काठमाडौ, २७ पौष । १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
सातदोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को मैदानमा बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गरी सशस्त्रको एपीएफ क्लबले उपाधि जितेको हो ।
बिहीबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम क्षेत्रीय टिमलाई ७–० ले हराउँदै नेपाल आर्मी प्रतियोगिताको उपविजेता बन्यो ।
राखेप महिला लिग फुटबल बिजेता एपिएफले उपाधिसहित नगद २ लाख पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता नेपाल आर्मीको विभागीय टीमले १ लाख पुरस्कार पाएको छ भने तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ५० हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक अन्जली सुब्बा घोषित भईन् भने उत्कृष्ट डिफेन्डर अन्जली वाइबा घोषित भईन् ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर दिपा राई घोषित भईन् भने उत्कृष्ट फरवार्ड साबित्रा भण्डारी घोषित भईन् ।
भण्डारीले प्रतियोगिताभरि कुल २९ गोल गरिन् ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षक जनक सिंह घोषित भए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट भएका सबैले जनही २५–२५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् ।