Prakash Adhikari October 13, 2019

 

सानेपा(ललितपुर),२६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपा र ७७ वटै जिल्लामा  चियापान कार्यक्रमको आयोजना गरेको छ ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा कायम गर्दै आएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा आज हुने चियापान कार्यक्रम अपरान्ह १ः००देखि ५ः०० हुनेछ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, संबैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुनेछ ।

नेपाली कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई आजै जिल्लामा सद्भावना चियापान कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । कांग्रेसका सबै जिल्ला कार्य समितिहरुले आजै आ आफ्नो अनुकूल समयमा चियापान कार्यक्रम आयोजना गर्दैछन् ।

Share Now

Leave a comment.