काठमाडौं, ११ मंसिर । मंगलबार अकास्मात एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरमा राखिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटरमा राखेर उपचार भएपनि शल्यक्रियापछि कुनै प्रकारको जटिलता नथपिएको बताउनुभएको छ । उहाँका अनुसार ‘एपेन्डिसाइटिसको अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको छ । ‘एनेस्थेसिया सुरु गरेदेखि नै उहाँको स्वास्थ्यको पूर्ववत् अवस्थालाई समेत ध्यान दिँदै श्वास प्रश्वासमा कुनै समस्या नआओस भनि भेन्टिलेटरमा राखिएको हो। अपरेसनपछि कुनै प्रकारको जटिलता थपिएको छैन।
सोमबार रातिदेखि पेटमा पीडा भएपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथेरासिस भल्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार मध्यान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
यसैबीच अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ साढे ७ बजे जारी गरेको बुलेटिनमा उहाँको स्वास्थ्य स्थिति स्थिर रहेको जनाइको छ।

स्वास्थ्य स्थिति गम्भीर !
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर भन्नु र प्रधानमन्त्री भेन्टिलेरमा रहनुले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था बाहिर प्रचार गरिएभन्दा बढी जटिल र गम्भीर भएको निश्कर्ष अन्य चिकित्सकहरुले निकालेका छन् ।
प्रधानमन्त्री ओलीको एपेन्डिसाटिस पेटभित्रै फुटेको र त्यसको कारण संक्रमण भएको बताएका छन्। एपेण्डिसाइटिस फुटेर भएको संक्रमणलाई गम्भीर मानिन्छ । प्रधानमन्त्री ओलीलाई संक्रमण रोक्नका लागि एन्टिबायोटिक चलाइएको छ।
१२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले अपेक्षित काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बिग्रदै गएको हो । उहाँ साउनको तेस्रो साता सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । त्यस लगत्तै भदौ १ गते सोही अस्पतालमा प्लाज्मा फेरोसिस पद्धतिबाट स्वास्थ्योपचार गरी उहाँ ४ हप्तापछि नेपाल फर्कनु भएको थियो ।
त्यसपछि पनि सो उपचारको नियमित अनुगमनका लागि त्रिवि शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पताल बारम्बार पुग्ने गर्नुभएको प्रधानमन्त्रीको ३ हप्ताको बीचमा कार्तिक चार पटक डायलासिस भैसकेको छ। उहाँको पछिल्लो डायलासिस शनिबार गरिएको हो।

आफ्नो स्वास्थ्यस्थिति खस्कदै गएपछि प्रधानमन्त्री ओली आफ्नो मन्त्रिमण्डल र सचिवालय पुनर्गठन गर्न तयार हुनुभएको थियो । उहाँले मंसिर ४ गते मात्र मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको थियो ।


















