Prakash Adhikari November 12, 2019

काठमाडौ, २५ कार्तिक । मन्त्रिपरिषद् पुनर्गठनको हल्लाले सोमबार शेयर बजारमा एकाएक सुधार देखियो ।

झण्डै साढे २ महिनापछि शेयर कारोबारले ५० करोडको सीमा नाघ्यो । यस पहिले भदौ १७ गते ५१ करोडभन्दा बढीको शेयर खरीद बिक्री भएकोमा कात्तिक २५ गते ५५ करोडको कारोबार भएको हो।बीचमा दशै तिहार जस्ता चाडबाडका कारण सेयरबजारले गति लिन सकेको थिएन् ।

सोमबार कारोबार र रकम दुवै बढेको छ। यस दिन १ सय ७५ कम्पनीको ६ हजार ६ सय ४८ कारोबारमा ५४ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको १९ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ।

सोमबार नेप्से परिसूचक १३.७७ अंक बढेर ११४५.५७ बिन्दुमा पुगेको छ।

नेप्से उकालो लागेसँगै यस दिन ४ कम्पनीहरुको सेयर मूल्य १०प्रतिशत बढेर सर्किट लागेको छ। सोमबार हिमालयन डिष्टिलरी, सबैको लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य बढेर सर्किट लाग्यो।

हिमालयन डिष्टिलरीले १०२.५६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका कारण शेयरमूल्य बढेको हो। त्यसैगरी, सबैको लघुवित्तले १३ प्रतिशत बोनस शेयर र रिडी हाइड्रोपावर ५ प्रतिशत बोनस शेयर घोषणा गरेका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन्।

कारोबार रकमका हिसाबले एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको थियो । मर्जरपश्चात गत बिहिबारदेखि कारोबारमा आएको एनएमबी बैंकले ३५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यसको शेयरमा झुम्मिएका छन् । यो वाणिज्य बैंकहरुले हालसम्म घोषणा गरेकोमध्ये उच्चतम हो।

सोमबार अन्य उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

Share Now

Leave a comment.