काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को दुईबर्षे कार्यकालको लागि आज निर्वाचन हुँदैछ ।
संघको नवौं विश्व सम्मेलन तथा साधारण सभामा सहभागी हुन विश्वभरबाट आएका प्रतिनिधिहरुले आज आफ्नो नेतृत्व चुन्नेछन् ।
संघको सांगठानिक संरचनामा साधारण सभा सर्बोच्च निकाय रहेको छ भने त्यसले पारित गरेका नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न अन्तराष्ट्यि समन्वय परिषद् रहन्छ । सो परिषद्मा एक अध्यक्ष, पाँच उपाध्यक्ष(एक जना महिलासहित), एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष,एक सहकोषाध्यक्ष, एक प्रवक्ता, एक महिला संयोजक र एक जना युवा संयोजक रहेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय रहने व्यवस्था छ ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एशिया,युरोप,अफ्रिका,अमेरिका,ओसनिया र मध्यपूर्व क्षेत्रबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी ६।६ जना क्षेत्रीय । महिला र युवा संयोजक, १० जना क्षेत्रीय उपसंयोजकहरुसहित अन्तर्राष्ट्रिय सचिवालयका पदाधिकारीहरु संघको पदाधिकारी रहने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु भने राष्ट्रिय समन्वय परिषद्ले निर्वाचित गर्ने चलन छ । सन २०१७ देखि २०१९को वर्तमान समन्वय परिषद्मा १ सय २ सदस्य रहेका थिए । अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु निर्वाचन हुने संख्याको आधार संघको निर्वाचन नियमावलीमा उल्लेख गरिएको छ । नियमावलीमा उल्लेख भए अनुसार ५ हजार पञ्जिकृत सदस्य भएको देशमा ५ जना, ७ हजार सदस्य भएको देशबाट ६ जना, १० हजार सदस्य भएको देशबाट ७ जना,१४ हजार सदस्य भएको देशबाट ८ जना ,१९ हजार सदस्य भएको देशबाट ९ जना र २५ हजार वा सोभन्दा माथि सदस्य भएको देशबाट १० जना सदस्य चुनिने व्यवस्था रहेको छ ।
यसरी चुनिएका सदस्यहरुले अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी भएर शपथ लिनुपर्ने व्यवस्था छ ।
निर्वाचन कार्यक्रम

गैर आवासीय नेपाली संघको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका यस्तो छ :
मिति २०७६ अशोज २९ गते(१६ अक्टोबर २०१९)
- उम्मेद्वारीको मनोनयन दर्ता बिहान १०ः३० बजेसम्म
- उम्मेद्वारको प्रथम नामावली प्रकाशन बिहान ११ः३० बजे
- उम्मेद्वारको मनोनयन उपर दावी÷विरोध बिहान ११ः३० देखि १२ ः३० बजेसम्म
- उम्मेरद्वारी फिर्ता लिने तथा छानविन दिनको १३ः३० बजेसम्म
- उम्मेद्वारको अन्तिम नामावली प्रकाशन दिनको १४.०० बजे
- निर्वाचन दिनको १५ः०० बजे देखि साँझको २०ः०० बजेसम्म,
- मत गणना निर्बाचन सम्पन्न भएको १ घण्टा पश्च्यात
- निर्वाचनको नतिजा घोषणा मतगणना सम्पन्न भए पश्च्यात
कसका एजेण्डा के
गैरआवासीय नेपालीहरुको यो विश्वसम्मेलन र साधारण सभामा लोकतन्त्रवादी समूह र कम्युनिष्ट विचारधारा निकट समूहको विचमा प्रत्यक्ष भीडन्त हुने भएको छ ।
आचार्यको जोड समृद्धि र संस्कृतिमा
लोकतन्त्रवादी समूहबाट उम्मेदवार बन्नुभएका कुल आचार्यले कर्मभूमिमा नेपाली संस्कृति फैलाउने मातृभूमिलाई समृद्ध बनाउने नारा सार्नुभएको छ ।
