हंगकंग(चीन), ९ मंसिर(बीबीसी)। हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विजय हासिल गरेको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको छ।
बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन्। चुनावमा २९ लाख मतदाता सहभागी भएका थिए।
त्यसको अर्थ ७१ प्रतिशत मतदाता मत हाल्न आएका थिए। जबकि सन् २०१५ को चुनावमा ४७ प्रतिशत मतदाताले मतदान गरेका थिए।
क्यारी लामको समर्थनको परीक्षा

यो चुनावलाई सङ्कटमा परेकी हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षाको रूपमा हेरिएको थियो।
चुनावमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी समूहहरूले पाँच महिनासम्मको तनाव र प्रदर्शनपछि चिनियाँ सरकारलाई स्पष्ट सन्देश दिन चाहेको देखिएको छ।
बेइजिङ पक्षधर उम्मेदवारहरूले पाँच महिनादेखि चलिरहेका प्रहरी- प्रदर्शनकारी झडपप्रतिको असन्तुष्टि पोख्न आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।
हङ्कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्या मध्ये ४१ लाख मतदाता नामावालीमा समावेश थिए।
हङ्कङका जिल्ला पार्षदहरूले शहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा सरोकार राख्दछन्।
शहरको प्रमुख कार्यकारी रोज्ने विषयमा उनीहरूको कुनै भूमिका हुँदैन।
मतदान गर्ने क्रममा क्यारी लामले जिल्ला परिषदका आवाजलाई अझै ध्यान दिएर सुन्ने बताएकी थिइन्।
को को अगाडी आए?
पछिल्लो खबरअनुसार बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित हुन पुगेका छन्।
उनलाई यसै महिनाको सुरुतिर एक नक्कली समर्थकले छुरा प्रहार गरेका थिए।
उनले खुल्लमखुल्ला हङ्कङ प्रहरीको समर्थन गरेका थिए।
हङ्कङमा प्रदर्शनहरूको आयोजना गर्दै आएको समूह नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शामले पनि जित हासिल गरेका छन्।
शामलाई हालै दुई पटक आक्रमण गरिएको थियो। प्रजातन्त्र समर्थक अभियानकर्ता जोशुवा वोङलाई चुनाव लड्न दिइएन।
The total number of votes cast today is over 2.94 million, with a final voter turnout of 71.2 percent, the highest ever in Hong Kong’s history. It was 58.28 percent in 2016 and 47.01 in 2015. Thank you, Hong Kongers!
— Jeffrey Ngo 敖卓軒 (@jeffreychngo) November 24, 2019
Stand News just called it. At least 240 seats won by the opposition, securing a majority. The other side only has 28 so far. https://t.co/eq0tZhiZAh
— Jeffrey Ngo 敖卓軒 (@jeffreychngo) November 24, 2019
आफूलाई राजनीतिक रूपमा प्रतिबन्धित गरिएपनि उनको स्थानमा उठेका प्रजातन्त्रवादी उम्मेदवार पनि विजयी भएको बताइएको छ।
चुनावमा हार भोगेकी बेइजिङ समर्थक सांसद एलिस माकले पराजयको आंशिक दोष कार्यकारी प्रमुख लामको शासन शैलीलाई दिइन्।
तर शहरको सबैभन्दा ठूलो बेइजिङ पक्षधर दलकी सहअध्यक्ष स्टारी लि वाइकिङले आफ्नो स्थान सुरक्षित गरेकी छन्।
दबाब
बीबीसीका चीन संवाददाता भन्छन् बेइजिङ पक्षधरहरू यसरी पराजित हुन्छन् भनेर कसैले सोचेका थिएनन्।
आउने दिनमा अब क्यारी लाम प्रशासन प्रदर्शनकारीका कुरा सुन्न थप दबाबमा पर्नेछ।
हङ्कङको चुनावी व्यवस्था अनुसार ११७ जना जिल्ला पार्षदहरू पनि कार्यकारी प्रमुख चुन्ने १,२०० सदस्यीय समितिमा रहनेछन्।
त्यसैले नगरको नयाँ नेता छान्न उनीहरूको पनि केही न केही भूमिका हुने गर्दछ।


















