दुबाई(संयुक्त अरब इमिरेट्स), २५ कार्तिक । नेपाल क्रिकेट संघमा निर्वाचित नेतृत्व आएपछि नेपालले क्रिकेट जितेको सुखद खबर सुन्न दुर्लभ भएको छ । नयाँ कार्य समितिले जिम्मेवारी दिएका विभिन्न राष्ट्यि टीमहरु राम्रोसंग सम्हालिन सकेका छैनन् । परिणाममा मैदानमा प्रतिस्पर्धीलाई पराजित गराउन नेपाली टिमलाई कठिन हुँदै गएको छ भने अन्तराष्ट्रिय क्रिकेट परिषदको टी २० क्रिकेटको खेलाडी वरियतामा परेका नेपालका चर्चित खेलाडी पारस खड्का र सन्दीप लामिछानेसहित सबैको वरियता स्तर खस्केको छ ।।
आईसीसीले सार्वजनिक गरेको ब्याटिङको नयाँ वरियतामा पारस खड्का यस अगाडिको ४५ स्थानबाट झरेर ५५ औं स्थानमा पुगेका छन् । उनी अझै ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि छन् ।
यस्तै अलराउण्डर वरियतामा पनि यस अगाडि २४ औं स्थानमा रहेका हाल ३२ औं स्थानमा पुगेका छन ।
अलराउण्डरमा अघि ६२ औं स्थानमा रहेका सोमपाल कामी अहिले ६७ स्थानमा पुगेका छन् भने पहिले ८२ औं स्थानमा रहेका करण केसी ८८ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ यस पहिले ६४ औं स्थानमा रहेका सन्दीप लामिछाने अहिले ६९ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ यस अगाडि ६८ औं स्थानमा रहेका सोमपाल कामी हाल ८५ औं र पहिले ८३ औं स्थानमा रहेका करण के.सी हाल १०० औं स्थानमा पुगेका छन् ।
अघिल्लो वरियतामा ९० औं स्थानमा अटाएका नेपाली बलर बसन्त रेग्मी र १०० औं स्थानमा रहेका अविनास बोहरा शीर्ष १०० बाट बाहिरिएका छन् ।
नेपालको खेल जगतमा आशा लाग्दो खेलको रुपमा स्थापित भएको क्रिकेट खेलको वरियतास्तरमा आएको ह्रासलाई नवनिर्वाचित नेपाल क्रिकेट संघका पदाधिकारीहरुले गम्भिरतापूर्वक लिनुपर्ने अवस्था छ ।
एकातिर खेलाडीहरुको स्तर अभिबृद्धिको लागि राष्ट्रिय प्रतियोगितालाई बढाउदै लैजानु पर्ने देखिन्छ भने अन्तराष्ट्यि प्रतियोगितामा सहभागिता पनि बढाउदै जानु पर्ने छ ।
गत बर्ष एक दिवसीय मान्यता पाए पछि नेपाली क्रिकेट खेलमा जुन किसिमका अवसरहरु सिर्जना हुने अपेक्षा थियो, खेलको व्यवस्थापन गर्ने राष्ट्रिय निकाय क्रिकेट संघ नै निलम्बनमा परेकोले सो अनुकूल वातावरण बन्न सकेको थिएन । अब नयाँ नेतृत्व आएकोले उसले निदाएर बस्ने फुर्सद र सुविधा पाउनु हुँदैन ।
खेल र खेलाडी दुवैको स्तरोन्नतिका कार्यक्रम ल्याउन अत्यावश्यक देखिन्छ ।


















