Prakash Adhikari November 12, 2019

 

डँडेलधुरा, २६ कार्तिक । चिकित्सा शिक्षा र स्वास्थ्योपचारसंग सम्बन्धित संस्थाहरुको सुधारको सुधारको माग राख्दै नौ दिनदेखि डँडेलधुरामा अनसनरत डा. गोविन्द के.सी.ले मंगलबार अनसन तोड्नु भएको छ ।

उहाँले राष्ट्रियताको संवेदनशील विषयमा देशभर जनस्तरबाट आवाज उठिरहेकोले सम्पूर्ण नेपालीको राष्ट्रियताप्रतिको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको उहाँका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।

उहाँले अनसन स्थगित भए पनि स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाइँ जारी रहने भन्दै माग पूरा नभए पनि आन्दोलनमा उत्रिने चेतावनी पनि दिनुभएको छ।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समाचारले आफू स्तब्ध भएको डा.केसीले उल्लेख गर्नुभएको छ।

उहाँले सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।

अनसन स्थगनको अवसरमा डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेख्दै नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न आग्रह गर्नुभएको थियो।

उहाँले पत्रमा नेपाल र भारत मिलेर स्वास्थ्य क्षेत्रका साझा समस्यासँग लड्नुपर्ने आवश्यकता समेत औँल्याउनुभएको छ।

उहाँको पत्र काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइएको छ

Share Now

Leave a comment.