ढाका(बंगलादेश), २ मंसिर । बंगलादेशमा भैरहेको एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । यो हारसंगै नेपालको इमर्जिड. एशिया कपको यात्राले बिट मारेको छ ।
नेपाल समूह चरणको पहिलो खेलमा भारतसंग ७ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा हंगकंगलाई ४० रनले पराजित गरेको थियो। सेमीफाइनल प्रवेश गर्न नेपालले बंगलादेशलाई पराजित गर्ने पर्ने थियो। तीन खेलमा दुई खेलमा पराजित भएकोले समुह ‘बि’ बाट नेपाल र हंगकंग बाहिरिए भने भारत र बंगलादेश सेमीफाइनलको यात्रा तय गरे ।
खेलमा पहिले ब्याटिंग गरेको नेपालले मात्र १ सय ३८ रन जोडेको थियो । १ सय ३९ रनको लक्ष्य लिएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा २४ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो ।
बंगलादेशको ब्याटिंगमा नज्मुल सान्टोले अविजित ५६,ओपनर नैम शेखले ४५ , यासिर अलि चौधरीले अविजित १८ र ओपनर सौम्य सरकारले ११ रन बनाएर ।
बंगलादेशलाई रोक्ने क्रममा नेपालका करन केसी र सुशन भारिले एक एक विकेट लिए ।
नेपालको ब्याटिंग
अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।नेपालका लागि सोमपाल कामीले ३८ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २२ रनमा आउट भए । ,नेपालका लागि करण के.सीले १८ आरिफ शेख ११, कुशल भुर्तेल १० , पवन सर्राफ ९, तथा बिनोद भण्डारी ८ , दिपेन्द्र ऐरि ६ र शरद भेषवाकरले १ रनको योगदान दिए । सन्दिप जोरा खाता नखोली आउट भए ।
नेपालको खेलमा राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको सख्त अभाव खड्कियो । दुवै खेलाडिहरु आबुधाबी टी १० प्रतियोगितामा आबद्ध भएकोले उनीहरु इमर्जिड. एशिया कपमा सहभागी हुन पाएनन् ।
बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३। ३ विकेट हात लिए ।यस्तै तान्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।