Prakash Adhikari November 21, 2019

 

आबुधावी(संयुक्त अरब इमिरेट्स), ५ मंसिर । युएईमा भैरहेको आबुधावी टी १० लिग अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो टीम कर्नाटका टस्कर्सको लागि पाँचौ खेलमा २ विकेट लिएका छन तर टीमले भने पराजयका सामना गरेको छ । यो सहित उनको टीम तेश्रो हार ब्यहोर्दै अंकतालिकाको पुछारमा पुगेको छ।

शेख जायद स्टेडियम, आबु धाबीमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कलन्दर्सले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा कर्नाटकाले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो।

हार पछि कर्नाटका ५ खेलमा १ जित , ३ हार र एउटा नतिजाविहिन अंकका साथ ३ अंक बटुल्दै अंकतालिकाका पुछारमा पुगेको छ। पारस खड्का आबद्ध टिम आबुधाबी ४ अंकसहित छैठौं स्थानमा रहेको छ। लिग अन्तर्गत कर्नाटकाले आगामी खेल पारस खड्का आबद्ध टिमआबु धाबीसंग शुक्रबार खेल्नेछ। खेल नेपाली समय राति ९ ः ४५ बजे सुरु हुनेछ।

लक्ष्य पछ्याउने क्रममा कर्नाटकाको रायन टेन डेस्काटेले सर्वाधिक २५, जोन्सन चार्ल्सले २४ रन बनाए। कप्तान हासिम अमला मात्र २ रन बनाएर आउट भए। नवौं नम्बरमा ब्याटिंग गरेका सन्दीप लामिछानेले ७ बलमा ५ रन बनाए।
कलन्दर्सको बलिङ्गमा सुल्तान एहमद र जर्ज गार्टनले २ । २ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै कलन्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो।कलन्दर्सको लागि ओपनिङ्ग ब्याट्सम्यान टम बान्टनले सर्वाधिक ८० रन बनाए। लौरी इभान्सले १७, फिलिप साल्टले ११ तथा सुल्तान एह्मदले अविजित १३ रन बनाए। कर्नाटकाको बलिङ्गमा एहमद राजा र सन्दीप लामिछाने २ ।२ विकेट लिए।

पाँचौ ओभरमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दीपको पहिलो बलमा टम बान्टनले चौका प्रहार गरे । त्यसपछि लगातार २ छक्का प्रहार गरे। चौथो र पाँचौ बलमा १ ।१ रन दिएका सन्दीलाई पुनः अन्तिम बलमा बान्टनले चौका प्रहार गरे। पहिलो ओभरमा सन्दीप २२ रन खर्चिए पनि विकेटविहिन रहे।

दोश्रो ओभरमा सन्दीपलाई भाग्यले साथ दियो । पहिलो बल वाइडबाट सुरु गरेका उनले त्यसपछि १ र २ रन दिए। त्यसपछिको बलमा चौका प्रहार भयो । पाँचौ बलमा उनले बान्टनलाई एलबीडब्लुमा आउट गरे । अर्को बलमा उनले कोहलर काडमोरलाई बोल्ड गरे।

२ ओभरमा सन्दीपले ३० रन खर्चेर २ विकेट लिए ।

टी१० लिग अन्तर्गत सन्दीपले ५ खेलमा ६ विकेट लिईसकेका छन्। यस क्रममा उनले पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट, बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट, डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्च गर्दा विकेटविहिन तथा मराठा अरबीयन्स बिरुद्ध २५ रन खर्चेर १ विकेट लिएका थिए।
टी १० को अघिल्लो सिजनमा सन्दीपले ६ खेलमा ६ विकेट लिएका थिए ।

Share Now

Leave a comment.