काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल पुग्नुभएको छ।
मिर्गौला रोगले पीडित प्रधानमन्त्री नियमित स्वास्थ्य जाँचपछि आजै साँझ निवासमा फर्कने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
१२ वर्षअघि भारतमा पप्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो ।
प्रत्यारोपित मृगौलाबाट काम गर्न समस्या उत्पन्न भएपछि प्रधानमन्त्री गत साउन महिनादेखि सघन स्वास्थ्योपचारमा हुनुहुन्छ ।
साउन महिनाको तेस्रो साता सिंगापुरमा स्वास्थ्योपचार गरेर फर्कनुभएका प्रधानमन्त्री एक हप्ता पछि भदौंको पहिलो साता पुन सिंगापुर बसेर प्लाज्मा फेरोसिस विधिबाट शरीरमा उत्पन्न एण्टीबडीलाई अपेक्षित स्तरमा झारेर फर्कनुभएको थियो ।
त्यस यता पनि उहाँ नियमित स्वास्थ्य परीक्षणको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र ग्राण्डी अस्पताल पुग्ने गर्नुभएको छ ।
३ हप्ताको बीचमा उहाँको ३ पटक डायलासिस भैसकेको छ ।
नियमित डायलाइसिसबाट चलाउने कि पुनः मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीको स्वास्थ्य टीमले कुनै निष्कर्षमा पुगेको छैन् । पार्टीका नेताहरु भने उहाँको स्वास्थ्य बाहिर अनुमान गरिएजस्तो खराब नभएको दाबी गरिरहेका छन् ।


















