काठमाडौं, २६ कार्तिक । नेपालको प्रतिष्ठित ब्यापारिक घरानामध्येको ज्योति ग्रुपलाई वद्नाम गराउन ठूलै गिरोह सक्रिय भएको अनुमान गरिएको छ ।
ज्योति ग्रुपको समेत साझेदारीमा रहेको ल्याण्डमार्क डेभलपर्सले आफूलाई संझौता बमोजिमको घर निर्माण गरेर नदिएको र रकम पनि फिर्ता नदिएको दावीसहित विजेन्द्रकृष्ण मल्लले प्रहरीमा दिएको उजुरीका आधारमा ज्योति घरानाका सदस्य एवम् पूर्व अर्थराज्य मन्त्री रुपज्योति र उनकी छोरी सुरुचिलाई पक्राउ गरेकै अवस्थामा थप अनुसन्धानको नाममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगपति पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले रूप ज्योति र उहाँकी छोरी सुरुचिलाई कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं आउदा एअरपोर्टबाटै पक्राउ गरेको थियो। दुवैलाई अनुसन्धानको नाममा पहिले ३ र पछि ५ दिन म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ ।
म्याद थपको क्रममा अदालतमा आफै बहसमा उत्रनुभएका उद्योगपति एवम् पूर्व अर्थ राज्यमन्त्री रुप ज्योतिले विवादित विषयमा जाहेरीवाला विजेन्द्रकृष्ण मल्लले बुझाएको भनिएको रकम बराबरको रकम र कोर्ट फि आफूले अदालतमा पहिल्यै जम्मा गरिसकेकोले यस विषयमा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको जिकीर गर्नुभएको थियो ।
अदालतबाट पूर्वमन्त्री रुप ज्योति र उहाँकी छोरीलाई हिरासतमुक्त गर्ने आदेश आउने प्रतिक्षामा रहेको ज्योति परिवारलाई अर्को अनपेक्षित चोट परेको छ, यसै प्रकरणमा ज्योति ग्रुपका अध्यक्ष तथा नेपालमा नैतिक व्यापार(इथिकल विजनेश) गर्नुपर्ने अवधारणालाई मलजल गरिरहनुभएका पद्म ज्योतिलाई पनि अदालतले पक्राउ पूर्जी आदेश जारी गरेको छ ।
जाहेरीवाला विजेन्द्रकृष्ण मल्लले काठमाडौं महानगरपालिका ३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रा.लिसंग आफूले २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता अनुरुप भएको लेनदेन कारोबारमा घर पनि नपाएको र दिएको अग्रिम भुक्तानीको रकम पनि नपाएको दावी गर्नुभएको छ । सो कम्पनीमा ज्योति ग्रुप पनि साझेदार रहेको छ ।
सम्झौतामा ६ आना ३ दाम २ ।१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्नुपर्ने त्यस बापत मल्लले ल्यान्डमार्कलाई १ करोड ३६ लाख रुपैयाँ अग्रिम बुझाउनु पर्ने घर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने शर्त सम्झौतामा थियो।
ल्यान्डमार्कले सो स्थानमा घर निर्माण गर्न सिई कन्स्ट्रक्सन कम्पनीलाई जिम्मेवारी दियो । सिई कन्स्ट्रक्सन सञ्चालक शम्भु फुयाँल हुन्। विजेन्द्रकृष्णको संझौता अनुरुपको रकम सिई कन्स्ट्र्क्सन कम्पनीले बुझेको ज्योति ग्रुपको भनाई छ । मल्लले नि सिई कन्सट्रक्सनका नामबाट एक वर्षअघिसम्म ल्यान्डमार्कको हाउजिङ खरिदका लागि एक करोड ३६ लाख बुझाएको बताएका छन्। तर पैसा बुझ्ने सिई कन्स्ट्रक्सन र शम्भु फुँयालका विरुद्धमा जाहेरी नपरेर ल्याण्डमार्कका नाममा पर्नु र भकाभक ज्योति ग्रुपका सदस्यलाई अपमानपूर्वक पक्राउ गर्नुले यसमा ठूलै षड्यन्त्रको आभाष भएको व्यापारीहरुको बुझाइ छ ।
विजेन्द्रकृष्ण मल्ले भने पैसा झाइसकेपछि मालपोत कार्यालयमा गएर बुझ्दा आफूले पाउने भनेको घरजग्गा ल्यान्डमार्कबाट २०७४ साल कात्तिक २४ गते रूपज्योतिकै छोरीलगायतको नाममा भएको क्वालिटी डेभलपर्सको नाममा हस्तान्तरण भइसकेको उनीहरुविरुद्ध मुद्दा दिन परेको बताउनुभएको छ । मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि प्रहरीले रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट २०७५ मंसिर २० गते पक्राउ पूर्जी जारी गर्न अनुमति ल्याएको थियो। सो आदेशलाई खारेज गर्न मंसिर २५ गते सर्वोच्च अदालत पुग्नुभएका रुप ज्योतिले आफ्नो पक्षमा अन्तरिम आदेश ल्याउनुभएको थियो । तर यही कात्तिक १८ गते प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको माग दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिए पछि यो विवाद पुन उल्झियो ।
अदालतले रीट खारेज गरेपछि जिल्ला अदालतको आदेश कार्यान्वयनको लागि मल्लले प्रहरीमा पूरक निवेदन दिनुभयो र सिंगापुरबाट नेपालको एअरपोर्टमा उत्रनेवित्तिकै रूपज्योतिलाई बिहिबार बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गरियो ।
ज्योति परिवारले विवादित विषयको अग्रिम भुक्तानी पनि शम्भु फूँयालको कम्पनी सीई कन्स्ट्र्क्सनले बुझेको र जिल्ला अदालतमा मुद्दा परेपछि बुझाउनु पर्ने भनिएको रकम र कोर्ट फि पनि फुँयालमार्फत नै कोर्टमा दाखिला भैसकेकोले हिराशतमा लिएर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको दावी गर्दै आएको छ ।
संसदीय समितिले तस्कर र माफिया भनेर किटानी गरेका व्यापारीहरुलाई राज्यको प्रतिनिधित्व हुने राजकीय भ्रमणहरुमा ससम्मान समावेश गर्ने नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले नैतिक व्यापारको विकास र विस्तार गर्ने घरानाका मूलीलाई नै तारो बनाउनुलाई तस्कर व्यापारीहरुको दाउपेच भन्ने ब्यापारीहरुको पनि कमी छैन् ।


