उहाँले आफ्नो ८ पाने संक्षिप्त प्रतिबद्धतापत्रमा मातृभूमिको समृद्धिको लागि लगानीको प्रत्याभूति ल्याउने, वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने, कडा परिश्रम गर्ने नेपाली कामदार रहेको स्थानमा कार्यरत नेपालीहरुको हकहितका लागि पसिना फण्ड स्थापना गर्ने र सोको बचत अधिक प्रतिफल हुने क्षेत्रमा लगानी गरि वचतकर्तालाई अधिक नाफा दिने, वैदेशिक राहत कोषलाई दोब्बर बनाउने,वैदेशिक रोजगारीमा देखिएका र प्रवासमा रहेका नेपालीको गुनासो सुन्नकालागि हटलाईनको व्यवस्था गर्ने कार्यक्रम सार्नुभएको छ ।

उहाँको प्रतिवद्धतापत्रमा गैर आवासीय नेपाली सीप विकास केन्द्रको स्थापना गर्ने, झन्झटमुक्त र अधिक अधिकारयुक्त गैरआवसीय नेपाली नागरिकताको व्यवस्थाका लागि पहल गर्ने, गोर्खा सैनिकहरुको समान पेन्सन र आफ्ना सन्तान बेलायत ल्याउने माग पूरा गराउन आवश्यक पहल गर्ने, अधिकभन्दा अधिक देशहरुसंग द्धिपक्षीय लगानी परियोजना प्रवर्धन स.झौता(विप्पा)र दोहोरो करमुक्ति संझौता गर्ने, नेपालका स्थायी राजदूतावास तथा नियोकहरु रहेका स्थानमा गैरआवासीय नेपालीको राष्ट्रिय समन्वय परिषद्लाई संलग्न गराई नेपाल र नेपालीको हितमा काम गर्न लगाउने व्यवस्था गर्ने , १०अर्बको गैर आवासीय नेपाली कोष स्थापना गरी त्यसको परिचालनको संयन्त्र बनाउने कुरा पनि उल्लेख छ ।
त्यस्तै उहाँले नेपाल सरकारले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई कार्यमूलक बनाउन विदेशमा छरिएर रहेका नेपाली प्रतिभाहरुको ज्ञान,सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने संयन्त्र बनाउने, एनआरएनए अन्तरगत स्थापित पोलिसी इन्स्टिच्युटलाई स्रोत र साधनयुक्त बनाएर प्रभावकारी बनाउदै नेपालको आधुनिक विकासलाई गति र दिशा दिने संस्था बनाउने, संघका पूर्व अध्यक्ष डा. शेष घलेको अग्रसरतामा ल्याइएको भिजन २०२० एण्ड वियोण्डलाई कार्यान्वयन गर्ने, सदस्य संख्या २ लाख पुर्याउने, नेपाल र नेपालीको इज्जत र प्रतिष्ठा बढ्ने र बढाउने ढंगले राष्ट्रिय समन्वय समितिहरुलाई परिचालन गराउने र विदेशमा हुर्किएका दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको इतिहास,भूगोल,नेपाली भाषा,संस्कृति र र परम्परा अवगत गराउने खालका कार्यक्रम विकसित गरी कार्यान्वयन गर्ने लगायतका कार्यक्रम र योजना पनि उहाँले सार्नुभएको छ ।
अध्यक्षका उम्मेद्वार आर्चायले युवा र महिलालाई पहिलो प्राथमिकतामा राख्ने कार्यक्रम पनि ल्याउनुभएको छ । यसका लागि नेपाली भाषा,संस्कृति,परम्पराको विकास र विस्तारमा महिलालाई अगाडि सार्ने, खेलकुद र प्रतिभा प्रष्फूटनका लागि युवाहरुलाई सार्ने र उद्यमशीलतामा महिला र युवा दुवैलाई अगाडि ल्याउने योजना उहाँको छ ।
अध्यक्षका उम्मेद्वार कुल आर्चाले नेपालमा बढ्दो सडक सुरक्षा कम गर्न चेतना जगाउन संबन्धित निकायसंग मिलेर काम गर्ने, नेपालको आर्थिक विकासको आधारशीला मानिएको पर्यटन विकासकालागि सबै देशका राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई परिचालन गर्ने र नेपालका विभिन्न क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा रोजगारी अभिवृद्धि गर्ने अभियानलाई पनि सफल बनाउने कार्यक्रम सार्नुभएको छ ।
