Prakash Adhikari October 12, 2019

 

प्रकाश अधिकारी
काठमाडौं, २५ असोज । मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनफिङ दुई दिवसीय राजकीय भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौं आइपुग्दै हुनुहुन्छ ।
विश्वको दोस्रो ठूलो शक्ति राष्ट्रको रुपमा रहेको चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हो । सीमाना जोडिएको उत्तरी छिमेकी मित्र राष्ट्रका राष्ट्रप्रमुखबाट २३ वर्षपछि यो स्तरमा नेपाल भ्रमण हुन लागेको हो । यस पहिले सन १९९६ मा राष्ट्रपति जियाड. जेमिनले नेपालको भ्रमण गर्नुभएको थियो ।


विगत २३ वर्ष यताहुन लागेको नेपाल भ्रमणलाई राजनीतिक, कुटनीतिक, आर्थिक र व्यापारिक हिसाबले ऐतिहासिक बनाउन नेपाल सरकार तल्लिन देखिन्छ । नेपालमा पनि निर्वाचनका माध्यमबाट दुईतिहाई मत हासिल गरि कम्युनिष्ट पार्टीको सरकार बनेकोले वर्तमान सत्तारुढ पार्टी र सरकारको लागि विश्वको दोस्रो ठूलो शक्ति राष्ट्र र सबैभन्दा बलियो कम्युनिष्ट राष्ट्रका प्रमुखको आगमन एकातिर प्रतिष्ठाको विषय भएको छ भने अर्कोतिर समृद्ध नेपालको सपना साकार पार्न पर्याप्त आर्थिक र प्राविधिक सहयोग पाउने ठूलो अपेक्षा पनि राखेको छ । कम्युनिष्ट शासन पद्धतिकै माध्यमले विगत ७ दशकमा चमत्कारिक र लोभलाग्दो प्रगति गरेर विश्वको सबैभन्दा बढी जनसंख्यालाई सन्तुष्ट राखेको चीनको शासन पद्धतिको अनुकरण गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टीबीच आपसी समझदारी भैसकेको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको अवसरमा नेपाल र चीनका बीचमा रेलमार्गको निर्माण, नयाँ सडक मार्गको निर्माण र भैरहेका सडकको सुधार र विस्तार, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल र सहमति हुने अपेक्षा गरिएको छ ।

मित्र राष्ट्र चीनले एशिया र यूरोपलाई जोड्न आरम्भ गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत रहेर नेपालको विकास र निर्माणमा सहयोग गर्ने रुचि देखाएको छ । विगतमा कुनै आयोजना स्पष्टसंग प्रस्तुत गर्न नसकेको नेपालले यसपटक बीआरआई अन्तरगत विभिन्न परियोजना प्रस्तुत गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजना चिनिया सहयोग अन्तरगत निर्माण गर्नेगरी द्धिपक्षीय वार्तामा प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ ।

सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिका लागि निर्धारित एजेण्डामा समेटिएका छन्। पूर्वपश्चिम रेलमार्गमा ठूलो चिनियाँ सहयोग घोषणा हुन सक्ने संभावना छ ।सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ।

सरकारले तयार पारेको प्रस्तावित सहयोगको सूचिमा १) केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता। रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल। २) गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन ३) ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता ४) मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान ५) रसुवागढी–केरुङ सडक स्तरोन्नति ६) टोखा–छहरे सुरुङमार्ग हुँदै रसुवागढीसम्म सडक ७) तातोपानी–काठमाडौं सडक स्तरोन्नती ८) उत्तर दक्षिण जोड्ने विराटनगर–किमाथांका–कोसी करिडोर सडक रहेका छन् ।

यी ठोस आयोजनासहित अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ। भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ।

सीको कार्यक्रम

चीनका राष्ट्रपति सी एअर चाइना विशेष विमानबाट दिउँसो करिब साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ओर्लनुहुनेछ। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई स्वागत गर्ने कार्यक्रम छ।

त्यहाँ राष्ट्रपति सीलाई गार्ड अफ अनर दिइने कार्यक्रम रहेकाले मन्त्रिमण्डलका सदस्य तथा संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका अधिकारी त्यहाँ पुग्नुहुनेछ। गार्ड अप अनर सकिएपछि उहाँ सिधै होटल सोल्टी जानुहुनेछ।

केही समय आराम गरेपछि चीनका महामहिम राष्ट्रपति आतिथेय मुलुक नेपालका राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्ने कार्यक्रम छ। राष्ट्रपतिसँग भेटवार्ता पछि त्यहाँ दुईपक्षीय सम्बोधन हुनेछ।

त्यहाँबाट उहाँ सोल्टी होटलमा नै फर्कनुहुनेछ । शनिवार साँझ होटल सोल्टीमा नै उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्नुभएको छ। सीमित मानिसलाई मात्र उपस्थित गराइने ब्याङक्वेट रिसेप्सनमा अनौपचारिक कुराकानी हुनेछ।

आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले पूर्वप्रधानमन्त्रीहरु र विपक्षीदलका नेता शेरबहादुर देउवासंग भेटवार्ता गर्नुहुनेछ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पार्टीका वरिष्ठ नेताको भेटघाटको तारतम्य मिलाएको भए त्यो पनि सोही समयमा सकिने छ ।

त्यस्तै साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ। राष्टपति सी १ बजे त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

राजधानी चिटिक्कै

मित्र राष्ट्र चीनका विदेशी विशिष्ट पाहुनाको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी र उहाँका भ्रमणदलका प्रतिनिधिहरु घुम्ने स्थानहरु चिटिक्क पारेर सिंगारिएका छन् । राष्ट्रपति सी आउने र जाने मार्गहरुमा नयाँ पीच गरिएको छ । सडकका दुवै किनारमा रहेका विजुलीका पोल र सोलार वत्तिका पोलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको तस्वीर सजाइएका छन् । एअरपोर्टदेखि नै उहाँको स्वागमा नेपाल र चीनको सम्बन्ध सगरमाथाभन्दा अग्लो भन्ने सन्देश सहितका स्वागतद्धारहरु बनाइएका छन् । ठाँउ ठाँउमा दुवै देशका राष्ट्रपतिका भेटघाटका तस्वीरहरु राखिएका छन् ।

स्वागतमा कर्मचारी

चिनियाँ राष्ट्रपति सीको स्वागत र बिदाइका लागि निजामती कर्मचारी सडकमा उपस्थित हुनेछन्। सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्न सरकारले निर्देशन दिइसकेको छ।

निजामती पोसाकमा उनीहरू शनिबार दिउँसो ३ः४५ बजे र आइतबार बिहान ११ः१५ बजे सडकमा उभिने छन्। प्रत्येक मन्त्रालयलाई कम्तीमा एक सय कर्मचारी उपस्थित गराउन निर्देशन दिइएको छ।

president bhandari with xi jinpingको लागि तस्बिर परिणाम

 

Share Now

Leave a comment.