काठमाडौं, १४ कार्तिक । नेपाल सरकारको आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य प्राप्तिमा विश्व बैंकले सघाउने भएको छ ।
विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले बिहिबार अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
विश्व बैंकको एक उच्चस्तरीय प्रतिनिधि मण्डल अहिले नेपाल भ्रमणमा रहेको छ ।
भ्रमण टोलीसंग बिहिबार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले भन्नुभएको छ, “शीघ्र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सोचसहित अघि बढेको वर्तमान सरकारको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गर्ने दृढता बैंकको उच्च प्रतिनिधिमण्डलले व्यक्त गरेको छ । ”
सङ्घीयता कार्यान्वयनमा भएको उत्साप्रद प्रगति, वित्तीय सङ्घीयता बुझेको अर्थ मन्त्रालयको नेतृत्वको सराहना गर्दै प्रतिनिधिमण्डलले जनताका अपेक्षा, सेवा प्रवाहमा क्षमता अभिवृद्धिबारे अर्थमन्त्रीसँग चासो प्रकट गरेको थियो ।
विश्व बैंकको सहयोगबाट नेपालजस्ता देशमा परेको प्रभाव, उसले उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋणको प्रभाव, द्वन्द्व र विपद्बाट आर्थिक रुपमा धक्का झेलेका राष्ट्रको अबको अवस्था, राजनीतिक सङ्क्रमण, राज्य प्रणाली तथा सङ्घीयता कार्यान्वयनको स्थितिबारे जानकारी लिन सो उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको हो ।
उक्त प्रतिनिधिमण्डलले नेपाललाई सहायताको उच्च प्राथमिकतामा राखेको यथार्थ पनि अर्थ मन्त्रालयलाई अवगत गराएको थियो ।
प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री ओलीको स्वास्थ्योपचारमा रहेकोले भेट्न संभव भएन ।
अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष विश्व बैंकको सहयोग निरन्तर रहने सन्देश पुर्याइदिन आफूलाई अनुरोध गरेको बताउनुभएको छ ।