धनगढी(कैलाली), २६ पौष । दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा संकटा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको विभागीय टीम सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा सिएमजी क्लब संकटालाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुग्न सफल भएको हो ।
एपीएफका तर्फबाट दुवै गोल अन्जन विष्टले गरेका थिए ।
श्याम नेपालीको पासमा युवराज खड्काले भेट्न नसकेको बललाई विष्टले हेडमार्फट २३ औं मिनेटमा गोलमा परिणत गरेका थिए । उनले अर्को गोल ८५ औं मिनेटमा गरेका थिए ।
संकटाविरुद्ध दुई सुन्दर गोल गरेका अन्जन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।
अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिम र एपीएफबीचको खेल आइतबार हुनेछ ।
प्रतियोगिता अन्र्तगतको तेस्रो क्वार्टरफाइनलमा बिहिबार रुस्लान थ्री स्टार क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
थ्री स्टारले रमपम झापा–११ लाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने आर्मीले वाई पाएर क्वार्टरफाइनलमा पुगेको छ ।