दुबाई(संयुक्त अरब इमिरेट्स), २४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)को वरियतामा नेपालका तीन युवा खेलाडीहरुको नाम समावेश भएको छ ।
आईसीसीले हालै सार्वजनिक गरेको टी २० क्रिकेटको नयाँ वरियतामा सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा थपिएका हुन । यस पहिले नेपालबाट कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी पर्दै आएका थिए ।
आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंक पाएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् ।
यस्तै करण केसीले ३७७ रेटिङ अंक पाएका छन् । उनी ८३ औं स्थानमा रहेका छन् । ३५२ रेटिङ अंक पाएका अविनाश १०० औं स्थानमा छन् ।
बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८ औं स्थानमा छन् । ३८६ रेटिङ अंक पाएका बसन्त ९० औं स्थानमा रहेका छन् ।
टी २० को अलराउण्डर वरियतातर्फ नेपाली टीमका कप्तान पारस खड्का २४ औं स्थानमा उक्लिएका छन् । कप्तान पारसले १०८ रेटिङ अंक पाएका छन् ।
नेपाली राष्ट्रिय टीमका कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डेय, रोहित शर्मा, अफगानिस्तानका रशिद खान र इंग्ल्याण्डका बेन स्टोक्सभन्दा अघि रहेका छन् ।


















