाता खोल्न नपाउँदै आउट भए ।
त्यसपछि स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन पुग्दा छैटौ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट भए । करण के.सी. ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।
लगातार विकेट गुमाएको नेपालका सन्दिप लामिछाने २ रनमा आउट भए भने सोमपाल कामी ८ रनमा पेभेलियन फर्किए ।
६५ रनको सहज लक्ष्य पाएको ओमानले ११ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
ओमानलाई रोक्ने क्रममा पहिलो ओभरमा नै सन्दीप लामिछानेले तेस्रो बलमा नै विकेट लिन सफल भए । उनले ओपनर अकीब लियासलाई शुन्य रनमा आउट गरे ।त्यसपछि ओमानको स्कोर १५ रन हुँदा आमिर कालिमलाई ८ रनमा करण केसीले आउट गरे । ओमानको स्कोरबोर्डमा २६ रन हुँदा खवार अलीलाई सोमपाल कामीले ९ रनमा पेभेलियन फर्काए । नसिम खुसीलाई मात्र एक रनमा करण केसीले आउट गरे ओमानले २७ रनमा चार विकेट गुमायो । त्यसपछि भने ओमान सम्हालियो । ओमानका लागि सुरज कुमारले ४२ रनमा अविजीत रहे ।
Oman Pentangular T20I Series
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| OMAN | 4 | 4 | 0 | 8 | 2.268 |
| IRE | 4 | 3 | 1 | 6 | 0.648 |
| NEPAL | 4 | 2 | 2 | 4 | -0.731 |
| NL | 4 | 1 | 3 | 2 | -0.208 |
| HKG | 4 | 0 | 4 | 0 | -2.07 |
जारी प्रतियोगितामा आयोजक ओमान अविजीत रह्यो । नेपालले ४ खेलमा २ मा जित र २ मा हार ब्यहोर्दै अंक तालिकामा तेस्रो रहेर पाँच देशीय टी २० श्रृखलाको यात्रा टुंग्यायो ।


















