Prakash Adhikari November 12, 2019

 

काठमाडौँ,,२६कार्तिक(रासस) । नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो ।

भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गर्नुभएको थियो ।

भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताउनुभएको थियो । नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने बताउनुभयो । उहाँले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Share Now

Leave a comment.