Prakash Adhikari October 19, 2019

 

काठमाडौं, २ कार्तिक । नेपाल भ्रमण बर्ष २०२० ले शनिबारदेखि नयाँ गति पाएको छ । नेपाल भ्रमण बर्ष सचिवालयले विश्वको सबैभन्दा बढी जनसंख्या भएको छिमेकी मित्रराष्ट्र चीनका पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्नका लागि चिनियाँ मूलकी हलिउड अभिनेत्रीलाई पर्यटन बर्षको सद्भावना दूत नियुक्त गरेको छ ।

शनिवार राजधानीमा आयोजित एक विशेष समारोहमा अभिनेत्रीलाई सद्भावना दूत नियुक्त गरियो । कार्यक्रममासंस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त हुनुभएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उहाँले हासो थाम्न सक्नु भएन । लजालु स्वभावमा उहाँ मुस्कुराउनुभयो । मख्ख शैलीमा उहाँ हासेको देखेर उपस्थित आयोजक तथा पत्रकारहरु समेत दंग परेका थिए ।

प्रत्युत्तरमा अभिनेत्री सी छिङले भन्नुभयो, ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ । बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु । धन्यवाद !’

नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङ गम्पोसंग विबाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिनुभएको हो ।

मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा भन्नुभयो, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु । अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु । चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपालका बारेमा पक्कै पनि दुई शब्द बोल्नु हुनेछ ।’

टोली सहित नेपाल आउनुभएकी अभिनेत्री छिङसंग नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आज औपचारिक कार्यक्रमगरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैधले चिनिया अभिनेत्री छिङ चीनमा मात्रै नभएर विश्वमै चर्चित भएको बताउनुभयो ।उहाँले केही दिन पहिले आफू दक्षिण कोरिायमा हुदा समेत उहाँको बारेमा चर्चा सुनेको बताउनु भयो ।

नेपाल भ्रमण वर्ष एउटा इभेन्ट मात्रै नभएर देशको मेरुदण्ड भएको बताउनुभयो । आर्थिक विकासको पाटोमा पर्यटनले ठूलो अर्थ राख्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि छिङलाई नेपालमा स्वागत गर्दै शुभकामना दिनुभयो ।

Share Now

Leave a comment.