कुमारका पाँच मन्त्र

सत्तारुढ दलसंग निकट देखिनुभएका अध्यक्षका प्रत्याशी कुमार पन्तले लगानीमा योगदान, नागरिकता र मतदानको अधिकार, सम्मानपूर्ण वैदेशिक रोजगारी,दिगो संगठन र व्यापक सहभागिताको नारा अगाडि सार्नुभएको छ ।
उहाँले आफ्ना कार्यक्रमका सम्बन्धमा अझ स्पष्ट पार्दै १० अर्बको एनआरएनए लगानी फण्डको स्थापना र परिचालन गर्ने बताउनुभएको छ । वर्तमान कार्यसमितिले विदेशमा सिकेको ज्ञान,सीप र प्रविधिलाई नेपालमा ल्याउनका लागि गरेको विज्ञ सम्मेलनबाट पारित निर्णय र कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन पनि उहाँले प्रतिबद्धता जनाउनुु भएको छ ।
उहाँले सरकारसंगको निकट सम्पर्कमा रहेर वैदेशिक रोजगारीमा देखिएका समस्याहरु हटाउने र वैदेशिक रोजगारीमा जानुपूर्व सीप विकास गर्ने व्यवस्था पनि सरकारसंगको समन्वयमा गरिने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । उहाँले सरकारसंगैको समन्वयमा रहेर वैदेशिक रोजगार राहत कोषको रकम दोब्बर बनाउने पनि कार्यक्रम सार्नुभएको छ ।
त्यस्तै उहाँले गैरआवासीय नेपालीको नागरिकताको प्राप्ती र मताधिकारको प्रत्याभूति गर्ने व्यवस्था गर्ने पनि बताउनुभएको छ ।
अध्यक्षका प्रत्यासी पन्तले संघको भिजन २०२० लाई कार्यान्वयनमा ल्याउने, गैरआवासीय नेपालीका नयाँ पुस्तालाई नेपालसंग परिचित गराउने कार्यक्रम ल्याउने र संघको आधार बलियो बनाउन न्यूनतम शुल्क वा निशुल्क पञ्जिकृत हुने ब्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
के होला त परिणाम ?

गैरआवासीय नेपालीहरु अर्थोपार्जनका उपयुक्त अवसर,मौलिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको खोजीमा विश्वका कुना कुनामा पुगेका नेपाली नागरिक नै हुन् । त्यसैले उनीहरुको पहिलो सरोकार कर्मभूमिमा दिक्क लागे स्वदेश फर्कदा नेपालमा पनि त्यस्तै स्वतन्त्र वातावरणमा काम गर्न सकियोस भन्ने रहनु स्वभाविक हुन्छ । उनीहरुले रगत र पसिना बगाएर कमाएको र वचाएको रकम नेपालमा सही सदुपयोग होस् भन्ने सदासय राखेका गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक स्वतन्त्रताको वातावरण विकास भएको देख्न चाहेका छन् । वर्तमान सरकारको जनताको आर्थिक अधिकारप्रति अथवा सम्पत्तिको अधिकारका प्रतिको धारणा स्पष्ट छैन् । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई भयमुक्त र आर्थिक स्वतन्त्रतायुक्त लगानीको वातावरण सिर्जना गराउनका लागि एनआरएनको आगामी नेतृत्वको अहम् भूमिका रहन्छ । त्यसैले यस संगठनको नेतृत्वमा सरकारको अनुदार र लगानी अमैत्रीपूर्ण नीतिलाई समर्थन गर्ने हैन, सरकारलाई विश्वका विकसित मुलुकहरुले अपनाएको स्वतन्त्र आर्थिक नीतिको मार्गमा डोर्याउन बाध्य पार्ने नेतृत्व आवश्यक देखिन्छ । यो गैरआवासीय नेपालीले गरेको लगानीको संरक्षणको लागि पनि जरुरी छ । समयको पदचाप बुझ्ने र नेपालभन्दा विकसित मुलुकहरुमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले उदार अर्थतन्त्र र राजनीतिक व्यवस्थाको खोजी गर्दा त्यसको लाभ कुल आर्चायले नेतृत्व गरेको समूहलाई हुन जाने निश्चित जस्तै दखिन्छ ।


















