Prakash Adhikari October 16, 2019

काठमाडौं,२९ असोज । महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंको टीयु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको महिला च्याम्पियन्स लिगको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई क्याट क्वीन्स काठमाडौंको मार्की खेलाडी रुविना क्षेत्री, ललितपुर फाल्कोन्सकी नेरी थापा, पोखरा पल्टनकी सीता रानामगर, चितवन राइनोजकी इन्दु बर्मा र विराटनगर टाइटन्सकी सरिता मगरले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

खेलको उद्घाटन बुधबार ११ बजे हुने जनाइएको छ ।

नेपालको महिला क्रिकेटको इतिहासमा पहिलो पटक हुन लागेको राष्ट्रिय लिग प्रतियोगिताका सहभागीहरु निकै उत्साही छन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान एवम् काठमाडौं क्याट क्वीन्सकी मार्की खेलाडी रुविना क्षेत्रीले पहिलो पटक यति ठूलो प्रतियोगिता अयोजना हुँदा आफू निकै खुशी र उत्साही रहेको बताउनुभएको छ । उहाँले आफ्नो टीम सक्षम र सबल रहेकोले उपाधिको दावेदार रहेको दावी पनि गर्नुभयो ।

पोखरा पल्टनकी कप्तान सीता रानामगरले ‘क्रिकेट करिअरको १२ वर्ष पछि एउटा फ्रेन्चाइज लिग सुरु हुन लागेको ’ बताउदै यसले महिला क्रिकेटको स्तर उठाउन ठूलो सहयोग पुग्ने बताउनुभयो ।उहाले भन्नुभयो, ‘हाम्रो लक्ष्य उपाधि नै हो ।

चितवन राइनोजकी इन्दु बर्मा र विराटनगर टाइटन्स की सरिता मगर र ललितपुर फाल्कोनकी नेरी थापाले पनि आफ्नो टिमको लक्ष्य उपाधि जित्ने भएको दाबी गरे ।

महिला च्याम्पियन्स लिग क्रिकेटको विजेताले ७ लाख नगदसहित ट्फी हात पार्ने छ । त्यस्तै, उपविजेताले ३ लाख नगद पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार नगद हात पार्ने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलका ओमन अफ दि म्याच लाई नगद ५ हजारको पुरस्कारले सम्मानित गरिने छ ।

Share Now

Leave a comment.