Prakash Adhikari January 11, 2018

काठमाडौं, २७ पौष । सीमावर्ती भारतीय नगर रक्सौलका बासिन्दाको विरोधपश्चात् केही सातायता वीरगञ्जको नाकाबाट सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर आयात हुन रोकिएपछि सरकारले नेपालकै भूभागमा क्लिंकर झार्ने व्यवस्था मिलाउनेबारे सोचिरहेको बताएको छ।

क्लिंकरको धुलोले प्रदूषण भएको भन्दै रक्सौलका बासिन्दाले त्यहाँ नेपालले आयात गरेको क्लिंकर झार्न नदिएपछि खासगरी वीरगञ्ज क्षेत्र वरपर रहेका करिब एक दर्जन सिमेन्ट कारखानालाई पूर्ण रुपमा असर परेको व्यवसायीहरूले बताएका छन्।

सिमेन्ट उत्पादन गर्ने मुख्य समयमै कच्चा पदार्थको अभाव यसरी बढ्दै गए यसले देशभरका अन्य सिमेन्ट उत्पादक कम्पनीलाई समेत नकारात्मक असर पर्न सक्ने चेतावनी व्यवसायीहरूले दिएका छन्।

प्रदूषणका कारण देखाइ सीमावर्ती भारतीय नागरिकहरूले रक्सौल नाकामा क्लिंकर झार्न नदिएपछि करिब दुई साता यता वीरगञ्ज नाकाबाट सो कच्चा पदार्थ आयात हुन सकेको छैन।

समाधान

समस्या लम्बिँदै गएपछि सरकारले अब त्यसको वैकल्पिक समाधानबारे सोचिरहेको अधिकारीहरूले बताएका छन्।

क्लिंकर झार्ने गर्ने विषयलाई लिएर भारतीय पक्षसंग पनि विभिन्न चरणमा छलफल गरिसकेको सरकारी अधिकारीहरूले बताएका छन्।

अब यसको दीर्घकालीन समाधान भनेको नेपालकै भूभागमा क्लिंकर झार्ने व्यवस्था मिलाउनु नै देखिएको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजुले बताए।

वीरगञ्जको अहिलेको सुख्खा बन्दरगाहबाट ५(७ किलोमिटर नजिकै कुनै जग्गा खोजेर त्यहाँ छुट्टै बन्दरगाह बनाउनेमा हामी लागि रहेका छौँ
रविशंकर सैँजु, प्रवक्ता, वाणिज्य मन्त्रालय

उनले भने, ‘वीरगञ्जको अहिलेको सुख्खा बन्दरगाहबाट ५(७ किलोमिटर नजिकै कुनै जग्गा खोजेर त्यहाँ छुट्टै बन्दरगाह बनाउनेमा हामी लागि रहेका छौँ। जग्गा खोज्न त्यहाँ हाम्रो टोली गएका छन्। त्यो भयो भने हामी तीब्र गतिमा काम अघि बढाउनेछौँ। ‘

अभाव

साथै अन्य नाकाबाट क्लिंकर ल्याउन सकिने बारे पनि चर्चा चलेको छ।

तर वीरगञ्ज नाकाबाट ल्याउने भनि व्यवस्था मिलाइसकिएका क्लिंकरलाई अब अन्य नाकाबाट ल्याउने व्यवस्था मिलाउन निकै धेरै समय र श्रोत लाग्ने व्यवसायीहरूले बताउँदै आएका छन्।

त्यसकारण यसपटकको सिजनको लागि माग भएका क्लिंकर त्यहीँबाट आउन पर्ने उनीहरूको भनाई छ।

सिमेन्ट उत्पादनको लागि चाहिने महत्वपूर्ण कच्चा पदार्थ क्लिंकरको अभावले मुख्यगरी वीरगञ्ज वरपरका कारखानामा प्रभाव परेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए।

धेरै माग हुने बेलामा आपूर्ति पनि ठ्याक्कै बन्द भयो भने बजारमा समस्या श्रृजना हुन्छ
ध्रुव थापा, अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

माग

उनले भने, ‘वीरगञ्ज वरपरको सिमेन्ट कारखाना बन्द हुने अवस्थामा पुगिसक्यो। बजारको मागको ४० प्रतिशत सिमेन्ट वीरगञ्जबाट आउँछ फेरि अहिले सिमेन्टको माग बढी हुने समय हो। यसरी धेरै माग हुने बेलामा आपूर्ति पनि ठ्याक्कै बन्द भयो भने बजारमा समस्या श्रृजना हुन्छ। ‘

क्लिंकर आयात वापत सरकारले यस आर्थिक वर्षमा हालसम्म करिब १ अर्ब ५१ करोड रुपियाँ राजश्व संकलन गरिसकेको वीरगञ्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए।

विगत केही सातायता यसको आयात रोकिएपछि हालका निम्ति यसले राजश्व संकलनमा असर परेको प्रमुख पोखरेलले बताए।

उनले भने, ‘क्लिंकरबाट वीरगञ्ज भन्सारले प्रति महिना करिब ३५ करोड रुपियाँ संकलन गर्ने गरेको थियो। क्लिंकर आयात बन्द भएपछि त्यसबाट संकलन हुने राजश्व अब प्राप्त नहुने देखिन्छ।’

कच्चा पदार्थको अभावका कारण महत्वपूर्ण निर्माण सामाग्री सिमेन्टको मूल्य बढ्न सक्ने चिन्ता व्यक्त भएका छन्।

अनि त्यसले भूकम्पपछिको पुनर्निर्माण अभियानमा समेत असर पर्ने ठानिएको छ।(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.