काठमाडौं,१७ मंसिर । सोमबार तेक्वान्दो, कराँते र ट्रायथलनमा मनग्य स्वर्ण, रजत र कास्य पदक जितेर उच्च मनोबल बनाएका नेपाली खेलाडीहरु आज उच्च मनोबलसाथ दक्षिण एशियाली खेलका प्रतियोगितामा भिड्दै छन् । त्यसमध्ये नेपालले महिला भलिबलमा सबैभन्दा बढी आशा गरेको छ । महिला भलिबलमा फाइनलमा नेपाल र भारतबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ। दक्षिण एशियाली खेल सुरुहुनुभन्दा केही समय पहिले नेपाली महिला भलिबल टोलीले एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो ।
आज १३ औं साग अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ। खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ। नेपाल पहिलो खेल खेल्न लागेको हो भने भुटानले सोमबार बंगलादेशलाई हराउँदै ३ अंक जोडिसकेको छ।
दशरथ रंगशालामा साँझ ५ बजे माल्दिभ्स र बंगलादेशबीच अर्को खेल हुनेछ।
पोखरा रंगशालामा हुने महिला फुटबलमा नेपालले विहान १० बजे श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ। दिउँसो अर्को खेलमा भारत र माल्दिभ्स भिड्दैछन्। पुरुष भलिबलमा दिउँसो ४ बजे भारत र पाकिस्तान स्वर्ण पदकका लागि भिड्नेछन्।
पुरुष टि ट्वेन्टी क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे हुनेछ। पोखरामा भइरहेको महिला क्रिकेटमा श्रीलंका र बंगलादेश भिड्नेछन्।
नेपालले थप पदकको आशा गरेको करातेमा आज ६ खेल हुनेछन् । खेल विहान ९ बजेदेखि नेपाल कराते एकेडेमीको कभर्डहलमा सुरु हुनेछन्। तेक्वान्दोमा आज ४ स्वर्णपदकको टुंगो लाग्नेछ।
उसुमा महिला र पुरुष चाङक्वानको दुई वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। एथलेटिक्सतर्फ विभिन्न ९ वटा प्रतिष्पर्धा हुँदैछन्।
आजै खोखो, ब्याडमिन्टन, गल्फलगायतका खेल पनि आज हुँदैछन्।
सोमबारको खेलमा नेपाल १५ स्वर्ण ३ रजत र ६ कास्य पदकसहित कूल २४ पदक जितेर पहिलो स्थानमा रहेको छ। ३ स्वर्ण ८ रजत र ३ कास्यसहित १४ पदक जितेको भारत दोस्रो र ३ स्वर्ण ७ रजत र १४ कास्यसहित २४ पदक जितेको श्रीलंका तेस्रो स्थानमा रहेका छन्।